फिल्म समिक्षा : प्रसाद

0

विष्णु शर्मा
कस्तो फिल्म हेर्न चाहनुहुन्छ तपाईं ? (क) एकै किकमा दर्जनौं गुण्डा ढलेको ? सुकिला मान्छेको रोमान्स ? सुपरहिरो एक्सन ? (ख) भुइँमान्छेको कथा ? मौलिक र दृश्यभाषा बुनिएको ? नवीन, अन्वेषण र बौद्धिक आख्यान ? यदि तपाईं (ख) वर्गको दर्शक हुनुहुन्छ भने ‘प्रसाद’ तपाईंका लागि हेर्नयोग्य साहित्यिक उत्पादन हो ।

जब फिल्म समाजसँग जोडिन्छ, दर्शकसँग अन्तक्रिया गर्न थाल्छ । यदि दर्शक फिल्मभित्रै छिरिदिए भने के होला ? मान्नूस, कथा वाचकको रुपमा तपाईं सफल हुनुभयो । कुमारी हलमा दर्शक भीड (फिल्म क्षेत्रका हैनन)बीच बसेर ‘प्रसाद’ हेर्दा दर्शकीय मनोविज्ञानको उद्देलना विकास भयो । औपन्यासिकताको यो सौन्दर्य हो । दर्शकको मुड बुझ्दा लाग्यो, ‘प्रसाद’ले काल्पनिकी र पर्दाबीचको ‘फोर्थ वाल’बीचको दूरी मेटिदिएको छ ।

लिनियर र सरल कथा छ । तीन पात्र वरपर फिल्मले फन्को मार्छ । परियार थरको दलित केटो बाबुराम (बिपिन कार्की), वडाध्यक्षकी क्षेत्रिनी छोरी नारायणी (नम्रता श्रेष्ठ) र गाउँकै दामली तर निरकुंश रमेश (निश्चल बस्नेत) ‘प्रसाद’का मुख्य पात्र हुन् । कथित तल्लो जातको केटाले उपल्लो जातकी केटी विहे गरेर काठमाडौं भगाएपछि ‘टसल’ सुरु हुन्छ । दम्पत्तिमा बाँझोपन भैदिएपछि अर्को मनोवैज्ञानिक समस्या ।

अर्कैकी राम्री पत्नीलाई गिद्दे आँखा लगाइदिएपछि सुरु हुने द्धन्द्धको अर्को सिलसिला । ‘प्रसाद’ भौतिक, मनोवैज्ञानिक र सर-रियल द्धन्द्धको पत्रैपत्र हो जसले फिल्मलाई ‘ओजपूर्ण’ तुल्याएको छ । सेटिङ, आञ्चलिकता, चरित्र चित्रण, द्धन्द्ध स्थापना र पटकथा सशक्तता हुन् । सुदृढ नाट्यविधानले ‘इन्गेज्ड’ तुल्याएको छ । आञ्चलिकताको डिटेलिङ र समाजलाई पर्दामा टपक्क टिप्न सक्नुमा निर्देशकीय र लेखकीय इमान्दारिता प्रतिविम्वित छ । लेखक र निर्देशक बधाइका पात्र छन् ।

द्धन्द्धका अनेक लेयर भएपनि ‘प्रसाद’को केन्द्रिय द्धन्द्ध चाहिँ सन्तान नहुँदा र परिस्थितजन्य रुपमा भैसकेपछि त्यसलाई स्वीकार्दाको दृष्टिकोण हुन् । तरपनि, फिल्मभित्र जे कुरालाई ‘प्रसाद’को रुपमा डिफाइन गरिएको छ, यसमाथि बहस हुनुपर्ने जरुरी देखिन्छ । निर्देशकले यस मामिलामा महिला र पुरुषबीचको लैंगिक समानान्तर रेखाबीच बसेर निष्कर्ष दिएका छन् । मनोवैज्ञानिक सुक्ष्मताभित्र बसेर यसरी द्धन्द्ध ट्रिटमेन्ट गर्नु र रिजोलुसन सिर्जना गर्न सक्नु सर्जकको खुबी हो ।

