राजु लामालाई ३२ प्रश्न : २५ वर्षपछि मंगोलियन हार्टको कमब्याक

0

नेपाली संगीत क्षेत्रमा निकै परिचित नाम हो– राजु लामा र उनको ब्यान्ड मंगोलियन हार्ट । ठ्याक्कै २५ वर्ष पुगेको छ, ब्यान्ड र उनको संगीत यात्रा । उनले ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘बादल पारिको देशबाट’ लगायत थुप्रै हिट गीतहरु दिएका छन् । १२ वर्षयता अमेरिकामा रहेर संगीतकर्म गर्दै आइरहेका उनी ‘सिल्भर जुब्ली’ मनाउन एक साताअघि मात्र नेपाल आइपुगेका छन् । अनिल यादवले लिएको यो अन्तवार्ता सान्दर्भिक ठानेर शुक्रबार साप्ताहिकबाट साभार गरिएको हो ।

नेपाल भ्रमणको खास उद्देश्य ?
खास त कन्सर्ट नै हो । २५ वर्ष पुगेको उपलक्ष्यमा हामी यो वर्षभित्र देशका २५ ठाउँमा कन्सर्ट गर्ने लक्ष्यमा छौं । सात–आठ ठाउँ फिक्स्ड भइसक्यो । हयात होटलको ग्राउन्डबाट सुरु पनि गरिसक्यौं । सँगसँगै दसैँ–तिहार पनि यतै मनाउने योजना हो ।

कहिले फर्कनेगरी आउनुभएको ?
डेढ महिना जति बस्छु । फेरि फर्किहाल्छु नि !

ब्यान्डसँगै तपाईंको सांगीतिक यात्राले २५ वर्ष पुगेकोमा सुरुमा बधाइ दिन चाहेँ । यो २५ वर्षे यात्रालाई आफैँले समीक्षा गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
धेरै आरोह–अवरोह भए । थुप्रै ओकाली–ओराली आए । यात्रा पक्कै सहज थिएन । विभिन्न उतारचढावहरु आए । पैदल हिँडेर सुरु भएको यात्रा विक्रम टेम्पु, बस, मिनी बस, ट्याक्सी, कार हुँदै अहिले प्लने चढ्नेसम्म आइपुग्यो । जति समस्या आइपरे पनि दर्शक/श्रोताको साथ भने सधैँ रहिरह्यो । त्यसैले यहाँसम्म आइपुगियो ।

सिल्भर जुब्ली मनाइरहँदा आफ्ना संघर्षका दिनलाई सम्झनु प-यो भने कसरी सम्झनहुन्छ ?
भन्यो भने एकदमै लामो कथा छ… । जिन्दगीमा हामीले कहिल्यै पनि हरेस खाएनौँ । कहिल्यै पनि पछाडि हटेनौँ । त्यही कारण आज हामी यहाँ आइपुग्यौँ । गाह्रो रै’छ भनेर हरेस खाएको भए सायद यो २५ वर्ष सम्भव थिएन । ब्यान्ड खोल्दा हामी बच्चै थियौँ । सबै १५–१६ वर्षका । घरमा म्युजिक गरेर खान्छ भन्दा कसैले पत्याउँदैनथिए । गीत रेकर्ड गर्ने पैसा हुन्थेन । केहीकेही कम्पिटिसनमा जित्न थालेपछि घरबाट पनि पत्याउन थाले । ५० सालतिर पहिलो एल्बम निकाल्यौ– ‘सोल्टिनी’ तर एल्बम सुपरफ्ल्प भयो । तीन हजारप्रति त बेच्यौँ । त्यो पनि बल्लतल्ल । घरघरमा पुगेर जबरजस्ती बेच्यौँ । त्यतिखेर प्रमोसनका लागि पोस्टर बनाएका थियौं । आफैँ भातको माड बनाउँथ्यौँ । त्यही भातको माड र पोस्टर बोकेर भित्ताभित्ता टाँस्दै हिड्थ्यौँ । ती क्षण सम्झँदा अहिले रमाइलो लाग्छ ।

