कान्छी मेरा लागि पुनर्जन्म : श्वेता खड्का

0

सोमबार दुईले जन्म लिए । भगवान श्रीकृष्ण र श्वेता खड्का । उक्त दिन श्रीकृष्ण जन्माष्टमी थियो । यही साइतमा श्वेताले नयाँ फिल्म ‘कान्छी’ निर्माण घोषणा गरिन् । यसलाई उनले आफ्नो पुनर्जन्म भएको बताइन् । पति श्रीकृष्ण श्रेष्ठ दिवंगत भएपछि पहिलोपटक उनको फिल्मी कमब्याक हुन लागेको हो ।

‘कोहिनुर’कै अधिकांश टीम लिएर श्वेता निर्माणमा फर्किएकी हुन् । भाद्र ५ गते जोमसोमदेखि छायांकन सुरु हुने सिनेमामा दयाहाङ राई मुख्य भूमिकामा छन् । जिन्दगीमा रुचाइएको चीजलाई टिपिहाल्नुपर्छ भन्ने फिल्मको थिम’ हो जसलाई याम थापाले लेखेका हुन् ।

 

 

आकाश अधिकारी निर्देशित सिनेमामा नीर शाह, अशान्त शर्मा, कामेश्वर चौरासिया, भूमिका श्रेष्ठ समेत छन् । बीएस थापाले तीस वर्षअघि निर्देशन गरेको हिट फिल्म कान्छीको सिक्वेल नभएको लेखक थापाले उक्त अवसरमा बताए ।

‘मेरा लागि यो पुनर्जन्म हो । मेरा लागि विशेष दिन पनि । कान्छी फिल्म उद्योगकै लागि कोसेली हुनेछ’ श्वेताले भनिन् । उनले भाई शैलेश खड्कालाई लिएर फिल्ममा लगानी गर्न लागेकी हुन् । अभिनेता दयाहाङले आफ्ना लागि कान्छी गर्नु भाग्यको कुरा भएको बताए ।

निर्देशक अधिकारीले ‘कान्छी’ श्वेताका लागि कमब्याक भएको बताए । ‘उद्योगकै लागि यो खुशिको कुरा हो । मेरा लागि फिल्म मात्र होइन । परिवार पनि हो । अघिल्लो फिल्मको इन्डकल्याप गर्दा हामी रोएका थियौं’ अधिकारीले सुनाए ।

हिमाल केसीको द्धन्द्ध, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत, भूपेन्द्र अधिकारीको सम्पादन हुनेछ । बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा अतिथि संगीतकारको रुपमा फिल्ममा प्रस्तुत हुँदैछन् । सिनेमा माघ २६ गते रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply