क्रसरोडमा नेपाली फेसन

0

विष्णु शर्मा/ फेसन गुरु जोन एन्डर्सनको प्रसिद्ध भनाइ छ –‘फेसनको बाली खान दशवर्षअघि बीउ रोप ।’ फेसन तीर्थस्थल पेरिसको लामो अध्ययनपछि यी बूढा विज्ञले हालै विश्व फेसनको भविष्यबारे यस्तो टिप्पणी गरेका थिए । अध्ययनको निष्कर्ष थियो –‘फेसन उद्योग आर्थिक रुपमा दिगो रहने हो भने सामाजिक र वातावरणीय पक्ष पनि दिगै हुनुपर्छ । यो सिद्धान्तले वर्ष २०२५ सम्म विश्व फेसनको आकार निश्चित गर्नेछ ।’ विश्व फेसनका अगुवा एन्डर्सनको यस्तो चेतावनीपछि न्यूयोर्क, लन्डन, पेरिस र मिलान अत्तालिएका छन् । ट्रिलियन डलरका यी उद्योगले आ–आफ्ना सरकारमाथि कार्वन उत्सर्जन कटौती र सामाजिक असन्तुलन रोक्न दवाव थालेका छन् । फेसनका एसियाली पावर हाउस बेइजिङ, टोकियो र सियोलमा समेत यस्तो आवाज उठेको छ । फेसनको बीउ रोपाई भर्खर थालिएको नेपालजस्ता अविकसित मुलुक ठूला देशको दबाबमा लतारिनुपर्नेछ ।

विश्व पेलाइको प्रभाव नेपाललाई तीव्र पर्नेछ किनभने हाम्रो देश सिर्जनात्मक फेसन संस्कृतिमा विश्वास गर्ने मुलुक होइन । धमाधम खुलिरहेका सपिङ मल, सुपर मार्केट, बुटिक र ¥याम्पमा खुम्चिएको नेपाली फेसनले बैंकक, गोञ्जाओ र सियोलले अँगालेको ‘फास्ट फेसन’ मान्यतामा विश्वास गर्छ । काठमाडौं र पोखरेली सडकमा छताछुल्ल ‘फास्ट फेसन’को यस्तो टर्मोलोजीलाई दोस्रो विश्वयुद्धपछि जापानले युरोपबाट एसियामा भित्राएको थियो । फेसनको यो पछिल्लो अवधारणामा सिर्जना र बौद्धिक सम्पत्तिको कुनै स्थान रहँदैन, उपभोक्तावादको रुचि र मागमा निर्भर हुने ‘फास्ट फेसन’ नेपाली फेसनको वर्तमान हो । नेपाली बुटिकमा बुनिने डिजाइन, आउटलेटमा बेच्न राखिएका लुगा र फेसन कलेजमा पढाइने भारतीय पाठ्यक्रम यसका उदाहरण हुन् । फाइवर, टेक्सटाइल, लेदर र फुरजस्ता सबै कच्चापदार्थ आयात गर्ने नेपाली फेसनले हाम्रै वनमा पाइने लोक्ता, रेसादार बनस्पती र घरेलु छालामा विश्वास गरेन, सँधै अरुबाट किन्यो मात्र ।

