काठमाण्डूमा प्रबल गुरुङ उवाच : फिल्म, फेसन, सपनादेखि सेक्ससम्म

0

चिसिँदै गएको पाटनमा प्रबल गुरुङ विहिबार साँझ फेसन डिजाइनर कम र दार्शनिक ज्यादा सुनिए । दशैं बिदामा घुम्न फर्किएका हलिउडी डिजाइनर नेपाली तन्नेरीसँग फेसन, फिल्म, सपना र यौनिकताबारे गफिए । उनलाई सुन्ने भीड थामिसक्नु थिएन ।

सफलताको मापन नाम र पैसाले नगर्ने बताए उनले । ‘कसैलाई सय रुपैयाँ कमाउनुमा सफलता लाग्छ, कसैलाई सय बिलियन डलरले पुग्दैन’ भने, ‘पैसा र शक्ति सफलताको मापदण्ड हुँदै होइन ।’ उनले सबैलाई आफ्नो सपनामा विश्वास गर्न आग्रह गरे ।

‘सपनालाई सानो वा ठूलो नठान्नूस, त्यो जस्तोसुकै होस, पुरा गर्न मनदेखि लाग्नूस’ प्रबल सुनिए, ‘अरुको कुरा नसुन्नूस, अठोट पाल्नुस ।’ उनले आफ्नो सफलताको श्रेय आमालाई दिए ।

प्रबललाई लाग्छ, फेसन भनेको लुगा बनाउनु मात्र होइन, बरु त्यसमार्फत कथा भन्नु हो । उनले स्टोरी टेलिङलाई फेसन डिजाइनसँग जोड्न आग्रह गरे । ‘मेरो डिजाइनमा सँधै महिला सशक्तीकरण हुन्छ, राजनीतिक कुरा गरिरहेको छैन तर, भविष्य महिलाकै हुन्छ । म वुमन पावरमा विश्वास गर्छु’ उनले भने ।

हलिउड, बलिउड हुँदै काठमाण्डूसम्म गाँसिएको मी–टु मुभमेन्टलाई ग्लोबल फेसनले गम्भिरताका साथ हेरिरहेको बताउँदै उनले समानताका लागि फेसनमार्फत काम गरिरहेको बताए । नेपाल समाज र पुरुषले आइमाइ मान्छेको कुरा सुन्न करै लाग्ने प्रबल कथन छ ।

व्यक्ति सफल भएपछि उसले लिने निर्णयले देशलाई प्रभाव पर्ने अनुभव बाँडे । ‘जतिबेला मैले आफ्नो सफलतामात्र सोचेको थिएँ । त्यतिबेला मिसेल ओबामाले मेरो लुगा लगाउनुभयो । त्यो देखेर मेरी मामुले मलाई भन्नुभयो, हेर तिम्रो सफलता अब व्यक्तिगत रहेन । देशको सफलता रह्यो । सोच विचार गरेर काम गर’ उनले सुनाए ।

नेपाली कला, प्राकृतिक सौन्दर्य, सम्पदा, हिमाल, पहाड, विविधताले आफूलाई लुगामा आकृति र रङ उतार्न प्रभावित तुल्याएको गुरुङले बताए । सोही क्रममा उनले नेसनल जियोग्राफीले थारु महिलामाथि खिचेको फोटो फिचरमाथि ‘मुटबड’ सिर्जना गरेको र हालैको न्यूयोर्क फेसन वीकमा प्रस्तुत गरेको जानकारी दिए ।

स्कुल छँदैदेखि आफूमा अरु केटाभन्दा भिन्न स्वभावको विकास भएको सम्झिए उनले । ‘मलाई याद छ फस्ट स्केचलाई लुगामा उतारेको । जुन आनन्द मलाई सेक्स गरेजस्तै भयो’ ठट्टा मिश्रित भावमा उनले सुनाए । आफू ‘गे’ भएको र आफ्नो यौनिकतामाथि गर्व रहेको उनले सुनाए । आफू ह्याप्पी रिलेसनसिपमा रहेको प्रबल कथन छ ।

उनीमाथि टन्नै गुनासा छन् । उनको डिजाइन महंगा भए । बियोन्सेले लगाएको उनको पहिरनको मूल्य नेरु डेढलाख पर्छ । आफ्ना डिजाइन नेपाली बजारमा ल्याउन चाहेपनि भन्सार महंगो भएकाले सरकारले सोच्नुपर्ने बताए । आफ्नो ग्राहकको कम्प्लेनबारे आफू गम्भिर भएको समेत प्रबलले जनाए ।

नेपालमा समेत चलिरहेको हलिउड फिल्म ‘क्रेजी रिच एसियन्स’को विविधतामा आफूले समर्थन गरेपछि वार्नर ब्रोजले आफूलाई सम्मान समेत गरेको उनले बताए । उनले नेपाली फिल्मले समेत कथा र पात्रमा विविधता खोज्नुपर्ने धारणा राखे ।

फोटो काठमाण्डूले प्रबलसँग पाटन डबलीमा खुला संवाद चलाएको हो । फेस्टिभल सेलिव्रेट गर्न काठमाण्डूस्थित घरमा आएका प्रबल सोमबार अमेरिका फर्र्कँदैछन् ।

Share.

About Author

Leave A Reply