सम्पादकीय : कोटा प्रणाली हैन, नेपाली फिल्मलाई प्रतिस्पर्धी बनाऊँ

0

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराईले सकारात्मक विभेद नीति अवलम्बन गर्दै विदेशी फिल्मलाई कोटा प्रणालीबाट नियमन गर्न सकिने बताएका छन् । उनले स्वदेशी फिल्मको रक्षा गर्न विदेशी फिल्मलाई सकारात्मक विभेद गर्न सकिने समेत बताए ।

उनले घुमाउरो ढंगले विदेशी फिल्मलाई ‘नियन्त्रण’ गरिने संकेत दिएका छन् । अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्न सामाजिक संजाल दर्ता गर्नुपर्ने, विज्ञापनमा कडाइ गर्ने र विद्युतीय संचार नियमावली ल्याउने जस्ता सरकारी कदमले आलोचना खेपिरहेका बेला भट्टराईको यस्तो अभिव्यक्ति आएको छ ।

उनले नेपाली फिल्मको रक्षा गर्नको लागि भनेर तर्क प्रस्तुत त गरेका छन् तर, नेपाली फिल्मको रक्षा कसरी हुन्छ भन्ने तर्फ ध्यान दिएका छैनन् । फिल्म नीतिको प्रस्तावित मस्यौदामा पनि सकारात्मक विभेदको कुरा त उठेको छ तर, यसबारे यादव खरेललाई प्राप्त सुझावलाई नोट गर्ने काम कसैले गरेको छैन ।

अहिले नेपाली फिल्मको रक्षा ‘विदेशी फिल्मलाई कसिने लगाम’बाट होइन, फिल्मलाई दृश्यभाषाको रुपमा बुझ्ने नसक्ने नेपाली निर्देशकीय सोचभित्र खोज्नु जरुरी छ । समस्या हामी आफूभित्रै हो, विदेशी फिल्म होइन । हामी स्वयमले फिल्मलाई एकेडेमिक र बजार सिद्धान्तबाट पर धकेलिरहेका छौं । विश्व बजारमा हामी प्रतिस्पर्धी बन्नु नितान्त जरुरी छ । यतिबेला राज्यको दयामायाको खाँचो होइन । नेपाली फिल्मलाई प्रतिस्पर्धी तुल्याएर विदेशी बजारमा फिल्म बेच्न योग्य उत्पादन सिर्जना गरिनु अहिलेको खाँचो हो ।

विदेशी फिल्म नेपाली बजार, ब्याकरण र दृष्टिकोणका लागि सहायक हो, दुस्मन होइन । विदेशी फिल्मलाई दोष देखाएर आफू उम्कन खोज्नु उचित हुँदैन । हलिउड फिल्मको सांस्कृतिक प्रभुत्वबाट घरेलु फिल्मलाई जोगाउन युरोप, एसिया, र चीनले कोटा प्रणाली लागु गरे । कतिपय मुलुकले विस्तारै कोटा प्रणाली छाड्दैछन् । खुला बजार अर्थनीति अंगालेको नेपालले नियमनको नीति नभएर विश्व बजारमा समेत मक्किइसकेको कोटा प्रणालीलाई पुनःजीवन दिन्छु भन्नु सान्दर्भिक नहुन सक्छ । हामी आफू स्वयम प्रतिस्पर्धी बन्ने हो जसका लागि फिल्म बुझ्ने मस्तिष्क, मन र सोच जरुरी हुन्छ । विश्व फिल्म हलबाट डिजिटाइजतर्फ उन्मुख भैरहेको बेला यस्तो तर्क उचित नहुन सक्छ ।

विष्णु शर्मा
मूभिमान्डु डटकम

Share.

About Author

Leave A Reply