नेपाली समाजको पछिल्लो पुस्ता फेसन पढ्छ, फेसनमा सुत्छ, फेसन खान्छ र क्रिएटिभ डिजाइन गर्छ । फेसनमा नेपाली पहिचानको खोजी गर्दैछ तन्नेरी पुस्ता । पेरिसमा फेसन पढेका एक नेपाली तन्नेरी आस्तिक शेरचनको कुरा सुनौं –‘जब म लुगाको डिजाइन गरिरहेको हुन्छु, त्यतिबेला म आफ्नै पहिचान सोचिरहेको हुन्छु । केवल ट्रेन्ड झल्काउने डिजाइनले भन्दा बढ्ता मेरो डिजाइनले पहिचान, संस्कृति र मानवीयता दर्शाउँछ ।’ यी ठिटाले भनेजस्तै नेपाली फेसनलाई यतिबेला क्रिएटिभिटीले होइन, ट्रेन्डले निर्देशित गरिरहेको छ । क्याजुअल वेयर, फास्ट फेसन र लक्जरी फेसनको ट्रेन्डमाझ क्रिएटिभिटी ओझेलमा परेको स्थिती हो अहिले । ठ्याम्मै, चीनको फेसन नियती अहिले नेपाल खेप्दैछ । सिर्जना बिना ट्रेन्डले मात्र फेसन उद्योग बाँच्न सम्भव छैन । फ्रान्सले दोस्रो विश्वयुद्धपछि ‘क्रिएटिभ फेसन’मा गति लिएजस्तै, नेपालले संस्कृति, जनसंख्या, जलवायु, भूगोल र स्रोत साधनको उपलब्धतालाई ध्यानमा राखेर मौलिक फेसन डिजाइन गर्नुपर्छ । यसमा सघाउने काम फेसन कलेजको हो ।

विडम्वना ! नेपाली फेसन कलेजमा पढाइने पाठ्यक्रम भारतीय कोर्स र डिजाइनमै आधारित छन् । फिल्मजस्तै नेपाली फेसनको इतिहास पनि भारतीय गार्मेन्ट, बुटिक र डिजाइनको आयातबाट सुरु भएको हो । यहाँ पढाइने फेसन कोर्सलाई हाम्रो भूगोल, हावापानी र समाजले चिन्दैन । यसरी नेपालीबीचमै फेसन सांस्कृतिक उत्पादन र बौद्धिक सम्पत्तिको अर्थमा विकसित छैन । सरकार–बजार–डिजाइनर अलग छन् । राज्यले लाखौं राजस्व उठ्ने क्षेत्रलाई सदुपयोग गरेको छैन । फेसन खास वर्गको विलासी चिजमा खुम्चिएको छ । फेसन ¥याम्प मोडलिङ, बुटिक र गैरसरकारी संस्थाले आयोजना गर्ने सुन्दरी प्रतियोगितामा सीमित छ । यो सबै ‘क्रिएटिभ फेसन’कै अभाव हो । रचनात्मक उत्पादनले जहिल्यै ‘मास –मार्केट’ पछ्याउँछ भन्ने अर्थशाष्त्र लन्डन, पेरिस, मिलान र न्यूयोर्कमा पनि लागु भैरहेको देखिन्छ ।

नेपाली फेसनको भविष्य उज्यालो छ । फेसन पढेका हजार विद्यार्थी वर्षेनी बजार पस्छन् । सिर्जना जतन गर्न फेसन सम्बद्ध व्यावसायमा संलग्न छन् । एपारेल, बुटिक, एस्सेसरिजका फेसन हाउसको संख्या बढ्दो छ । टेलिभिजन, फिल्म, म्युजिक भिडियोमा फेसन उत्पादन प्रवद्र्धन भैरहेको छ । फिल्मी अवार्डमा फेसन डिजाइनिङ टाइटल राखिएको छ । डियास्पोरामा नेपाली उत्पादनको माग हुन थालेपछि डिजाइनर व्यस्त छन् । अब नेपाली फेसनको बजार घरेलु भूगोलमा मात्र खुम्चिएन । थलो छाडेर बिदेश हानिएको पुस्ताको सन्ततिल त्यहीं नेपाली डिजाइन खोज्न थाल्यो । हप्तैपिच्छे ¥याम्प मोडलिङ गरिन थाले । फेसनमा करियर देख्ने युवापुस्ता मोडलिङमा भविष्य बनाउन थाल्यो । प्रविधिमा मध्यम वर्गको पहुँचले फेसन अब विलासी आवश्यकता रहेन । हातमुख जोर्न अन्य आवश्यकताको कटौती गर्ने मिडल क्लासले फेसनलाई अनिवार्य आवश्यकता देख्न थाल्यो । एसियाली बिकास बैंकको पछिल्लो एक तथ्यांकअनुसार नेपालले छिमेकी भारतले भन्दा तीव्र गतिमा गरिबी घटाइरहेको छ । गरिबी हट्नु विलासी वस्तुको माग बढ्नु नै हो ।

