बक्सअफिस : ‘धनपति’ले दुई दिनै उठायो लगानी

0

‘धनपति’ ओपनिङ विश्वसनिय अवश्य हो । ‘पशुपति प्रसाद’ विरासत यसमा गाँसिएको थियो । शुक्रबार र शनिबार सिनेमा हलमा देखिएको भीड उक्त विरासतकै दृश्य हो ।

मिश्रित समिक्षा बटुलेपनि राजनीतिक सामाजिक ड्रामाले दुई दिनमा उछाल व्यापार गरेको छ । सुरुआती दुई दिनमा देशव्यापी १.२० करोड ग्रस कमाएको ठम्याइ छ । शनिबार मात्रै ६५ लाख ग्रसको हिसाब छ ।

मुलकभरका एकल पर्दा र मल्टिप्लेक्स अकुपेन्सी लगभग शतप्रतिशत देखिए । क्यूएफएक्सले शनिबार अपरान्ह केही सोजमा हाउसफूलको सूचना गेटमै टाँस्नुपरेको थियो । एकल पर्दामा समेत विदाको दिन दर्शक खचाखच रहे ।

विदेशी नेट आम्दानीको सहयोगमा फिल्मले दुई दिनमै लगानी उठाएको छ । ओभरसिज नेट ६२ लाख निर्माताले प्राप्त गरिसकेका छन् । १.२० करोड ग्रसको नेट झन्डै ४० लाख हुन आउँछ । ‘हामी लगानी उठाउन सक्षम बन्यौं’ हर्षित मुद्रामा निर्देशक एवं निर्माता दीपेन्द्र खनालले भने ।

फिल्मले बक्सअफिसमा उधुम मच्चाएपनि दर्शक भने विभाजित छन् । कतिपयले रुचाएका छन्, कतिपयले आलोचना । निर्देशक खनाल वर्ड अफ माउथको प्रभाव विकडेजमा स्पष्ट देखिने र यसले कलेक्सनमा बढोत्तरी हुने मूल्यांकन गर्छन् ।

खगेन्द्र लामिछाने, अशान्त शर्मा, हरिहर शर्मा र सुरक्षा पन्त अभिनित सिनेमाले राजनीतिको चक्रमा पिल्सिएको एक भुइँमान्छेको कथा भन्छ । पशुपति प्रसादको सफलतापछि दीपेन्द्र र खगेन्द्रको यो दोस्रो टीमअप हो ।

Share.

About Author

Leave A Reply