रिपिटेसन खतराबाट शत्रुगते मुक्त : प्रदीप भट्टराई (संवाद)

0

‘जात्रा’ फेम्ड निर्देशक प्रदीप भट्टराईले लामो समय महसंचारमा आबद्ध रहेर काम गरेका छन् । जात्राको कला र बक्सअफिस सफलतापछि उनी निर्देशित ‘शत्रुगते’ ९ चैतमा रिलिज हुँदैछ । फिल्मलाई बक्सअफिस मात्र नभएर कलाको सिद्धान्तको कोणबाट समेत हेर्ने भट्टराईसँग मूभिमान्डु सम्पादक विष्णु शर्माले संवाद गरेका छन् । यो संवादको भिडियो भर्सन समेत उपलब्ध छ :

दोस्रो निर्देशकीय फिल्मलाई लिएर कस्ता अपेक्षा छन् तपाईंसँग ?
मेरा लागि यो चुनौति हो । किनभने म ‘जात्रा’ बनाएको निर्देशक हुँ । ‘जात्रा’ हेरेर मनपराउने थुप्रै फ्यान पनि हुनुहुन्छ । उहाँहरुलाई मनपर्ने खालको पनि बनाउनुपर्‍यो, ‘छक्का पञ्जा’ टीम पनि छ उहाँहरुको फ्यान फलोअर्सलाई पनि मनपर्ने बनाउनुपर्‍यो । पल शाह र आँचल शर्माका फ्यान फलोअर्स छन् । उहाँहरुको फ्यानलाई पनि खुशि बनाउनुपर्‍यो । मदन दाई, हरि दाईको इज्जत जोगाउनुपर्‍यो । फिल्म स्वयममा राम्रो बनाउनुपर्‍यो । त्यसकारण धेरै च्यालेन्ज छ । सबै कुरा सोचेर स्क्रिप्ट मेनेटन गरेका हौं । धेरै हदसम्म अपेक्षा पुरा हुन्छ ।

तीन पुस्ता, मनोविज्ञान र सोचलाई मिलाउने सन्तुलन कसरी गर्नुभयो ? निर्देशकको रुपमा कति कठिन काम थियो ?
सबैलाई मिलाउने तरिकाको प्रस्तुतिकरण गरेको छु मैले । दीपक दाई (दीपकराज गिरी)बाट जुन ह्युमर र पन्चलाइन खोजिन्छ, त्यो पनि मेन्टेन गरेको छु । मदन र हरि दाईबाट अलि स्टयान्टडर्ड टाइपको ह्युमर खोज्छन्, त्यो पनि मेन्टेन छ । मुख्य कुरा, सबैलाई मिलाउने गरि, एउटा स्ट्यान्डर्ड टाइपको स्क्रिप्ट मेन्टेन गरेको छु ।

‘शत्रुगते’को रचनागर्भ कसरी भयो ?
जात्राभन्दा पहिल्यै महसंचारले मसँग फिल्म गर्ने भनेको थियो । पहिला दुई सब्जेक्ट थिए हामीसँग । सोच्दै अघि बढ्दा लाग्यो, अहिलेको अडियन्स च्वाइस पनि यस्तो छैन, मान्छेले टेन्सन खालको डार्क ह्युमर टाइपको हेर्न खोजेका छन् भन्ने लागेर दुईटा स्क्रिप्टलाई साइड लगायौं । तेस्रो स्क्रिप्टमा बसियो । दुईटा स्क्रिप्टबाट राम्रो कुरा निकालेर केन्द्रिय द्धन्द्धबारे छलफल चलायौं । अनि यत्तिको फिल्म बनायो भने अडियन्सको अपेक्षा मिट गर्छ भनेर सहमत भयौं ।

फिल्मलाई नेपालको मध्यम वर्गले रुचाउन सक्छ ?
ट्रेलर हेर्दा सोसल ड्रामा देखिन्छ । ट्रेलरमा समेत सबैलाई मेन्टेन गर्नुपर्ने खालको थियो । दीपकराज गिरीको पंचलाइन वाला कमेडी, पल आँचलको रोमान्स, महजोडीको स्ट्यान्डर्ड कमेडी र स्वयम मेरो कथावस्तु अभिमुख फिल्म बनाउँदा त्यस्तो देखिएको हो । यो सबै मास दर्शकका लागि हो । निश्चित दर्शक लक्षित गरिएको छैन । काठमाडौंको कोलोनीको कथा हामीले गरेका छौं । दुईटा परिवारको सम्बन्ध जोडिने कथावस्तु हामीले प्रस्तुत गरेका छौं । मेरो विचारमा सबैको लागि हुन्छ यो ।

