फिल्म समिक्षा : ठग्स अफ हिन्दोस्तान

0

विष्णु शर्मा
रेटिङ : ३.५/५
मोदी उदयपछि भारतीय राजनीतिमा ‘राष्ट्रवाद’ नारा बलियो छ । दुई तिहाइ बीजेपी बहुमत यस पपुलिज्मको उदाहरण हो । दिल्ली मात्र होइन, यतिबेला भारतीय ‘सफ्ट पावर’ बलिउड समेत बेलाको बोली बोल्न थालेको छ । आमिर खान–अमिताभ बच्चन स्टारर ‘ठग्स अफ हिन्दोस्तान’ मोदी पपुलिज्मको बाछिटा हो ।

१ सय ६४ मिनेट लामो ‘ठग्स अफ हिन्दोस्तान’ बदलाको कथा हो । एउटा चलाख फिरंगीले ‘ब्रिटिस एम्पाअर’लाई लखेटेको कथा । एपिक–एक्सन–एड्भेन्चर र पिरियोडिक जानरामा राखिएको फिल्मले सन् १९७५ मा तत्कालिन इस्ट–इन्डिया कम्पनी र त्यसविरुद्ध विद्रोह गर्ने एक ‘आजाद’ फौजबीचको संघर्षको कथा भन्छ ।

व्यापार गर्ने उद्देश्यले भारत पसेको इस्ट–इन्डिया कम्पनीले हुकुमी शासन चलाउन थालेपछि खुदाबकस आजाद (अमिताभ बच्चन) विद्रोहमा उत्रन्छन् । आजादलाई खतराको रुपमा लिन्छन् ब्रिटिस कमान्डर जोन क्लिभ (लियोड ओवेन) र प्रतिरोधका लागि फिरंगी मल्लाह (आमिर खान)लाई पठाउँछन् । अनि सुरु हुन्छ द्धन्द्धको सिलसिला ।

केन्द्रिय द्धन्द्ध बदला हो । दुई बिचारबीच द्धन्द्ध छ । आजाद चाहन्छ– रगतबाट स्वतन्त्रता आउँछ । फिरंगी चाहन्छ– बुद्धि र अहिंसाबाट जित सम्भव छ । एउटा लुटेरले कसरी बेलायती साम्राज्यभित्र घुसेर जित सफल तुल्याउँछ भन्ने कथा फिल्मले पेश गर्छ । पात्रात्मक विविधतामा देखिन रुचाउने आमिर यसमा लुटेरा फिरंगी बनेका छन् । उनको पात्र रोचक छ । उनलाई ‘ग्रे कलर’मा चित्रण गरिएको छ जसमा मल्टि–डायमेन्सन छ । दर्शक एकैसाथ फिरंगीलाई माया र घृणा गर्छन् ।

जमिन खोसिएपछि इस्ट इन्डिया कम्पनीविरुद्ध विद्रोहमा उत्रिएको बुढो लडाकु आजादको भूमिकामा अमिताभ प्रभावशाली छन् । उमेर ढल्कँदै गएपनि उनको पात्रात्मक उमेर भने तन्नेरी हुँदैछ । अहिले पनि करोडौं आवादीको भारतमा जमिन, लालपुर्जा र नागरिकता राजनीतिक मुद्दा बनिरहेको छ । बलिउडलाई मोदी राष्ट्रवाद एउटा कन्टेन्ट पनि हो, जसले गर्दा ऊ स्वतन्त्रताको कथामा पाकिस्तान र बेलायतलाई ‘एन्टागोनिस्ट’ देख्छ । यो एन्टी–हिरो पात्रमाथि बलिउडले धेरै दशक खर्चियो ।

फिल्मको सशक्त पक्ष पटकथा हो । निर्देशक विजयकृष्ण आचार्यको लेखाइ चलाख लाग्छ । उनले फिल्मको केन्द्रिय द्धन्द्ध र आमिर पात्रलाई जसरी स्थापित गरेका छन्, यसले दर्शकलाई इन्गेज्ड तुल्याउँछ । ‘दंगल’ अभिनेत्री फतिमा साना सेख (जफिरा)को भूमिकामा बलशाली छिन् र उनै फिल्मकी प्रोटागोनिस्ट हुन् । उनलाई लडाकु फिमेलको रुपमा चित्रण गरिएको छ । खासगरि, खानको अभिनय र चरित्र चित्रणले दर्शकको मतिस्ष्कमा ‘ठग्स अफ हिन्दोस्तान’ कैद गर्नेछ ।

यस्तो एउटा लुटेरा वा ठग, जसका लागि राष्ट्रियताभन्दा लुट्नु महत्वपूर्ण हो । हामीले यस्तो लुटाइ हलिउडको ‘पाइरेट्स अफ दी क्यारेबियन’मा पनि देखेका छौं तर, बलिउडले यसमा राष्ट्रियताको मसला मिसाइदिएको छ । उक्त लुटेराको गति यत्तिकैमा रोकिँदैन, उसको यात्रा भारतभन्दा पर तन्किएको छ । ऊ ‘भारत’ लुटेर अब ‘इंग्ल्यान्ड’ लुट्न चाहन्छ अर्थात उसको लक्ष्य अब ‘इंग्लिस्तान’ लुट्नु हो । यस्तो लाग्छ, निर्माता यशराज फिल्मसले सिक्वेलका लागि मार्गप्रशस्त गरिदिएको हुनुपर्छ ।

लियोड ओबेन फिल्मका एन्टी–हिरो हुन् । तर, उनमा एन्टागोनिस्टमा हुनुपर्ने विशेषता अझै खड्किएको महसुस गर्न सकिन्छ । भिलेनलाई बलशाली तुल्याइनु हिरोज् अझै बलियो बन्नु हो, द्धन्द्ध उचाइमा पुग्नु हो र दर्शकले पात्रसँग अन्तक्रिया गर्नु हो । सन् १९७५ मा थाइल्यान्डको जलमार्ग हुँदै भारत व्यापार गर्ने इस्ट इन्डिया कम्पनीका कमान्डरको रुपमा ओबेन फिचर्ड छन् । पात्रको चरित्र चित्रणमा ‘इन्ट्री’भन्दा ‘एक्जिट’लाई महत्वपूर्ण रुपमा लिइनु जरुरी हुन आउँछ ।

तपाईंलाई आवधिक र ऐतिहासिक फिल्ममा रुचि छ भने ‘ठग्स अफ हिन्दोस्तान’ रुचिकर हुनसक्छ । कट्रिना क्याफ, आमिर खान, अमिताभ बच्चनजस्ता ‘हु इज हु’को उपस्थिती तपाईंको हेराइको अर्को कारण बन्नसक्छ । यो फिल्मभन्दा पनि इतिहास पुनतावृत्ति गर्ने चलचित्र हो जसले राष्ट्रवाद र मानवतालाई ‘ग्लोरीफाइड’ गर्छ ।

निर्देशक : विजयकृष्ण आचार्य
निर्माता : आदित्य चोपडा
कास्ट : आमिर खान, अमितभ बच्चन, कट्रिना क्याफ, फतिमा साना सेख र लियोड ओवेन
लम्बाइ : १६४ मिनेट
बजेट : ३ सय करोड

Share.

About Author

Leave A Reply