आजदेखि बक्सअफिस लागु, संचारमन्त्रीले गरे शुभारम्भ

0

बहुचर्चित बक्सअफिस आजदेखि काठमाडौं टेरिटोरीका मल्टिप्लेक्स सिनेमा घरहरुमा लागु भएको छ । संचारमन्त्री मोहन बस्नेतले थापाथलीस्थित सफ्टवेयर कम्पनी ब्रेन डिजिटको कार्यालयमा आयोजित समारोहमा सेन्ट्रल सिनेमा म्यानेजमेन्ट प्रणालीको शुभारम्भ गरे ।

‘नेपाली सिनेमा अब मर्यादित उद्योग, व्यवसायको रुपमा अघि बढ्छ’ मन्त्री बस्नेतले भने, ‘फिल्ममा आश्रित हुने परिवारको भविष्य नराम्रो हुनेछैन । लगानीकर्ता र कलाकार प्रोत्साहित हुनेछन् । हल मालिकको इज्जत कायम हुनेछ ।’

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलले बक्सअफिस प्रक्रिया सुरु भएको बताइन् । समारोहमा सफ्टवेयर निर्माताले डाटा कलेक्सन, केन्द्रिय सर्भर र प्रणालीबारे भिडियो प्रस्तुत गरेका थिए । चैत मध्यसम्म सबै हल केन्द्रिय सर्भरसँग जोडिएपछि बैशाख १ गतेदेखि डाटा संकलन सुरु हुने जनाइएको छ ।

केन्द्रिय सर्भरमार्फत प्रदर्शक, निर्माता, बोर्ड प्रतिनिधि, कर कार्यालय र वितरकले कारोबारको तथ्यांक प्राप्त गर्नसक्छन् । सफ्वेयर निर्माता नितेश गोर्खालीका अनुसार इ–टिकेटिङ र बक्सअफिस म्यानेजमेन्ट मुख्य फिचरको रुपमा राखिएको छ ।

चलचित्र संघ अध्यक्ष प्रदीप उदयले व्यसायिक पारदर्शिताको जग हालिएको बताए । निर्माता संघ अध्यक्ष आकाश अधिकारीले विश्वकै प्रभावकारी बक्सअफिस प्रणालीको रुपमा अथ्र्याए ।

हलको कम्प्युटर केन्द्रिय सर्भरसँग जडान भएपछि सरोकार निकायले बुकिङ, सोज, अकुपेन्सी, कलेक्सन र हिसाब प्राप्त गर्न सक्नेछन् । आगामी माघ १ गतेदेखि देशभरका सबै हललाई केन्द्रिय सर्भरसँग जोड्ने लक्ष्य राखिएको छ । चैत १५ भित्र काठमाण्डू पूर्णरुपमा केन्द्रिय सर्भरसँग जोडिने भएको छ ।

उक्त अवसरमा मन्त्री बस्नेतले फागुन ३ गतेदेखि दोलखाको डाङडुङे डाँडामा मुलुककै पहिलो फिल्म सिटी शुभारम्भ हुने बताए ।

Share.

About Author

Leave A Reply