तपाईंले त होटलमा काम पनि गर्नुभयो है ?
हो । जीवनमा थुप्रै अनुभवहरु बटुुलियो । ती समय आफैँमा सुन्दर थिए । कम्पिटिसन जितिन्थ्यो, पुरस्कार पाइँदैनथ्यो । एफएममा गीत बजाउन लगिन्थ्यो, एक हप्तासम्म कुर्दा पनि बज्दैनथ्यो । सन् २००६ को अन्त्यतिर ब्यान्डका तीन जना सदस्यहरुले छोडे । टुरका लागि अमेरिका गएका थियौँ । लास्ट कन्सर्टपछि तीन जना नै उतै बसिदिए । मेरो साथ छोडे । त्यसपछि मैले एकवर्ष जति केही गीत रेकर्डिङ गरिनँ ।

ब्यान्ड टुटफुटको ट्रेन्ड एकदमै धेरै देखिन्छ । किन हुन्छ यस्तो ?
सबै जनालाई खुसी र सुखी जीवन जिउने चाहना हुन्छ, त्यही चाहनाको खोजीले होला मेरा साथीहरुले मलाई अमेरिकामै छाडिदिए । कार्यक्रमा लागि पुगेका साथीहरु त्यसलाई अवसर सम्झिएर अमेरिकामै बसिदिए । त्यसले मलाई धेरै समस्या पनि आयो । मन निकै दुख्यो । मेरा केटाहरुले किन धोका दिए भन्ने फिल भयो । फ्रस्ट्रेसनजस्तो पनि भयो । स्कुलदेखिका साथीले त्यसरी छोडेर जाँदा ठूलो पाठ सिकियो । मान्छेलाई चिन्न समय लाग्ने रै’छ । हाम्रो अहिलेसम्म बोलचाल छैन । तैपनि यो २५ वर्षको उपलक्ष्यमा म उनीहरुलाई सम्झन चाहन्छु । धन्यवाद त दिनैपर्छ, किनभने ‘मंगोलियन हर्ट’ जन्माउन उनीहरुको पनि योगदान थियो ।

तपाईं आफैँ पनि त पछि अमेरिका बस्ने निर्णयमा पुग्नुभयो नि ?
साथीहरु टुर बसेपछि थुप्रै कुरा आए । कतिपयले मैले भगाएँ भन्ने आरोप लगाए । कतिपयले खोज्न सहयोग गर्नुपर्छ पनि भने । त्यसपछि म आफैँ तनावमा भएँ । विदेशमा अवैध तरिकाले बस्ने कुरा पनि भएन । त्यतै बस्ने प्रावधान मिलाएँ । उतैबाट पनि काम गर्न सकिने सम्भावना देखेँ । पछि उतैकी केटीसँग लभ पनि प¥यो । बिहे ग¥यौँ । बच्चा भयो । सबथोक उता भएपछि आफू यता एक्लै आएर बस्ने कुरा पनि रहेन ।

अमेरिका जान बाध्य बनाउने अरु पनि केही कारण थियो कि ?
संगीतमा यहाँ बसेर जति गर्न सक्छु त्यो भन्दा बढी उता बसेर गर्न सकिन्छ भने किन नगर्ने ? म्युजिक गर्नलाई सम्बन्धित व्यक्ति यही बस्नुपर्छ भन्ने हुँदैन । क्रिएसन संसारको जुनसुकै कुनामा बसेर पनि गर्न सकिन्छ । म उतै रहेर पनि वर्षमा यहाँ २०–२५ वटा कन्सर्ट गरिरहेको हुन्छु । मलाई लाग्छ, यहीँ बसेर काम गर्नेहरुले पनि गर्ने यति नै हो । अमेरिका जानेले गर्न सक्दैन भन्ने सोच गलत हो । मेरो परिवार उतै भएकाले उनीहरुलाई छाडेर यता बस्न गाह्रो भएको हो । तर यो १२ वर्षको बीचमा मैले केही नगरेको भए आज मेरो यात्रा २५ वर्षको हुने थिएन ।

