सुनिल थापा स्टारर ‘शेरबहादुर’ निर्माण घोषणा, यस्तो छ लाइनअप

0

सुनिल थापा पुनः घरेलु फिल्ममा फर्किएका छन् । बलिउडी ‘मेरी कोम’मा प्रियंका चोपडाका गुरु बनेका यी राते काइँला अब नेपाली सिनेमामा ‘शेरबहादुर’ बन्न लागेका हुन् ।

मंगलबार आयोजित प्रेसमिटमा उनको मुख्य अभिनय रहने रोमान्टिक ड्रामाको निर्माण घोषणा गरियो । आजैदेखि फिल्मको छायांकन सुरु भएको छ । अभिनेत हरिवंश आचार्यले छायांकन शुभारम्भ गरे ।

आर राजवंशी निर्देशक रहने भएपनि फिल्ममा यसअघि जात्रा निर्देशन गरिसकेका प्रदीप भट्टराई समेत निर्देशक हुनेछन् । ‘फिल्ममा दुईजना निर्देशक हुनेछौं’ राजवंशले सोधिएको जिज्ञासामा भने ।

त्रिकोणात्मक प्रेमकथा बुनिने सिनेमाको सबै छायांकन धरानमा हुने भएको छ । डेढकरोड लगानी बताइएको सिनेमामा थापासहित कर्म, मेनुका प्रधान र रविन्द्र झाको मुख्य भूमिका हुने बताइएको छ ।

गौरी शंकर धुज र धीरज राजवंशी निर्माता हुन् । धुजु पाका क्यामेराम्यान हुन् । प्रेसमिटमा बोल्दै अभिनेता आचार्यले टीमलाई शुभकामना दिए । ‘सीमा सुवेदीजस्ता पात्रको देशको फिल्म उद्योगमा सुनिल थापाजस्ता नेपालीले काम गरेर गर्व तुल्याउनुभएको छ’ हरिवंशले भने ।

सुनिलले चाहिँ प्रधानमन्त्री शेरबहादुर देउवासँग फिल्मको सम्बन्ध नरहेको बताए । फिल्मलाई लिएर आफू उत्साहित रहेको उनले बताए ।

Share.

About Author

Leave A Reply