नेपाली दर्शकले आफूलाई शत्रुगतेसँग कसरी अपनत्व महसुस गर्ला ?
दुईघरको सम्बन्धमा इन्टरनेटलाई कसरी मिसयुज गरिएको छ भन्ने चित्रण फिल्मले गर्छ । यसको केन्द्रिय द्धन्द्ध दुईटा घरबीचको सम्बन्ध नै हो । बन्न लागेको सम्बन्ध र त्यसलाई भाँड्ने तत्वहरु । हामीले कसरी हुन्छ र कारण खोलेका छैनौं ।

जोखिम तत्व र ताजा तत्व के छ फिल्मभित्र ?
मैले धेरै ध्यान दिने भनेकै, नयाँ कुरा के पाउँछ त दर्शकले भन्ने नै हो । संसारमा धेरैपटक प्रेमबारे भनिएको छ । आखिर सत्यकै जित हुन्छ । मायाभन्दा ठूलो पैसा होइन । यी पक्ष युनिभर्सल थिम भए । यी कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने ठूलो कुरा हो । मबाट दर्शकले नयाँ कुरा अपेक्षा गर्नुहुन्छ । जात्रामा पनि स्टोरी नयाँ होइन, तर प्रस्तुतिकरण नयाँ हो । यसमा पनि पात्र नयाँ छन् । घटना घट्ने स्टाइल नयाँ छन् । सबै फ्रेस छन् ।

आलोचक भन्छन् : पछिल्लो समय नेपाली फिल्ममा टेलिभिजन प्रभावशाली छ । यो प्रवृत्तिबाट शत्रुगते कति मुक्त छ ?
सिरियलको पृष्ठभूमिबाट आउनु भएकाले बनाउनुभएको फिल्मले बक्सअफिसमा राम्रो छाप छोड्न सफल भएको छ । फिल्ममा एक्सपेरिमेन्ट गर्दा धेरै पैसा डुब्छ । टेलिभिजनमा बिना जोखिम दर्शकलाई कस्तो कुराले आनन्द दिन्छ भन्ने दैनन्दिन सेयरिङ गर्न पाइराखेका हुन्छौं । यस्तो हुँदा दर्शक होल्ड हुन्छ, रमाउँछ, रिलेट हुन्छ भन्ने कुरा हुन्छ । यही कुरा फिल्ममा अप्लाइ गरेको हो । त्यो कुरा सफल भएको छ ।

तपाईंले महसंचारमा लामो समय काम गर्नुभयो । उसो भए टेलिभिजन र फिल्मबीचको भिन्नता कहाँनेर देखियो ?
टेलिभिजनको क्यानभास छुट्टै किसिमको भयो । पटकथा भिन्न हुन्छ । मैले भन्न खोजेको कुरा : हँसाउने, रुवाउने, इन्गेज गर्ने कुरामा दर्शकको नाडी छाम्न सकिन्छ । अरु सबै बाँकी फिल्मकै फम्र्याटमा हो ।

नेपाली दर्शकको टेस्ट के रहेछ ?
अहिलेको सन्दर्भमा यो चीज कति वर्षसम्म बिक्छ थाहा छैन । तर, अहिलेको सन्दर्भमा नेपाली अडियन्स रमाइलो गर्न र हेर्न रुचाइराख्नुभएको छ । रमाइलो चीज पनि क्लिसे टाइपले होइन कि, नयाँ किसिमको तरिकाले, नयाँ प्रस्तुतिले रमाइलो हेरुम भन्ने चाहन छ ।

क्रिटिक्स भन्छन् : नेपाली फिल्मलाई अहिले दुई कुराबाट खतरा –पहिलो निर्देशक स्वयम र दोस्रो पुनरावृत्ति । यस भनाइमा कति सहमत हुनुहुन्छ ?
एकदमै धेरै सहमत छु । अझ बढी खतरा, हामी टेलिभिजनबाट आएका मानिसलाई रिपिटेसनको खतरा बढी छ । फिल्ममा एकपटक भनिसकेको कुरा दोहोराउँदा जोखिम हुन्छ । जुन कुरामा म र हाम्रो टीम सजग छ । यस्तो हुनसक्छ, यसबाट बच्नुपर्छ भनेर हामी सकेजति बच्न खोजेका छौं ।