म्युजिकबाहेक त्यहाँ (अमेरिका) केही पार्ट टाइम काम पनि गर्नुहुन्छ ?
केही पनि गर्दिनँ । म्युजिकले नै पुगिरा’छ ।

बिजनेस ?
पहिला लाइभ म्युजिक सहितको बार थियो । अहिले बन्द गरेँ ।

एक समय थियो जतिबेला तपाईंका गीतहरु जताततै गुन्जिन्थे । क्रेज ठूलो थियो तर अहिले तपाईंसँग त्यो छैन…
शिखरमा त जो पनि पुग्छ । शिखरमा सधैँ बस्न पनि सकिँदैन तर जुन फेम छ त्यसलाई मेन्टेन गर्नु ठूलो कुरा हो । २५ वर्षसम्म त्यो फेमलाई मेन्टेन गर्न सकियो भन्ने लाग्छ ।

मान्छे एउटा उचाइमा पुगेपछि फेरि तल झर्नुपर्दा गाह्रो त पक्कै हुन्छ । कसरी सम्हाल्नुभयो त्यो परिस्थितिलाई ?
हाइटमा त जो पनि पुग्छ तर त्यहाँ सधैँ बस्न सकिँदैन । यो यथार्थ मलाई थाहा थियो । त्यसैले सधैँ मैले उचाइको लोभभन्दा पनि फेमलाई मेन्टेन गर्ने प्रयत्न मात्रै गरेँ ।

मेन्टेन कसरी गर्नुभयो त ?
मिहिनेत धेरै गर्ने । टाइम–टाइममा म्युजिक निकाल्ने । त्यही त हो ।

फेरि उचाइमा पुग्ने रहर छैन ?
उचाइमा पुग्नेभन्दा पनि राम्रो म्युजिक गर्ने रहर छ । किन त्यो हाइट पनि मैले देखँे, सबैभन्दा लोएस्ट पोइन्ट पनि देखेँ ।

त्यो क्रेज, त्यो उचाइ । मिस त हुन्छ होला है ?
त्यस्तो हुन्न । देखिसकेको चिज हो नि त ! हात काट्नेदेखि गेटबाहिर लाइन बस्नेसम्म थिए । तर, आई एम भेरी सिम्पल पर्सन । लो प्रोफाइलमा नै बस्न मनपर्छ । त्यसैले यो भएन, त्यो भएन भन्ने छैन । नम्र भएर बस्नुस्, सबै चिज राम्रै हुन्छ । मलाई लाग्छ, जब कलाकारमा इगो हुन्छ, त्यसपछि डाउनफल सुरु हुन्छ ।

अहिले एक–दुई काम गर्नेबित्तिकै यहाँ आफूलाई स्टार ठान्ने प्रवृत्ति निकै देखिन्छ । त्यही भएर तपाईंको अनुभव सोध्न खोजेको…
हाम्लाई भयंकर ठूलो सेलिब्रिटी भन्नलाई नेपाली म्युजिक क्षेत्र त्यति साह्रो ठूलो पनि छैन । कम्तीमा हाम्रो टाइममा त मान्छेले किनेर म्युजिक सुन्थे । अहिले त फ्रिमा सुन्छन् । यहाँ सुपरस्टार हुनु, फेमस हुनु कुनै बिग डिल होइन । मिहिनेत गर्नुस, भइन्छ तर त्यसलाई कसरी लामो समयसम्म लाने त्यो सुपरस्टार हुनुभन्दा ठूलो कुरा हो । अझ अचेल त युट्युबले रातारात सुपरस्टार बनाउँछ । यो राम्रो कुरा हो । त्यसलाई मेन्टेन गर्न सक्नुपर्छ । एउटा गीत मात्र राम्रो गरेर हुन्न, सबै सिर्जना एकसेएक निकाल्नुपर्छ । यहाँ टिक्नु सजिलो छैन । एक वर्षसम्म गीत निकालेन भने मान्छेले बिर्सिन थाल्छ । त्यस्तो ठाउँ हो यो । त्यसैले म नयाँ स्टारहरुलाई भन्न चाहन्छु, ‘नम्र हुनुस्, अहंकार नपाल्नुस् ।’ एउटै भनाइ नै छ नि, ‘फलेको हाँगा नझुकेको कहाँ छ र ?’

