बदलिएको विश्व फिल्मबाट नेपालले के सिक्ने ?

0

विष्णु शर्मा
काठमाण्डौंबाटै नेटफिल्क्समा यसपटक ‘रोमा’ र ‘जंगल बुक २’ हेरियो । आशातित यी दुबै फिल्म नेपाली हलमा चाहिँ रिलिज हुनेछैनन् । पहुँच हुनेले नेटफिल्क्समा हेरिसकेर पनि समिक्षा गर्न भ्याइसके । ‘रोमा’ यसवर्ष धमाधम अवार्ड जितिरहेको र ‘जंगल बुक २’ जसको प्रिक्वेलले नेपाली बक्स अफिसमा डेढकरोड ग्रस कमायो । यसरी स्ट्रिमिङ साइटमा सःशुल्क मूल्य तिरेर फिल्म हेर्नु चाहिँ सामान्य परिघटना होइन । विश्व फिल्मको न्यारेटिभ अब यी प्रवृत्ति वरपर घुम्नेछ जसको बाछिटा काठमाडौंमा पोखिइसक्यो ।

यस आलेखको उद्देश्य विश्व फिल्मको भविष्य र गतिबारे चर्चा गर्नु हो । जसको आकार स्टुडियो र फिल्म हललाई नै चुनौति दिने स्ट्रिमिङ साइट कोर्दैछन् । अमेजन प्राइम र नेटफिल्क्स दबदबा भएको बेला केही साताअघि डिज्ने र फक्सले पनि स्ट्रिमिङ साइट लन्च गर्ने घोषणा गरे । डिज्नेले त नयाँवर्षदेखि नेटफिल्क्सबाट आफ्ना सबै फिल्म हटाउने जनाएको छ । उसले ‘स्टारवार्स’को आगामी संस्करणको प्रिमियर ‘डिज्ने प्लस’ नामक आफ्नो साइटबाट गर्ने समेत जनाउ दिएको छ ।

इन्टरनेटमा फिल्म हेर्दा सबैभन्दा धेरै टाउको दुःखाइ चाहिँ प्रदर्शकलाई छ । ब्लुमबर्ग रिपोर्टका अनुसार स्ट्रिमिङ प्रभावले गर्दा २०१७ मा अमेरिका र क्यानडामा दर्शकको मूभि एटेन्डेन्स सन् १९९२ यताकै कम थियो । सन् २०१८ मा हलमा फिल्म हेर्ने दर्शक संख्या ९ प्रतिशतले बढ्यो । यो अंकगणित विश्व फिल्मको इको–सिस्टमका लागि खतराको घन्टी हो । नेपालमा समेत नेटफिल्क्सबाट अमेरिकी र भारतीय फिल्म एवं सिरिज हेर्ने जमात तीव्ररुपमा बढ्दो छ ।

हलिउडी फिल्ममा अहिले भूगोल, लिंग, जात र वर्णको विविधता देखिँदैछ । ‘ब्ल्याक प्यान्थर’ र ‘क्रेजी रिच अफ एसियन्स’ डाइभर्सिटीका ठूला उत्पादन हुन् । सुरुमा फिल्म लिन डराएका हलिउड स्टुडियोले समेत यी दुईमा जोखिम लिएर लगानी गरे । सबै पात्र, कथ्य र भूगोल एसियाली खिचिएको ‘क्रेजी रिच अफ एसियन्स’ले विश्व बक्स अफिसमा २ सय ३८ मिलियन अमेरिकी डलर कमायो । अफ्रिकी अश्वेत सुपरहिरो रचना गरिएको मार्भल स्टुडियो वितरित ‘ब्ल्याक प्यान्थर’ले विश्व बक्सअफिसमा २१० मिलियन कमायो । यी दुबैले अस्करको आगामी संस्करणमा बाजी मार्ने अपेक्षा छ । टाइम म्यागजिनले ‘क्रेजी रिच अफ एसियन्स’माथि कभर स्टोरी लेख्दै ‘हलिउडको विनिर्माण’ भन्यो । नेपालमा समेत करोडमाथि ग्रस कमायो मल्टिप्लेक्सबाट ।

