फिल्म समिक्षा : दर्पण छायाँ २

0

विष्णु शर्मा
१६ वर्ष बितिसक्यो ‘दर्पण छायाँ’ रिलिज भएको । यसबीच नेपाली सिनेमा ठूला परिवर्तनको साक्षी बन्यो । ‘दर्पण छायाँ २’ रिलिज भएको छ र तुलसी घिमिरे सम्भवतः आफ्नो फिल्म पाठशालाको अस्तित्व जोगाउन अन्तिम लडाइ लड्दैछन् ।

त्यो पाठशाला जसलाई प्रकाश थापाले रोपे, बीएस थापा र तुलसी घिमिरेले मलजल गरे । यो स्कुलले सन् ७० र ८०को बम्बैया फिल्मको दर्शन पछ्याउँछ । जीवनसँग धेरै रङहरु छन् भन्छ । तुलसी घिमिरे यो दर्शनका पछिल्ला हिमायती हुन् । ‘दर्पण छायाँ २’ उक्त मनोविज्ञानको उपज हो ।

२ घन्टा ३१ मिनेट लम्बाईको ‘दर्पण छायाँ २’ आख्यान संरचनामा छैन । सिनेमा निर्माणको आधारभूत जग, ब्याकरण र सोच नै संरचनामा नभएपछि उक्त उत्पादन क्यामेराले खिचिएको दृश्य मोन्टाज बन्नपुग्छ । अर्थात, आत्मा गुमाएको आवरण । तुलसी घिमिरे नियतमा चुके वा क्षमतामा ? यो उनैले जानून, तर उनी आफ्नो स्कुलिङलाई स्थापित गर्न मजाले चुके ।

निर्देशक एवं पटकथा लेखक के भन्न चाहन्छन् ? दर्पण छायाँ २ कसको कथा हो ? निर्देशकीय अभिव्यक्ति के हो ? भन्ने सरल प्रश्नबाट फिल्म अनुत्तरित छ । द्धन्द्ध नै स्थापित नभएपछि पात्र, लक्ष्य, संवेदना, संघर्ष स्थापित हुने कुरै भएन । म्युजिकल ड्रामा भनेर निर्देशकले दाबी गरेपनि केन्द्रिय द्धन्द्धसँग यसको साइनो पटक्कै छैन । पहिलो कुरा त, लक्ष्य नै परिभाषित छैन । पात्र डिफाइन छैन । कहाँ चुके तुलसी घिमिरे ?

फिल्मको केन्द्रिय द्धन्द्ध रोगको कथा हो ? त्रिकोणात्मक प्रेमको कथा हो ? संगीतिक लक्ष्यको कथा हो ? बदलाको कथा हो ? पाका सर्जकको ट्रिब्युटको कथा हो ? वा सेक्सोफोन पाउनु नै हो ? मुख्य लक्ष्यबाट फिल्म पुरै छिन्नभिन्न छ । अन्यौल सोचको अन्यौल उत्पादन हो दर्पण छायाँ २ जसको पटकथा ध्वस्त छ । पात्र नै पहिचान नभएपछि कुन तत्वबीच द्धन्द्ध स्थापना हुन्छ ? द्धन्द्धको नियम फिक्सन संरचनामा कसरी स्थापित गर्ने ?

यदि आलप (पुष्पल) पात्र ढाडकै बिरामी हो भने के नेपालमा बोन ट्रान्सप्लान्ट नभएकै हो त ? के नेपालको चिकित्सा क्षेत्र यति कमजोर छ जसलाई स्थापित गर्न अमेरिकन ड्रीम्स नै देखाउनुपर्ने हो ? गोर्खाल्यान्ड पक्षपति तुलसी घिमिरे किन दर्पण छायाँ २ मा यतिविधि अमेरिकन ड्रीम्सको वकालत गर्दैछन् ? सम्भवतः स्कुलिङ र यथार्थबीचको रस्साकस्सी घिमिरेको न्यारेटिभमा अन्यौल छ ।

प्रिक्वेलमा दृष्टिविहिन पात्र उत्तम प्रधान सिक्वेलमा कसरी आँखा देख्न सक्ने भयो ? सिनेमा लिबर्टीको स्वतन्त्रता छ भन्दैमा पात्रको स्वरुप नै बदलिदिनुु तर्कसंगत लाग्दैन । मुख्य कलाकार सबै नयाँ छन् । कसैमा पनि अभिनयको सुक्ष्मता महसुस हुँदैन । नाट्य संरचनामा अभिनयकर्ताले आफूलाई रुपान्तरण गर्न सकेका छैनन् । अभिनय कमजोर लाग्छ । आगत पात्र पुष्पल थ्री एक्टमा फिट छैनन् । निशा अर्थात श्रद्धा प्रसाइँ लाउड लाग्छिन् तर इन्स्टिङ्ट र संवेदना महसुस हुँदैन । सरगम अर्थात सहारा कार्कीमा ऊर्जा त छ तर सुक्ष्मता छैन ।

तुलसी घिमिरेका उपदेशले थिचिएको छ संवाद । जसलाई वाचन गर्न कलाकारलाई लगाइन्छ जहाँ प्राकृतिकताभन्दा कृत्रिमता महसुस हुन्छ । अर्को शब्दमा दर्पण छायाँ २ रेडियो ड्रामा हो । सेकेन्ड पिच्छे बोल्न लगाइनु र दर्शकलाई सेकेन्ड पनि सोच्ने समय नदिनु निर्देशकीय कमजोरी हो । अर्थात, दर्पण छायाँ २ फिल्मभन्दा बढी निर्देशक घिमिरेको सोच र महत्वाकाङ्क्षा हो । यसले गर्दा १६ वर्ष अगाडिको स्तरिय सिनेमाको सिक्वेल राम्रो बन्न चुकेको छ । एक वाक्यमा दर्पण छायाँ २ कमजोर पटकथाको उत्पादन हो । फिल्भन्दा बढ्ता सोच । सबै सोचले फिल्मकै आकार पाउँछन् भन्ने पनि होइन ।

रेटिङ : १/५
निर्देशक एवं पटकथा : तुलसी घिमिरे
कास्ट : पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाइँ
अवधि : २ घन्टा ३१ मिनेट

Share.

About Author

Leave A Reply