राष्ट्र बैंकले भन्यो : नक्कली नोट छाप्न फिल्मलाई स्वीकृति र छुट छैन, वाग्लेविरुद्ध अनुसन्धान सुरु

0

राष्ट्र बैंकले फिल्म छायांकनकै लागि नक्कली नोट छाप्ने स्वीकृति कसैलाई नभएको बताएको छ । नक्कली नोट बरामद प्रकरणमा फिल्म निर्माता माधव वाग्ले पक्राउ परेपछि टिप्प्णी गर्दै राष्ट्र बैंकको नोट विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले यस्तो बताए ।

नक्कली नोट छाप्नु गैरकानुनी भएको बताउँदै उनले फिल्मको लागि पनि स्वीकृति र छुट नभएको बताए । नोटमा लेखिएको नक्कली चलचित्र प्रयोजनको लागितर्फ इंगित गर्दै उनले यसलाई सानो अक्षरमा लेखेर झुक्याउने नियत भएको बताए ।

अदालतको निर्णय पर्खने भन्दै वाग्लेले निर्माण गरेको फिल्म चंगाचेटले विहिबार बिहान आयोजना गरेको प्रेसमिट स्थगित गरेको थियो । निर्देशक दीपेन्द्र खनालले छायांकन फुटेज देखाउने भन्दै प्रेसमिट आयोजना गरेका थिए तर, पछि रोकियो ।

तस्विर : पहिलोपोस्ट

वाग्लेको रिहाइमा विज्ञप्ती जारी गर्ने निर्माता संघका महासचिव रोज राणाले पनि नोट छाप्न स्वीकृति लिएको नदेखिएको स्वीकारे । ‘भुलबश गल्ती हुन गएको छ’ उनले भने, ‘उहाँहरुलाई केटाहरुले फसाए ।’

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पनि बोर्डले हतियार तथा नोट प्रयोग गर्ने विषयमा स्वीकृति नदिने बताइन् । चलचित्र (निर्माण, प्रदर्शन र वितरण) नियमावली, २०५७ को दफा ३ अनुसार फिल्म निर्माण गर्न सूचना तथा संचार प्रविधि मन्त्रालयमा दरखास्त दिइ इजाजत पत्र लिनुपर्छ ।

वाग्लेसहित ६ जनालाई अदालतले ५ दिने म्याद थप गरेपछि अहिले महानगरीय प्रहरी प्रभाग टेकुमा राखिएको छ । उनलाई मुलुकी ऐनको महल ६ मा रहेको खोटा चलन अनुसारको कसुरमा अनुसन्धान गर्न अदालतले म्याद थपेको हो । अदालतबाट दोषी प्रमाणित भए ऐनअनुसार बिगो बमोजिमको जरिवानासहित बढीमा १० वर्ष सजाय हुनसक्छ ।

Share.

About Author

Leave A Reply