सहरमा नयाँ हिरो : सेल्फमेड स्टार जसले डाइनेस्टी पछ्याएनन्

0

‘दर्शकमाझ जाँदा तिमी सँधै किन टिसर्ट मात्र लगाउँछौं, स्टाइलिस बन अनि आफूलाई मेन्टेन गर’ एक हितैषीले प्रदीप खड्कासँग भने ।

प्रदीपले परिचित हाँसो फ्याँके । भने, ‘मेरा दर्शक मास हुन् । उनीहरुजस्तै गेटअपमा रमाउन चाहन्छु । यदि म मेन्टेन गरेर पुगेँ भने उनीहरु नजिक आउन गाह्रो मान्छन् । म उनीहरुलाई साथीजस्तै व्यवहार गर्न चाहन्छु । टाढाबाट देखिने चीज होइन ।’ प्रदीपले भनेका यी कुरा पंक्तिकारले सुनिरहेको थियो ।

प्रदीपले भनेका यी अनुच्छेद घरेलु फिल्मका लागि उच्च सांस्कृतिक चेतना हो । कुनै अभिनेताद्धारा यी वाक्य विरलै सुन्न पाइन्छ । त्यसमा पनि ग्ल्यामर र गसिप बेचिने बजारमा । मास्टर डिग्री पास गरेका प्रदीपको यस्तो अभिव्यक्तिले दर्शक र स्टारबीच सेतु बन्ने आशा गर्न सकिन्छ ।

उनको क्रेज यतिबेला देखियो जतिबेला प्रेमगीत २ आक्रामक ओपनिङसहित देशव्यापी प्रदर्शनरत थियो । कूल दर्शकमध्ये अधिकांश उनकै क्रेजले हलमा पुगेको र ७० प्रतिशत दर्शक किशोरी रहेको हल संचालक बताउँछन् ।

प्रेमगीत प्रिक्वेल रिलिज भएदेखि अहिलेसम्म प्रदीपले आफूलाई मेन्टेन गरे । फोटोसुट, म्युजिक भिडियो र अफर गरिएका ठूला फिल्मलाई उनले ठाडै अस्वीकार गरिदिए । प्रेमगीत २ हिट भएपछि बक्सअफिस र बजारमा उनको क्रेज चुलिएको छ ।

प्रदीपलाई स्ट्रगलिङ सक्सेस मान्न सकिन्छ । उनका अघिल्ला दुई फिल्म ठूलो मान्छे र इस्केप बक्सअफिसमा असफल रहे । तर, प्रेमगीत २ ले उनको जीवनको समीकरण बदलिदियो । उनी स्वयम प्रेमगीत प्रिक्वेललाई वास्तविक डेब्यु बताउँछन् । ती ७० प्रतिशत केटी जो प्रदीपलाई ब्वाइफ्रेन्डको रुपमा मस्तिष्कमा देख्छन् । यसका लागि उनको ह्यान्सी लुक्स मात्र कारण छैन । रिभर्ज र घुलमिल हुने स्वभाव उनका लागि लाभदायक रहे ।

प्रदीप वंशवादबाट सुपरस्टार बनेनन् । डाइनेस्टी उनको कर्मबाट टाढा रह्यो । उनले आफ्नो स्टारडम आफै सिर्जना गरे । ‘उनीबाट नेपाली सिनेमा र संघर्ष के हो भन्ने कुरा अनुकरणीय छ’ प्रेमगीत निर्माता सन्तोष सेन भन्छन्, ‘वंशभन्दा पनि सेल्फमेड बन्ने प्रदीपको संघर्ष धेरैका लागि पाठ हुनसक्छ ।’

प्रेमगीत २ अहिले तीन करोडमाथिको व्यापारसहित सिनेमा घरहरुमा प्रदर्शन भैरहेको छ ।

Share.

About Author

Leave A Reply