यी दुई फिल्मको प्रसिद्धीका केही सन्देश छन् । अब दर्शकलाई स्टेरियोटाइप र कुनै केन्द्रको न्यारेटिभ मनपर्न छाड्यो । उनीहरु पात्र र कथामा नवीनता र अलग स्वाद खोज्न थाले । अब लार्जर द्यान लाइफ हैन, कन्टेन्टमा आधारित मानवीय मूल्यका पटकथा दर्शकीय रोजाइमा पर्न थाले । बदलिएको यो गुरुत्वाकर्षणसँग पक्कै पनि ठूला स्टुडियो बेखबर चाहिँ छैनन् । उनीहरु अझै कन्टेन्ट लक्षित फिल्ममाथिको लगानीमा लाग्दैछन् ।

सन् २०१८ मा क्यालिफोर्निया युनिभर्सिटीले गरेको एक खोजलाई यहाँ उल्लेख गर्नु सान्दर्भिक हुनेछ । जसअनुसार श्वेत बहुल पात्रभन्दा विविधता पस्किएका फिल्मको कमाइ उच्च छ । सीमान्त पात्र चित्रण गरिएका २१ देखि ३० प्रतिशत फिल्मले विश्व बक्सअफिसमा उधुम मच्चाए । जब कि, ९० प्रतिशत श्वेत वर्णका पात्र राखिएका ३७ प्रतिशत फिल्म असफल रहे । अहिले ३.१ प्रतिशत एसियाली, १२ प्रतिशत अश्वेत र ७८ प्रतिशत श्वेत वर्णका कलाकार हलिउडमा सक्रिय छन् । डाइभर्सिटी प्रभाव विस्तारको गणित हो यो ।

तपाईंले आक्वाम्यान हेर्नुभयो भने त्यहाँ जेसन मोमावाको एउटा डायलग छ । भन्छन् : आइएम नट् किङ, आइएम हिरो (म राजा होइन, म नायक हुँ) । यो डायलग मात्र होइन, बरु एउटा बलियो विम्व हो जसले बदलिएको विश्व फिल्मको कन्टेन्ट र चरित्र चित्रणको ट्रेन्डलाई दर्शाउँछ । पछिल्लो समय हलिउडी सुपरहिरो फिल्ममा राजा कम र हिरो बढी हुन्छन् । स्क्रिप्ट लेखनदेखि नै नायकमा मानवीयता भर्न थालिएको छ अर्थात उनीहरुलाई आफू मान्छे हुँ र आफूमा भावना हुन्छ भन्ने बोध गराउन थालिएको छ । प्रविधि र पैसा बगाउने हलिउडले यो यथार्थ आत्मसात गरेको बेला नेपाली फिल्म भने लार्जर द्यान लाइफ र स्टारडमको बलिउड सपना पछ्याउँदै छ । यसले हरेक शाष्त्रको केन्द्रमा मान्छे हुन्छ भन्ने यथार्थलाई अस्वीकार गर्छ । हरेक सुपरहिरो मान्छे हो, ऊ एकदिन सकिन्छ र उसको शक्ति सीमित हुन्छ भन्ने पात्रात्मक विशेषतालाई सम्भवतः जीवनभन्दा ठूलो फिल्म बनाउनेहरु स्वीकार्दैनन् ।

यस्तो लाग्दैछ, हलिउड इस्केप्टिक दर्शन छाड्दैछ । भारत र नेपाल उक्त दर्शन पछ्याउँदैछन् । पछिल्लो समय बनिरहेका नेपाली फिल्म अवसाद मनोविज्ञानका प्रमाण हुन् जससँग समाजको कुनैखाले अपेक्षा र उत्पादनशिलता हुँदैन । अवसाद मनोविज्ञानमा निर्माण गरिएका इस्केप्टिक फिल्मले कस्ता दर्शक जन्माउँदैछन् भन्ने चिन्ता अहिलेको हो । यसले स्वभाविकरुपमा सिनेम्याटिक लिट्रेसीको मुहानलाई धमिलो बनाइरहेको छ । तर, केही यस्ता आशातित फिल्म छन् जसले समाजकै गतिमा आफूलाई अगाडि बढाउँदैछन् ।

