अमिताभ बच्चनको आँखामा नेपाल : ब्लग

0

भारतीय अभिनेता अमिताभ बच्चनका लागि नेपाल सँधै सपनाको भूमि रह्यो । पिता र फिल्मांकनका लागि दुईपटक काठमाडौं आइपुगेका उनले भूकम्प लगत्तै फेसबुकमा ब्लग लेखे । उनले नेपाल कसरी सम्झिए ? उनको ब्लगको सम्पादित अंश :

सानैदेखि मेरा लागि नेपाल स्वप्न भूमि थियो । विदेशी भूमि भएपनि, भारतसँगको अनेकौं समानता । छिमेकी आवासको अर्को ढोकाजस्तो । जसले गर्दा पनि मलाई नेपालसँग भावनात्मक सम्बन्ध गाँसेको थियो ।

मैले सन् १९५४ मा पहिलोपटक नेपाल घुमेँ । हामी त्यतिञ्जेल अलाहावादमा बस्थ्यौं । त्यसपछि परिवारसँग पटना लागेँ । स्टिमर चढेर मुजफ्फरपुर पुग्यौं । बाबुजीलाई नजिकका समकालिन साहित्यकारलाई भेट्ने औधी इच्छा थियो । यसका लागि हामी पटना एयरपोर्टदेखि काठमाडौं उड्यौं । हामीले चढेको त्यो डेकोटा एयरक्राफ्टको याद ताजै छ, जुन दोस्रो विश्वयुद्धको बेला उडाइन्थ्यो । मलाई हवाइ कलामा पनि उत्तिकै रुचि थियो ।

काठमाडौं एयरपोर्टको रनवे माटोले बनेको थियो । मलाई त्यतिबेला भनिएको कुरा सम्झन्छु ः तत्कालिन राजा त्रिभुवनको बेला काठमाडौंमा नारायणहिटी दरबारदेखि भारतीय दुतावाससम्म मात्रै कालोपत्रे सडक थियो भनेर । त्यसपछि महेन्द्र राजा भए । दरबारमा भएको ट्रयाजेडीमा उनको सिंगो परिवारलाई छोराले सखाप पारे ।

नेपाली शाही परिवारले बाबुजीको साहित्यलाई निकै प्रशंसा गथ्र्यो । त्यसपछि मैले जतिपटक पनि नेपाल घुमेँ, हाम्रा लागि दर्शक एवं श्रोता झुम्मिन्थे ।

दुईवटा कारणले नेपाल भ्रमण मेरो मष्तिष्कमा बसेको छ । चीनबाट ल्याएको पिङपङ बल, जुन त्यहाँ पाइन्थ्यो । चीनबाट निर्यात गरिएका मीठा खानेकुरा । सामाजिक गफगाफका लागि यी रमाइला विषयवस्तु थिए । भाइ र मेरा लागि आमाले बुनेको बाँधगला जोधपुरी ज्याकेट हामीलाई नेपालमा हुने अवसरका लागि पहिरन भनिएको थियो । राजालाई भारतीय राजदूतले गरेको सम्मान भोज, जहाँ सबै कुटनीतिक नियोगका दूतहरु उपस्थित थिए । जहाँ दूतहरुले राजालाई ओहोदाको प्रमाणपत्र पनि बुझाउँथे । त्यो सम्मानित अवसरको पाहुना बन्न पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु ।

नेपालमा हरेक उच्च ओहोदाका व्यक्तिकहाँ साहित्यिक कचहरी समेत हुन्थे । राजनीतिज्ञदेखि सर्वसाधारण कविता सुन्न आउँथे । जेल जीवन बिताएका कतिपयले मेरो बाबुजीले लेखेका साहित्यले आफूलाई प्रेरणा दिएको समेत बताउँथे । मलाई अहिले पनि याद छ, सहरको बीचको ठूलो खुला मैदान अर्थात टुँडिखेल । त्यसबेला मैले सिकेका केही नेपाली भाषा अहिले पनि ताजै छ ।

काँक्रो खायो ? कस्तो लाग्यो ? राम्रो लागो, राम्रो लागो !!

संयोगवश या ठट्यौली पाराले मैले नेपाल घुम्दा मैले काँक्रोको अचारको स्वाद चाखेँ । मैले खान चाहन्नथेँ तर, भोजमा सलादस्वरुप अचार राखिएको थियो । बाबुजीले सलाद स्वास्थ्यको लागि राम्रो हुन्छ भनेर जिद्दी गरेपछि मात्र बल्ल चाखेको हुँ ।

पछिल्लो समय फिल्म छायांकनका लागि म नेपाल पुगेँ । खुदा गवाह र महान त्यहाँ फिल्मांकन भएका थिए । नेपाल सन् १९५४ को उक्त समयमा पूर्णतः भिन्न थियो । आधुनिकतासँगै विकासमा हेलिएको । अहिलेपनि इतिहास, परम्परा र संस्कृतिको जगेर्ना गरेको छ । नेपालीको माया, आतिथ्यता, मित्रताको सम्बन्ध र हाम्रो सिनेमासँग उनीहरुको माया अहिले पनि मलाई याद आउँछ ।

अमिताभ बच्चन

Share.

About Author

Leave A Reply