‘सयकडा दश’ निर्देशक लेख्छन् : बिक्छ भन्दैमा सबै नबेचौं

0

रामशरण पाठक
म एक चलचित्रकर्मी । करियर सुरु गरेका ति दिनहरु आज पनि म बेला-बेलामा सम्झिने गर्छु, जसले हरेक क्षण मलाई सिक्न प्रेरित गर्छन । ति दिनमा म काल्पनिक संसारमा नायकलाई हावामा उडाउने कुरा सोच्थे । ‘जे बिक्छ त्यही बेच्नु पर्छ’ भन्दै होड्बाजीको बजारमा म होमिएको थिएँ । बिस्तारै मलाई यस्तो अनुभूती हुन थाल्यो ‘जे बिक्छ भन्दैमा जे पनि बेच्न मिल्छ ? हुन्छ ?’

मलाई यस्तो लाग्न थाल्यो; भाषा नेपाली हुँदैमा वा नेपालमा बोलिने भाषामा बनाउँदैमा त्यो नेपाली सिनेमा हुँदैन । हुन्छ भने, दु:ख गरेर अनि पैसा खर्च गरेर किन सिनेमा बनाउनु ? हलिउड, बलिउड, कोरियन सिनेमा नेपाली भाषामा डब गरेर देखाए भै गयो नि ! साँच्चै हामीले विशुद्द नेपाली सिनेमा बनाउने हो भने यहीको कथा, ब्यथा, चरित्र, सुख, दु:ख हुनुपर्दछ अनि मात्र त्यो नेपाली सिनेमा हुन्छ भन्ने कुरामा म कन्भिन्स भएँ र यही बाटोमा काम गर्ने निर्णय गरेँ ।

त्यो बेला चलचित्र लेखकको रुपमा काम गरिरहेको मैले यस्ता कुराहरु सुनाउँदा केही निर्माता-निर्देशक त्यतिबेला मबाट टाढिनुभयो । त्यतिबेला म ब्यस्त लेखक तर १ वर्ष जति मैले कुनै काम पाईन । तरपनि मैले आफ्ना कुराहरु भनिरहेँ । यसैक्रममा, उत्तम खत्री र सुरज श्रेष्ठले मलाई चलचित्र ‘ठेगाना’ लेखन, निर्देशनको जिम्म दिनुभयो । दुर्भाग्य, थुप्रै पुरस्कारसहित चलचित्र विकास बोर्डले समेत विशेष चलचित्र घोषणा गर्दै राष्टिय चलचित्र महोत्सवमा समेत प्रदर्शन गरेको यो चलचित्रले राम्रो बजार पाउन सकेन, यथार्थमा बजारमा आउनै दिइएन भन्ने मेरो बुझाई छ ।

यही चलचित्रबाट प्रभावित भएर मलाई पुनः लेखक, निर्देशकको रुपमा काम गर्न प्रस्ताव आयो “वर्ल्ड कप ईन नेपाल”, यो पनि विशेष चलचित्र घोषित भयो । अन्तरास्ट्रिय बजारका बिभिन्न फेस्टिभलमा पनि गयो, आशा जाग्यो तर फेरी दुर्भाग्य ! स्वदेशमा चलेन । अचम्मको कुरा ! मेरो सोच अनुसार बनेका चलचित्रहरु चलिरहेका थिएनन तर मेकर भने म सँग काम गर्न खोजिरहनु भएको थियो । मिथिला शर्माको सिफारिसमा मलाई खोज्दै आउनु भएका आलोक नेम्वाङ्गसँग लेखकको रुपमा गरेको “अझै पनि” र मित्र सुदर्शन थापासँग लेखककै रुपमा काम गरेको “चन्खे शन्खे पन्खे”को पनि त्यही नतिजा भएपछि म अब मार्केटको लागि काम नगर्ने मनस्थितीमा पुगिसकेको थिएँ । तर, सुदर्शनजी ले फेरी पनि ‘प्रेमगीत’ लेखिदिन प्रस्ताव गर्नुभयो । सन्तोष सेनजीसँग भेट्दा उहाँ जुझारु लाग्यो । प्रस्ताव त मैले स्वीकारेँ तर, यो भनिन कि कमर्सियल मार्केटको लागी ‘प्रेमगीत’ मेरो अन्तिम चलचित्र हुन सक्छ ।

यसको पट्कथा लेखन सकेर म रज्जु प्रधान र उत्तम खत्रीसङ्ग शिक्षा मुलक चलचित्र “भरोसा छ तिम्रै” निर्माणमा जुटयौ । ‘प्रेमगीत’ हिट भएको सुन्दा म कुन अवस्थामा थिए म यहाँ शब्दमा बयान गर्न सक्दिन । हाम्रो संस्कार, संस्कृतिको प्रभाव, हाम्रो देशको सुन्दरता अनि प्रेमिल जोडिको कथामा बनेको चलचित्र ‘प्रेमगीत’को चर्चा आज पनि हुने गर्छ, सार्है खुसी लाग्छ । म, रज्जु प्रधान, उत्तम खत्री र सामाजिक अभियन्ता श्रद्देय दाजु किशोर सिंह शाही, हामी लघु चलचित्र “भरोसा छ तिम्रै” को प्रदर्शन गर्न आफै प्रोजेक्टर बोकेर देशभरीका बिभिन्न स्कुल कलेज पुगिरहेका थियौ ।

‘हामीले देश बिगार्यौ अब तिमीहरुले सपार्नुपर्छ’ भन्ने अभियान अनि आह्वान लिएर १ लाख बिध्यार्थीमाझ पुग्ने लक्ष्यसाथ हिँडेका हामीहरु लक्ष्यको नजिक थियौ । त्यहीबेला सन्तोष सेन जिले एउटा माहोलमा फिल्म हेर्नुभयो र मलाई लेखक, निर्देशकको रुपमा काम गर्न अफर गर्नुभयो ‘प्रेमगीत२’ मा । मैले सँधै-झै दोहोराएँ कि म नेपाल र नेपालीकै कथामा काम गर्न चाहन्छु । उहाँहरुले थाईल्यान्ड र नेपालको कथामा काम गर्ने योजना बनाईरहनुभएको रहेछ । मैले बर्मा जोडेर त्यस्लाई मौलिक बनाउने प्रयास गरे । अन्तत: ‘प्रेमगीत २’लाई सफलता मिल्यो । युवाले यति माया गरिदिनुभयो कि म सङ्ग शब्दहरु कम हुन्छन बयान गर्न । खाली यति भन्छु- धन्यवाद छ तपाई युवा लगायत सबैलाई जस्ले ‘प्रेमगीत २’लाई यति माया गरिदिनुभयो । म आज पनि त्यही बाटोमा छु । भाषा नेपाली हुँदैमा त्यो नेपाली चलचित्र हुँदैन”

अनि त्यही सोचमा छु ‘बिक्छ भन्दैमा जे पनि बेच्न हुदैन’ । साथीहरु, जिवन सिक्ने शिलशिला हो जस्तो लाग्छ मलाई । सिक्दै छु । सिक्दै गरेको मान्छेको कमीकमजोरी अबश्य पनि हुन्छन नि हैन र ! तर पनि इमान्दारिताका साथ काम गर्ने प्रयास गर्दै छु र गर्ने छु ।

लेखक माघ १८ गते रिलिज हुने फिल्म ‘सयकडा दश’का पटकथा लेखक एवं निर्देशक हुन् । उनलाई फेसबुकमा सोही नाममा पछ्याउन सकिन्छ ।

Share.

About Author

Leave A Reply