अहिलेको नेपाली म्युजिकको ट्रेन्डलाई कसरी हेर्नुहुन्छ ?
बढी कमर्सियल भइरा’को छ । राम्रा गीत निकाल्नेभन्दा पनि मुखमा झुन्डिने खालका गीततिर ध्यान बढी । पहिलो त शब्द, संगीत, स्वर सबै राम्रो हुनुपर्छ भन्थे । अहिले त बजारमा के चल्छ, त्यस्तै बनाउनुपर्छ भन्ने छ । मैले सधैँ हिट गीतभन्दा पनि राम्रो गीत दिने प्रयास गरेँ । जीवनमा मैले हाइ र लो दुवै फेज भोगेको छु । भगवानको कृपा छ । श्रोताहरुको माया छ । बाँचिएको छ । अनि मलाई लाग्छ, बाँच्नु नै ठूलो कुरा हो ।

पछिल्लो समय चर्चामा रहेका सिंगिङ रियालिटी सोहरुलाई कसरी हेरिरहनुभएको छ ?
नयाँ पुस्ताका लागि यो ठूलो प्लेटफार्म हो । हाम्रो पालामा यस्ता अवसर थिएनन् । यस्ता सोहरुले कन्फिडेन्ट लेभल बढाउँछ । केही न केही पक्कै सिकाउँछ । खुसी लागिरा’छ नयाँ प्रतिभाहरु जन्मिएको देखेर ।

पछिल्लो समय तपाईंले सम्भावना देखेका प्रतिभाहरु कोही छन् ?
अफकोर्स छन् । तृष्ण गुरुङ, स्वप्न सुमन, छेवाङ लामा, नितेशजंग कुँवरहरु मलाई एकदमै मनपर्छन् । क्रिएटिभ लाग्छन् । राम्रोसँग गरे भने उनीहरु लामो समयसम्म जान्छन् भन्ने लाग्छ ।

मनोरञ्जन क्षेत्रको के कुराले तपाईंलाई चित्त दुख्छ ?
भन्न त कलाकारलाई देशको गहना भनिन्छ तर राज्यबाट केही सपोर्ट छैन । त्यही कुरा दुःख लाग्छ । एउटा म्युजिसियनलाई भोलि केही भयो भने चन्दा उठाउनुपर्छ । जीवनको अन्तिम घडीमा सहयोग माग्दै हिँड्नुपर्छ । रमाइलो गर्दा मात्रै चाहिने हो र कलाकार ? दुःख पर्दा सम्झिनुपर्दैन ? सबैलाई नगरे पनि कम्तीमा योगदान दिएका कलाकारलाई त चिन्नुप-यो नि राज्यले । यहाँ कस्तोकस्तो लिजेन्डहरु बित्दा पनि राज्यले सम्मान दिएको पाइएन ।

तपाईं म्युजिसियन नभएको के बन्नुहुन्थ्यो ?
युके आर्मी हुन्थेँ होला ।

ट्राई पनि गर्नुभयो कि ?
अँ ।

कतिपल्ट फेल हुनुभयो ?
दुई चोटी जति । (हाँस्दै)

जे होस्, ती हातले बन्दुक नचलाए पनि गितार बजाइरहेका छन् !
(हाँस्दै) त्यस्तै भन्नुपर्ला ।