समाज र पात्रसँग अन्तक्रिया गर्ने खालका फिल्म बनाउन मान्छेकै प्राण भर्नु जरुरी हुन्छ । फिल्म निर्माण पनि शरिर र आत्माबीचको एउटा द्धन्द्ध हो । सम्भवतः यही निष्कर्षले हुनुपर्छ जेम्स क्यामरुन अवतारका पछिल्ला चार सिक्वेलमा आत्माको खोजी गर्दैछन् । उनले आगामी महिना रिलिज हुने ‘एलिटा : ब्याटल अफ एन्जल्स’लाई त्यसको वार्मअपका रुपमा लिएका छन् । उनको भनाईमा एलिटा अवतारकै कुनै एउटा सेटिङ हो । नेपाली फिल्ममा समिक्षकको एउटै भनाइ हुने गर्छ : आवरण भयो, आत्मा भएन । यी दुईलाई सन्तुलन मिलाउने प्रयत्न गरौं ।

भविष्य हुन वर्तमान हुनुपर्छ । तर, नेपाली फिल्मसँग वर्तमान छैन । यो संरचनागत भ्याकुममा आगामी वर्ष विदेशी फिल्म (भारत र अमेरिका)ले फाइदा उठाउनेछन् । हलिउड प्रभाव अझ बढ्नेछ । वर्ष २०१८ को कूल तथ्यांक हेर्दा नेपालमा हिन्दीभन्दा अंग्रेजी फिल्मको रिभेन्यु लगभग उच्च छ । यसको स्पष्ट सन्देश हो, हलिउड अब नेपाली फिल्म बजारको नयाँ खेलाडी । भेनम, क्रेजी रिच अफ एसियन्स, बोहिम्यान र्‍याप्सोडीले नेपाली हलबाटै करोडभन्दा बढी कमाए । तर, बलिउडका ठूला स्टार तासको घरजस्तै ढले । बक्सअफिस समीकरण उल्टियो ।

किनभने, करोड कमाउने हलिउडका तीनैवटा फिल्म मान्छेसँग गाँसिएका थिए । जसमा विविधता थियो । दर्शकले पात्र र संघर्ष परख गरे अनि अपनत्व पनि । तर, आमिर, शाहरुख र सलमानका ठूलै फिल्ममा आवरण त थिए तर आत्मा थिएन । यो स्पष्ट चित्रको साक्षी चाहिँ नेपाली फिल्म बन्यो । उसले प्रयत्न त गर्‍यो तर परिक्षामा पास भएन । सँधैझैं पटकथामा ऊ असफल बन्यो । उसले कहिल्यै पनि फिल्म बौद्धिक र साहित्यिक उत्पादन हो भन्ने आधारभूत पक्षलाई स्वीकारेन । उसका लागि पंचलाइन, जोक्स, क्यामेरा र रिलिज नियमित आकस्मिता बने ।

विश्व फिल्मको गुरुत्वाकर्षण अहिले एसियातर्फ अग्रसर छ । अमेरिका र युरोपले एसियामा बजारको खोजी गर्दैछन् । फलस्वरुप पात्र र कन्टेन्टमा ब्यापक परिवर्तन आउन थालेको छ । चिनियाँ धनाढ्यको लगानी हलिउड स्टुडियोमा हुन थाल्नु र ज्वाइन्ट भेन्चरमा फिल्म बन्न थाल्नु संकेत हुन् । अहिले चीन र भारतका कलाकार र कथालाई हलिउडले टिप्न थालेको छ । मार्भलले डक्टर स्ट्रेन्ज काठमाडौंमा सुट गर्‍यो । भारतीय फिल्म चीनमा रिलिज हुन थालेका छन् । चीन रिलिजबिना हलिउडको लगानी उठ्दैन । मार्भलले गतमहिना क्रिस हेम्सवर्थ स्टारर सुपरहिरो फिल्म छायांकन भारतमा गर्‍यो । हलिउडका लागि बजार, हाम्रा लागि खुल्ने मौका । पूर्वीय दर्शन निकट भैरहेको हलिउड कन्टेन्ट हाम्रा लागि महत्वपूर्ण छ ।

यसको सामाजिक र मनोवैज्ञानिक प्रभाव नेपाली दर्शकमा पर्नेतर्फ हामीले सोच्नु जरुरी छ । पछिल्लो समय विदेशी फिल्मका नेपाली वितरक धमाधम वृद्धि हुनु, विदेशी फिल्मको रिभेन्यु उच्च हुनु र मल्टिप्लेक्सले यी फिल्मलाई प्राथमिकता दिनु यसका संकेत हुन् । के नेपाली फिल्म बढ्दो चुनौतिसँग लड्न तयार छ ?

अन्नपूर्ण पोस्टबाट साभार

Share.

About Author

Leave A Reply