‘छक्का पञ्जा २’ दुरुस्तै रि-रिलिज नहुने, यस्ता छन् नयाँ फेरबदल

0

‘छक्का पञ्जा २’ बैशाख १३ मा पुनः रिलिज हुँदैछ । मूभिमान्डुसँग कुरा गर्दै निर्माता एवं अभिनेता दीपकराज गिरीले दुरुस्तै रि–रिलिज नगरिने बताए । अहिले पुनःसम्पादन भैरहेको छ ।

‘दुरुस्तै फिल्म पुनः रिलिज हुनेछैन । दर्शकले पुरानै फिल्म हेरेजस्तो महसुस गर्नुपर्दैन । दृश्य, संवाद र प्लट नयाँ थपिएको छ । मध्यान्तरपछि दर्शकले आधा फिल्म नयाँ पाउनुहुनेछ र लम्बाइ २ घन्टा १५ मिनेट जति पुगेको छ’ गिरीले भने ।

हल संचालक र कतिपय दर्शकको मागपछि पुनः रिलिज गर्न लागिएको उनले जनाए । फिल्मलाई युट्युव रिलिज नगर्ने बरु सःशुल्क स्ट्रिमिङ साइटमा प्रिमियर गर्नेतर्फ उनले संकेत गरे ।

नेपालमा समेत कतिपय परिस्थितीमा पुनः रिलिजको प्रवृति बढेको छ । अस्कर अवार्डमा सिफारिस भएपछि सेतो सूर्य र कालोपोथी पुनः रिलिज भएका थिए । झन्डै २० करोड कमाएको छक्का पञ्जाको दोस्रो श्रृंखला पुनः रिलिज हुनेछ ।

गिरी यतिबेला एक नयाँ फिल्मको पटकथा लेखनमा व्यस्त छन् । ‘सम्भवतः आगामी बैशाख अन्त्यदेखि छायांकनमा जाने तयारीमा छौं’ उनले भने, ‘कथावस्तुबारे निर्देशकलाई पनि भनेको छैन । यतिबेल म एक्लै लेखनमा व्यस्त छु ।’

Share.

About Author

Leave A Reply