फिल्म कलाकार भित्तामा टाँसिएका पोस्टर भए : दयाहाङ राई

0

अभिनेता दयाहाङ राईले पछिल्लो छिमलका कलाकारको अभिनयमा विविधिता कम भएको भन्दै गुनासो व्यक्त गरेका छन् । उनले यसो हुनुमा निर्देशक र निर्मातालाई पनि दोष दिए ।

उनले भने, ‘चलचित्र कलाकार अहिले विविधता र सिर्जना खोज्ने भन्दा पनि भित्तामा टाँसिएका पोस्टरजस्ता भएका छन् जसको अभिनयमा जिवन्तता हुँदैन ।’ उनले यसो हुनुमा प्रश्न र अन्वेषण नगर्ने निर्देशक पनि जिम्मेवार रहेको बताए ।

‘सेटमा कलाकारले जस्तो अभिनय गरेको छ, त्यसमा नवीनता, विविधता र अन्वेषण नखोज्ने निर्देशकले गर्दा पनि कलाकारले अभिनयमा स्तर सुधार्न सकेका छैनन्’ उनले भने, ‘म समेत त्यसको शिकार भएको छु ।’

हालैको एक अन्तवार्तामा दयाले अभिनयका गुरु मान्ने अभिनेता अनुप बरालले समेत यस्तै प्रश्नको उठान गरेका थिए । निर्माता र निर्देशकले बजारको पछि लाग्दा कलाकारलाई एउटै शैली, चरित्र र पात्रमा खेल्न बाध्य पारिरहेको गुनासो समेत राईले गरे ।

‘यसो हुनु पछाडि बजारको दबाब पनि जिम्मेवार छ । जसले गर्दा निर्माता र निर्देशकले अभिनेतालाई स्टेरियोटाइप बनाइसके’ दयाहाङले भने । पछिल्लो समय गुणस्तरियभन्दा संख्यात्मक सिनेमा खेलिरहेको भनेर आफ्नै प्रशंसक र वृत्तबाट आवाज उठिरहँदा अभिनेता राईको यस्तो अभिव्यक्ति प्रकाशमा आएको हो ।

Share.

About Author

Leave A Reply