जीवनको पहिलो कमाई र तलब याद छ ?
त्यहीको ठमेलको होटलमा काम गर्दा ४५ दिनको ८ सय पचास पाएको थिएँ ।

के काम गर्नुहुन्थ्यो ?
हाउस किपिङ, हेल्पर सबै गरियो ।

तपाईंलाई आफू पहिलोपल्ट सेलिब्रिटी भएको कहिले महसुस भयो ?
कहिल्यै भएन । अन्यथा नलिनुस्, नेपालको म्युजिक इन्डस्ट्री एकदमै सानो छ । सबैले सबैलाई चिन्न गाह्रो छैन । त्यसैले मलाई आफू भयंकर सेलिब्रिटी कहिल्यै लागेन ।

प्रायः सेलिब्रिटीसँग यो प्रश्न गर्दा सबैको जवाफ यस्तै आउँछ । किन होला ?
यति सानो इन्डस्ट्रीमा कसरी आफूले आफैँलाई सेलिब्रिटी भन्ने ? न भव्य कमाइ हुन्छ । एउटा म्युजिसियनले एउटा एल्बमको डिल १ करोडमा गरेको भन्ने सुन्नुभएको छ ? छैन नि ! धन्न दालभात खान चैँ पुगिरा’को छ ।

जीवनमा कहिल्यै असफल भएको महसुस भयो ?
अफकोर्स । सधैँ कहाँ सफल भइन्छ र ?

आफ्ना जीवनमा आइपरेका खराब परिस्थितिको सामना कसरी गरियो त ?
असफल हुनु आफैँमा प्रेरणा हो । मलाई लाग्छ, सबैभन्दा ठूलो कुरा धैर्य हो । धैर्य भएन भने फ्रस्टेट भइन्छ । म पनि मान्छे हो । मन दुख्छ । मन दुख्यो भन्दैमा रोएर बस्नुभएन नि ! अघि त बढ्नै प¥यो । तपाईं सही बाटोमा हुनुहुन्छ भने जसले जे भने पनि सत्य कहिल्यै लुक्दैन । अघि नै भनिसकेँ, कुनैबेला आरोप लान्छनाहरु लागे । मानसिक तनाव भए तर समय यस्तो बलवान हुन्छ कि यसले जस्तो घाउ पनि भरिदिन्छ । समय परिस्थितिले शिखरमा भएको मान्छेलाई सडकमा ल्याउन पनि सक्छ । त्यही समयले मान्छेलाई बलियो बनाउन पनि सिकाउँछ । काटेको घाउ पनि कहाँ तुरुन्त निको हुन्छ र ? समय त लागिहाल्छ नि ! त्यसैले जिन्दगी भनेकै सिकाइ हो । मान्छे मरुञ्जेलसम्म केही न केही सिकिरहेकै हुन्छ । म पनि हरेक दिन केही न केही सिकिरहेकै छु ।

फ्यानहरु कस्ताकस्ता छन् तपाईंका ?
फ्यानभन्दा पनि शुभचिन्तक भनौँ न ! अझै पनि हात काट्नेसम्मका शुभचिन्तक छन् । मान्छेहरु बिहे गरेपछि फ्यान घट्छ भन्छन् त्यो मलाई वाहियात लाग्छ । सबै फ्यानले मसँग बिहे गर्ने हो र ? यो त कसरी ह्यान्डल गर्ने, त्यसमा भर पर्छ । मलाई त अझै पनि फूल लिएर आउनेहरु प्रशंसकहरु छन् ।

फेरि बिहे गरौँ भन्नेहरु पनि त होलान् ?
भन्छन् नि ! कुराहरु त आइहाल्छ नि ! तर आउँदैमा मानिन्छ त ? त्यसलाई फ्यानको मायाको रुपमा ग्रहण गर्ने हो । त्यत्ति हो ।

Share.

About Author

Leave A Reply