नेपाली गार्मेन्टको माग अमेरिका र चीनमा पछिल्लो वर्ष बढ्यो । अमेरिकाको सान डियागो नेपाली ह्यान्डिक्राफ्ट र गार्मेन्ट आयात गर्ने मुख्य थलो हो । नेपाली उत्पादनलाई शुन्य भन्सारको सुविधा दिएर अमेरिकाले नेपाली फेसनमा टेवा पु¥याएको छ । स्वदेशी फेसन हाउसका अनुसार बेलायत र हङकङस्थित लाहुरे समुदायले नेपाली फेसन डिजाइनमा रुचि राख्न थालेका छन् । नेपालमै जुम्ला र मुस्ताङको कुनै एउटा युवकले गाउँमा फेन्सी पसल खोल्न चाहन्छ । पुर्खादेखि गर्दै आएको कृषि पेशा छाडेर ऊ सौन्दर्य र फेसनको गैरकृषि व्यापारमा करियर बनाउन चाहन्छ । काठमाडौंमा खसेको फेसन एकदिनमै कर्नाली र लोमान्थाङ पुग्छ । विश्व पुँजीवाद र पुँजीवादको सन्तति उपभोक्तावादले फेसनको दूरी मेटाएका छन् । दूरदराजका गाउँमा पुगेको टेलिभिजनमा झल्याक–झुलुक गर्ने फेसन च्यानलले भौगोलिक सीमा तोडेका छन् । मिडिया र मिडल क्लासको यो इको–सिस्टमले गाउँका नेपालीमा समेत फेसन मनोविज्ञानको निर्माण गरेको छ ।

दोस्रो जनआन्दोलनपछि नागरिकमा संघियता र जातिय पहिचानको जागरुकता जाग्यो । थिचोमिचोमा पारिएका जातिले भाषा, पहिरन र संस्कृतिको खोजी गर्न थाले । यसको प्रभाव फेसन डिजाइनिङमा पर्न थाल्यो । जातिय सौन्दर्य प्रतियोगिता हुन थाले र डिजाइनरले खास–खास जातका वेशभुषा डिजाइन गरे । लिम्बु, किराँत, मगर, गुरुङजस्ता समुदायमा जातिय फेसन डिजाइनको होड चल्यो । रेमिटेन्सको आप्रवाहले अन्य जातिले क्याजुअल वेयर र फास्ट फेसन अँगाल्न थाले । सुविधाजनक मलमा मिडल क्लास लक्षित आउटलेट खुल्न थाले र तिनले निश्चित जातिको डिजाइनलाई महत्व दिए । अनलाइनको प्रभुत्व सुरु भएपछि त फेसन ट्रेन्ड र डिजाइनिङले फड्को मा¥यो । हिजोआज अनलाइन फेसन डिजाइनको माग र प्रवद्र्धन हुन थालेको छ ।

