‘प्रेमगीत २’ प्रिमियर : प्रदीप-अश्लेषा क्रेजदेखि उत्साहजनक प्रिभ्यूसम्म

0

पोखरा/बुटवल
उल्टो गणनाको सुई अन्तिम चरणमा छ ‘प्रेमगीत २’ का लागि । यो रोमान्टिक सिनेमाले प्रिमियरमा उत्साहजनक प्रिभ्यू बटुल्यो । पोखरा र बुटवलमा खचाखचले सिनेमा हेरे ।

 

यी दुई थलोको प्रिभ्यू यसकारण पनि महत्वपूर्ण छ कि पोखरा घरेलु फिल्मका लागि दोस्रो ठूलो बजार हो र बुटवल चौंथो । दुबै थलोमा ‘प्रेमगीत’ सिक्वेलले प्रिमियर आयोजना गर्‍यो र मीठो प्रतिक्रिया बटुल्यो ।

क्यूएफएक्स पोखरा र भ्यूज बुटवल हलमा आयोजित प्रथम प्रदर्शनीमा अभिनेता प्रदीप खड्का, अभिनेत्री अश्लेषा ठकुरी, निर्देशक रामशरण पाठक, निर्माता एवं डेब्यु अभिनेता सन्तोष सेन सहभागि रहे । बाक्लो तन्नेरी उपस्थिती रहेको प्रिमियरमा प्रदीप र अश्लेषा फेसन स्टेटमेन्ट बने ।

फिल्म हेरेपछि एकजना पोखरेली दर्शक अविनाश पौडेल लेख्छन् : ‘चलचित्रमा प्रस्तुत मिलन, बिछोड, द्धन्द्ध अनि संगीतले छुट्टै मिठास बोकेको छ । समग्रमा भन्नुपर्दा प्रेमगीत २ एउटा सम्पूर्ण चलचित्र हो जसले हलभित्र पस्दाको समय पूर्ण मनोरञ्जन गराउँछ ।’

निर्देशक पाठकले दर्शकीय सन्तुष्टि र प्रतिक्रियाबाट आफूहरुलाई थप ऊर्जा मिलेको बताए । उनले दुबै प्रिमियर प्रदर्शनमा दर्शकसँगै समय बिताए । प्रिमियरमा प्रदीप क्रेज पोखियो । खासगरि, किशोरीबीच उनी लोकप्रिय प्रस्तुत भए ।

शुक्रबार मुलुकका ८० भन्दा बढी पर्दाबाट सिनेमा रिलिज हुने वितरक गोविन्द शाहीले बताए । ‘हलमात्र होइन, पैसा कमाउने सिनेमा समेत बन्नेछ प्रेमगीत २’ उनी सुनिए ।

तन्नेरीको फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर)ले प्रिमियर आयोजनाका लागि पहल गरेको थियो । समूहले प्रदर्शनीका लागि च्यारिटी गर्दै संकलित रकम अनाथ बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्यमा खर्च गरिने पोखरा एमआरआर प्रमुख सुवास शर्माले बताए ।

सन् १९४५ मा दोस्रो विश्वयुद्धको परिवेश चित्रण गर्ने सिनेमाभित्र एक्सन, प्रेम, ड्रामा र कमेडी तत्व समावेश गरिएको छ । म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु हो ।

Share.

About Author

Leave A Reply