विवाद बढेपछि ‘रोजी’ सुटिङ स्थगित : महर्जनको परिवारले स्क्रिप्ट पढेर निर्णय लिने

0

आठवर्षअघि अपहरणपछि रहस्यमय हत्या गरिएकी युवती रोजी महर्जनको परिवारले अवरोध गरेपछि फिल्म ‘रोजी’को छायांकन विहिबार अकस्मात स्थगित भएको छ ।

चलचित्र विकास बोर्डको मध्यस्थतामा परिवार र फिल्म निर्माण युनिटबीच लामो छलफल भएको थियो । बोर्ड अध्यक्ष निकिता पौडेलको मध्यस्थतामा भएको छलफलमा महर्जनको परिवारले स्क्रिप्ट हेरेरे निधो लिने भन्दै बुधबारसम्मको म्याद मागेपछि सुटिङ रोकिएको हो ।

अब बुधबार पुनः बस्ने छलफलमा स्क्रिप्ट सुनाइने भएको छ । मृतक महर्जनको परिवारले फिल्मको टाइटल समेत परिवर्तन गर्न माग गरेका छन् । छलफलपछि मूभिमान्डुसँगको कुराकानीमा रोजीकी आमा भावविह्वल प्रस्तुत भएकी थिइन् ।

निर्देशक निरक पौडेलले बुधबार स्क्रिप्ट सुनाइने बताए । ‘उहाँहरुले भनेजस्तो रोजीको जीवनसँग फिल्म मिलेको छैन, हामी कथा सुनाउन तयार छौं’ पौडेलले भने । मृतक महर्जनको परिवारले भने छोरीको जीवनमा फिल्म बनाउँदा पर्न सक्ने प्रभावमाथि सोच्न आग्रह गरेका छन् ।

छलफलमा फिल्मको कास्ट एन्ड क्रिउ सबै सहभागि थिए । विहिबार पनि सुटिङ जारी थियो । अभिनेता प्रदीप खड्काले महर्जनको परिवारसँग कथावस्तु नमिल्ने बताए । गोपिकृष्ण मूभिजको ब्यानरमा निर्माण भएको फिल्ममा खड्कासहित परमिता राणा र मिरुना मगरको समेत मुख्य भूमिका छ ।

निर्माण नियन्त्रक बुद्धिलाल मगरले सात दिन सुटिङ रोकिँदा निर्माण लागत बढ्न सक्नेतर्फ पनि सोच्नुपर्ने बताए ।

Share.

About Author

Leave A Reply