समाजभन्दा फेसन निकै अगाडि देखिन्छ यहाँ । नेपाली फेसनको समाजशाष्त्रीय विश्लेषण गर्दा माओवादी सशष्त्र युद्ध अघि र शान्ति सुरु भएपछिको अवस्थाको आधारमा गर्नुपर्ने हुन्छ । तत्कालिन विद्रोही माओवादीले माक्र्सवादी सांस्कृतिक सौन्दर्यको नाममा फेसनलाई पुँजीवादी र बुर्जुवा भन्दै विरोध गर्थे । गाउँका केटीलाई गाजल पोत्न, जिन्स पाइन्ट लगाउन र कपाल हाइलाइट गर्न समेत रोक लगाइन्थ्यो । सहर पसेपछि उनीहरूले केही समय सुन्दरी प्रतियोगिताको विरोधलाई कायमै राखे । अहिले उनै कमरेडहरू अरुलाई उछिनेर फेसन डिजाइनरका अगुवा कहलिएका छन् । नेतृ पम्पा भुषालले ब्युटीपार्लरमा रिबन काटिन् भने हिसिला यमीले कपाल हाइलाइट गरिन् । सशष्त्र युद्ध टुंगिएपछि फेसनको प्रभाव गाउँसम्म फैलियो । नेपाली फेसनले खुल्ला वातावरणमा हुर्कने मौका पायो । बेलायती फेसन डिजाइनर भिक्टोरिया बेकह्यामको सुझाव नेपाली फेसनका लागि अनुकरणीय छ । त्यो हो –‘अबको फेसन डिजाइनिङ समाजमा बसोबास गर्ने मान्छेको उमेर, सामाजिक वर्ग, पुस्ता, पेशा र भूगोललाई हेरेर गरिनुपर्छ ।’

फेसनलाई आर्थिक उत्पादनसँग गाँस्नु अहिलेको खाँचो हो । नेपाली फेसनलाई केही यस्ता पाँचवटा गम्भिर प्रश्न छन्, जसको उत्तर नदिइ सुखै छैन । पहिलो –जलवायु परिवर्तनको असरले कटन र अन्य कच्चा पदार्थको अभाव सिर्जियो भने फेसनको प्रतिक्रिया कस्तो हुन्छ ? निर्यात संजाल र प्रविधिको विकास ठप्प भएको खण्डमा त्यसबाट प्रभावित फेसनले कसरी काम गर्न सक्छ ? कसरी प्रविधिले फेसनको उत्पादन र वितरणलाई प्रभावित तुल्याउन सक्छ ? भविष्यमा पानी संकट र ऊर्जाको उच्च मूल्यवृद्धि भयो भने मान्छेले लुगाको स्याहार कसरी गर्लान् ? माग एवं मूल्य दुवै अकासिएको बेलामा कसरी कपडाको पुनर्पयोग र पुनःउत्पादन गर्न सकिएला ? यी यस्ता प्रश्न हुन् जसको उत्तरविना नेपाली फेसनमात्रै होइन विश्व फेसन समेत संकटमा पर्नेछ । एन्डर्सनले भनेजस्तै वर्ष २०२५ सम्म विश्व फेसनले खास आकार लिन यी प्रश्नको निप्ट्यारा लगाउनैपर्छ । सरकारको फेसन पोलिसी र लगानी विना यो सम्भव छैन ।

सरकारले नेपाली फेसनलाई गर्ने काम भनेको आर्थिक सुनिश्चितताको वातावरण निर्माण गर्नु हो । विदेशबाट आयात गरिने फेसन कच्चापदार्थलाई करमा छुट दिइनुपर्छ । वैदेशिक लगानीको ढोका खोलिनुपर्छ । आयात र निर्यात गर्न उत्पादन र वितरणको नीतिमा जोड दिनुपर्छ । मिडिया, गैरसरकारी संस्था, फेसनका सरकार निकायसँग संस्थागत सम्बन्ध विकसित गरिनुपर्छ । तर, मार्ग प्रशष्त गर्ने काम फेसनकर्मीकै हो । क्रिएटिभ फेसनले नै बजार सिर्जना गर्ने हो । बजारले भ्यालु तिर्छ र आफूलाई चाहिएको कुरा लिन्छ । सिर्जनात्मक फेसनले नै उद्योगलाई वैधानिकता दिने हो । अहिले एसिया र युरोपेली फेसनबीचको मुख्य भिन्नता यही हो । एसियाको उदाँउदो बजार ‘फास्ट फेसन’मा विश्वास गर्छ र युरोप ‘क्रिएटिभ फेसन’मा । नेपालले फेसनका यी दुवै ध्रुवलाई सन्तुलन गर्न सके हाम्रो हितमा हुनेछ ।

Share.

About Author

Leave A Reply