‘ए मेरो हजुर २’ हिट हुनुका ६ कारण (भिडियो)

0

‘ए मेरो हजुर २’ बक्सअफिसमा उछाल देखियो । यसको अंकगणित दुई दिनमै २ करोड क्रस भयो । किन ? हामीले फिल्म किन चल्यो भन्ने समाजशाष्त्रीय र तात्कालिन कारण खोतल्ने जमर्को गरेका छौं । यहाँ समिक्षकको सोच प्रस्तुत गरिएको छैन ।

 

स्टारडम : साम्राज्ञी, झरना, सलोन
ओपनिङका लागि स्टारडम आवश्यक तत्व हो । साम्राज्ञी शाह, सलोन बस्नेत र निर्देशक झरना थापाको स्टारडम प्रभावशाली देखियो । ड्रीम्स अभिनेत्री शाहको स्टारडमको नाडी छाम्ने मौका पनि थियो यो । सलिन बनियाँको कोरियन लुक्स टीनएज पुस्ताको रोजाइ हो । अहिलेको पुस्ता साम्राज्ञीमा गर्लफ्रेन्डको अवचेतन अनुहार महसुस गर्न चाहन्छ । झरनाको अघिल्लो पुस्ता, अनुभवको बालक पुस्ता र साम्राज्ञी सलोनको आधुनिक पुस्ताको संयोजन दर्शकीय माहौलमा देखियो ।

सांगीतिक हाइप
फिल्मभित्र चार गीत छन् । तीनवटा हिट रहे । तीमध्ये पनि शीर्ष गीत ए मेरो हजुर, किनिदेऊन साइँला दाई..हिट हुन् । सुगम पोखरेलको लोकलय भाखा धेरैका लागि टच्ची बन्यो । यसले वर्ड अफ माउथ सिर्जना मात्र गरेन सँगै फिल्मको पब्लिसिटीलाई उचाइमा लग्यो ।

हिट फिल्मको फ्रेन्चाइज
स्वर्गीय शिव रेग्मी निर्देशित ए मेरो हजुरमा श्रीकृष्ण श्रेष्ठ र झरना थापा कलाकार थिए । रेग्मी निधनको केही वर्षपछि यो हिट सिक्वेलमा झरना तन्नेरी पुस्तालाई लिएर निर्देशक बनेकी छन् । ए मेरो हजुरजस्तो हिट फिल्म र हिट गीतलाई पुनर्जीवन दिएर नोस्टाल्जिक तुल्याउन फिल्म सफल छ । धेरैले गीतसँगै पुराना दिनको याद गरे ।

कथावस्तु सरल तर मनछुने
ए मेरो हजुर २ हेर्न टाउको दुःखाउनुपर्दैन तर, कथा अघि बढेसँगैको लभस्टोरीले दर्शकलाई उद्देलित तुल्याउँछ । दर्शक सरल कथावस्तुसँगै आफूलाई महसुस गर्न थाल्छन् । न्यारेटिभमा नयाँपन नभएपनि यसले दर्शकीय सुषुप्तालाई चिमोट्छ । काठमाडौं, पोखरा हुँदै सर्वाधिक उचाइको तिलिचो तालसम्मै दर्शकले पात्रसँगै यात्रा गर्छन् ।

कमजोर बलिउडको फाइदा
अजय देवगण स्टारर बादशाहले झुर समिक्षा प्राप्त गरेपछिको फाइदा ए मेरो हजुर २ ले उठायो । दर्शकीय फ्लो नेपाली टिकटको झ्यालमा देखियो । उक्त डेटमा हलिउडको ठूलो रिलिज पनि थिएन । कमजोर बलिउड हेजोमोनी प्रभाव यता देखियो फलस्वरुप नेपाली सिनेमालाई फाइदा पुग्यो । आगामी साता ठूलो रिलिज नहुने भएपछि ए मेरो हजुर २ प्रभावशाली हुने अनुमान छ ।

बाढीपछि तंग्रिएको पूर्व र बलियो मोफसल
दुई साताअघिसम्म बाढीका कारण पूर्वी नेपालका २३ हल बन्द थिए । ए मेरो हजुर २ रिलिजसँगै ती हल पुनः संचालनमा आएका छन् । संचालनमा आएसँगै हलको अकुपेन्सी शतप्रतिशत भेटियो । शनिबारको ग्रसमा मोफसल कलेक्सन काठमाडौंभन्दा केही मात्र तल छ । ए मेरो हजुरको अघिल्लो भागलाई मोफसलमा रुचाइएको थियो । साम्राज्ञीलाई काठमाडौंभन्दा मोफसल हेर्न चाहन्छ । मोफसलको फिल्म बजार बढ्दैछ । प्रेमगीत २ मा देखिएको प्यार्टन ए मेरो हजुर २ मा प्रष्ट छ ।

Share.

About Author

Leave A Reply