पटकथालाई यति कसिलो तुल्याइएको छ कि सरल हुँदाहुँदै पनि इन्गेजिङ छ । शरिरसहितको एउटा आत्मा, जुन जीवनको इन्जिन हो । ‘थ्री–एक्ट’ संरचनामा मात्र हैन, स्ट्रगलका अनेक पत्रमा बिपिन कार्कीको अभिनय शक्तिशाली लाग्छ । गरिबी, धोका र जातियताको जाँतोमा पिसिएको भुइँमान्छेको पीडालाई उनले पात्रमार्फत पस्किएका छन्, जससँग दर्शकले अपनत्व महसुस गर्छन् । ‘प्रसाद’ बिपिनको अर्को एक कलात्मक उत्कर्ष भन्दा अन्यथा नहोला ।

पात्रको रङ ‘खैरो’ छ । श्यामश्वेत पात्र नहुुनु ‘प्रसाद’को श्रेष्ठता हो । एउटै मान्छेभित्र भगवान र दैत्य गुण अटाउन निर्देशकले ‘ग्रे’ रङ छानेका छन् । यो जीवनको रङ पनि हो । निश्चललाई भिलेन नभनौं, उनी ‘एन्टी–हिरो’ हुन् । रिस उठाउन सक्नु उनको सफलता हो । ‘प्रसाद’ नम्रता श्रेष्ठको करियरकै बलशाली अभिनय हो । यसमा उनले ‘नुसेन्स’ र सुक्ष्मताभित्र अभिनय प्रयत्न गरेकी छन् । सीधै सहि, निर्देशकको रुपमा दिनेश राउतमा ‘परिपक्वता’ देखिएको छ । दृश्यभाषालाई गम्भिररुपमा लिन थालेका छन् उनले अघिल्ला फिल्मभन्दा ।

सुशिल पौडेलले पटकथा लेखकको रुपमा आफूलाई ‘लामो दौडको घोडा’को रुपमा पेश गरेका छन् । ‘लार्जर द्यान लाइफ’भन्दा सवाल्र्टन (सीमान्तृकत) मान्छेका आख्यानलाई उनले जसरी लेखे, यो समकालिन नेपाली फिल्मको लागि ठूलो आवश्यकता हो । हामी फिल्मलाई साहित्यक, बौद्धिक, दार्शनिक, सामाजिक र सांस्कृतिक उत्पादन भन्ठान्छौं, ‘प्रसाद’को पटाक्षेप समयको माग हो । ध्वनी संयोजन ‘प्रसाद’को अर्को विशिष्ठता मान्नुपर्छ । मुड, टोन र मनोदशाअनुसार ध्वनी संयोजन गर्नुमा उत्तम न्यौपाने र ब्याकग्राउन्ड स्कोरर शैलेश श्रेष्ठ बधाइका पात्र छन् । छायांकार राजेश श्रेष्ठ जहिल्यै ‘लो–कि’ प्रकाशसँग लुकामारी खेल्छन् । उनी सिनेमाटोग्राफर मात्र हैनन, उनी ‘डीओपी’ हुन् । विम्वात्मक सट् र प्रकाश संयोजनमा दृश्य मनोविज्ञान र रियालिज्म सिर्जना गर्नमा उनले भूमिका खेलेका छन् ।

‘प्रसाद’ फिल्ममात्र हैन, एउटा मुभमेन्ट हो । दृश्य आख्यानको एउटा सौन्दर्य, जससँग आवरण र आत्मा दुबै छ । नेट्फिल्क्स निर्मित र आफू निर्देशित ‘आइरिसम्यान’ फिल्मबारे हालैको एउटा इन्टरभ्यूमा मार्टिन स्कोरसिज भन्दै थिए : “अबको विश्व फिल्मको भविष्य कन्टेन्टमा सुरक्षित छ ।” प्रसाद थालनी हो । यदि तपाईंलाई समाजसँग जोडिएको र वास्तविक पात्रको कथा मनपर्छ भने ‘प्रसाद’ हेर्नयोग्य हुनसक्छ ।

रेटिङ : ४/५
निर्माता : सुवास थापा
निर्देशक : दिनेश राउत
पटकथा : सुशिल पौडेल
कास्ट : बिपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत
संगीत : सुवास भुषाल
सम्पादक : लोकेश बज्राचार्य
ब्याकग्राउन्ड स्कोर : शैलेश श्रेष्ठ
छायांकन : राजेश श्रेष्ठ
ब्यानर : सुवास थापा प्रोडक्सन

Share.

About Author

Leave A Reply