नाम चलेका कलाकारसँग काम गर्नुपर्दा कत्तिको सिर्जनात्मक सम्झौता गर्न बाध्य हुनुपरेको छ तपाईंलाई ?
हुन्थ्यो होला । मदनदाई र हरिदाइ सोहीअनुसार हुनुहुन्छ । पात्र बाँडफाँटको कुरा आउँदा यति प्रतिशत र उति प्रतिशत हुनुपर्छ भन्ने हुन्थ्यो होला । हामीले स्क्रिप्ट लेख्दा एबीसीडी केही पनि सोचेनौं । को भीइआइपी, को स्ट्यान्डर्ड भनेर सोचेनौं । फिल्म कसरी बनाउने, त्यत्तिमात्र कुरा सोचेर बनायौं । मान्छेहरुलाई एक दुई कुरा सरप्राइज हुनसक्छ रोलको हिसाबले । स्क्रिप्ट भन्दा हामी बाहिर गएका छैनौं ।

व्यक्तिगतरुपमा तपाईंलाई कस्ता फिल्म प्रिय लाग्छन् ? कुन जानरमा काम गर्न रुचि छ ?
हाम्रा एकथरी निर्माता क्लासको फिल्म बनाउने भनेर लागिराख्नुभएको छ । त्यो एकदमै राम्रो पनि हो । हुनुपनि पर्छ । नेपाली फिल्म विदेशी बजारमा जानुपर्छ र विदेशीले पनि प्रशंसा गर्नुपर्छ भन्ने एकथरी मेकर हुनुहुन्छ । अर्कोथरी मेकर नेपालमै फिल्म चलाउनुपर्छ र बक्सअफिस क्याल्कुलेसन गर्नुपर्छ भन्नुहुन्छ । मलाई चाहिँ बीचको फिल्म बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ । पहिलेदेखि नै नेपाली फिल्म हेर्दै आएका दर्शकलाई पनि झ्वाट्टै स्वाद चेन्ज नगरिकन, अडिएन्सलाई नै बिस्तारै क्लास टाइपको फिल्म बनाउने फिल्म बनाउनुपर्छ अहिलेलाई । मलाई पनि क्लासकै फिल्म बनाउनुपर्छ ।

यसो भनिरहँदा हामी दशवर्ष पछाडिको ब्याक गियरमा गएकै हो ?
पछाडि त जाने कुरै छैन । पहिले हामी ढिके नुन खान्थ्यौं, अहिले आयो नुन खान्छौं भने स्वाद न नुनकै आउनुपर्छ । आयोडिन खेर नजाने, प्याकेट मिलाएको खालको हुनुपर्छ फिल्म ।

शत्रुगते भन्ने वित्तिकै दर्शकले छक्का पञ्जाको अर्को संस्करणको रुपमा लिएको महसुस गर्नुहुन्छ । यस कुरामा तपाईं के भन्नुहुन्छ ?
मलाई सबैभन्दा ठूलो डर नै यही थियो । छक्का पञ्जा ३ हुनसक्छ यो फिल्म भन्ने । दीपक दाई र कमेडियन धेरै हुनुहन्छ भनेर । ट्रेलरबाटै हामीले होइन भन्ने बनाइसक्यौं । छक्का पञ्जाभन्दा अलग छ, शत्रुगते नै हो भन्ने बनाएका छौं ।

निर्माता र सहयात्रीको रुपमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यो विन्दुसम्म आइपुग्दा कसरी परिभाषित गर्नुहुन्छ ?
मदन दाई र हरि दाई समयअनुसार चल्न सक्ने मान्छे हुनुहुन्छ । उहाँहरुले वासुदेव खेल्दा, अहिले पनि त्यही टाइपको चर्चा हुनुहुन्छ । वासुदेव खेल्दा पनि त्यत्तिकै फिट हुनुन्थ्यो र शत्रुगते खेल्दा पनि त्यत्तिकै फिट हुनुहुन्छ । समयअनुसार चल्न सक्ने मान्छे हो उहाँहरु ।

विस्तृत अन्तवार्ता भिडियोमा :

Share.

About Author

Leave A Reply