वर्ष फिल्म समिक्षा : ९३ फिल्म हेरेपछि

0

विष्णु शर्मा
अंग्रेजीमा एउटा शब्द छ : अब्जरडिटी । नेपालीकरण गर्दा शाब्दिक अर्थ ‘अवसाद’ हुन आउँछ । अब्जरडिटी दर्शनले यसलाई अझै सजिलोसँग ब्याख्या गरिदिएको छ : कारण–प्रभावमा होइन, भाग्यमा विश्वास गर्ने । यहाँ उक्त शब्दको चर्चा गर्नुको अर्थ वर्ष २०७५ मा नेपाली फिल्मको प्रवृत्ति र बजार सिंहावलोकन गर्नु हो । ‘अब्जरडिटी’ शब्द वरपर नेपाली फिल्मको मनोविज्ञान घुम्यो गतवर्ष । जुन नेपाली फिल्मको वर्तमान चरित्र हो ।

चरित्र संश्लेषण गर्नुअघि वर्ष २०७५ को नेपाली फिल्मको गणित बुझौं । यसवर्ष कूल ९३ फिचर फिल्म रिलिज भए । एउटा फिल्मलाई औषत ७० लाख लगानी मान्दा वार्षिक लगानी ६३ करोडमाथि हुन आउँछ । कूल रिलिजमध्ये दर्जन कम घरेलु फिल्मले लगानी उठाए र बाँकी टाइटानिक जहाजजस्तै डुबे । ‘छक्का पञ्जा ३’को २० करोडलाई सर्वाधिक ग्रसर मान्दा बजार आयतन १ सय ८ करोड सालाखाला हुन आउँछ ।

क्यूएफएक्सको वर्तमान टिकट दरअनुसार ‘छक्का पञ्जा ३’लाई ८ लाख दर्शकले हलमा हेरे । यो हेराई मुलुकको कूल जनसंख्याको अनुमानित २.४ प्रतिशत हो । वर्ष २०७५ मा ७० भन्दा बढी विदेशी फिल्म (हलिउड र बलिउड) रिलिज भए । जसमा ४ हलिउड फिल्मले १ करोडमाथिको ग्रस कारोबार गर्नु सामान्य होइन । कथ्य र प्रस्तुतिमा ताजा भारतीय र अमेरिकी फिल्म रामै्र चले । टिकट झ्यालमा स्टार भर्सेस स्टोरीको यो एउटा सजिव द्धन्द्ध थियो ।

काठमाडौं र मुलुकको दोस्रो ठूलोे फिल्म बजार पोखराको वर्ष २०७४ मध्यदेखि २०७५ लगभग अन्त्यसम्म गरिएको संश्लेषित एउटा तथ्यांकको निष्कर्ष रोचक छ । जसले नेपाली फिल्मलाई आशा संचार गर्छ । जसअनुसार यस अवधिमा ४८ प्रतिशत दर्शकले नेपाली, ३७ प्रतिशतले भारतीय र १५ प्रतिशतले अंग्रेजी फिल्म हरेका थिए । यस गणितका दुई निष्कर्ष छन् : नेपाली फिल्मको बजार उम्दा छ र विदेशी फिल्म पछिल्लो समय घरेलु फिल्मलाई बजार चुनौतिको रुपमा उभिएको छ ।

अब कस्ता फिल्म रिलिज भए भन्ने प्रवृत्तिको विश्लेषण गरौं । ‘अवसाद’ दर्शन वरपर वर्ष २०७५ ले फन्को मार्‍यो, उक्त घर्षण वर्ष २०७६ मा अझ गाढा बन्ने विश्वास गर्न सकिन्छ । ‘अब्जरडिटी’ शब्दसँग केही वाक्य गाँसिएर आउँछन् जुन नेपाली फिल्मको वर्तमान चरित्र हो । कूल रिलिज ९३ फिल्मको केन्द्रिय प्रवृत्ति पलायन, भाग्य, पुँजी, फेन्टासी, प्रशंसा, अर्थविहिन कमेडी एवं जोक्स, लार्जर द्यान लाइफ रहे ।

यो प्रवृत्तिले विवेक, आलोचना, प्रश्न, अनुसन्धानलाई निषेध गर्छ । पूजा रुचाउँछ र सिर्जनशिलताको ढोका बन्द गरिदिन्छ । समिक्षकको भनाई अनुसार नेपाली फिल्मको मूलधार यस प्रवृत्तिलाई काँधमा बोकेर बुर्कुसी मारिरहेको छ । ‘छक्का पञ्जा ३’ अवसाद मनोविज्ञानको उत्कर्ष हो र दालभात–तरकारी, शत्रु गते संक्षिप्त उदाहरण हुन् । सशक्त धक्का नभएसम्म यस चिन्तनले नेपाली दृश्यभाषा, मनोविज्ञान, दर्शकीय टेस्ट र बजारलाई पूर्णतः कब्जामा राख्ने निश्चित छ ।

अब चरित्र चित्रण र पात्र चर्चा गरौं जसले नेपाली समाजको मुड र हैसियत बुझ्न मद्दत गर्छ । कूल रिलिजको ९५ प्रतिशत फिल्मको केन्द्रिय द्धन्द्धमा केटा–केटी सम्बन्ध छ । बुलबुल, प्रसाद र भोर (नारी सशक्तिकरण), छक्का पञ्जा ३ (शिक्षा), साइँली (वैदेशिक रोजगार), क्याप्टेन र डमरुको डन्डिबियोँ (खेल), कथा ७२ (संवेदना), सयकडा दश (सदाचार), खाग र हरि (इमान्दारिता), द म्यान फ्रम काठमाण्डू (धार्मिक सहिष्णुता)माथि भिन्न अप्रोचसहित रिलिज भए र प्रशंसा बटुले ।

रिलिज अधिकांश फिल्ममा चित्रण गरिएका पात्र पुलिस, चोर, फटाहा, डन, दलाल, गुन्डा, बलात्कारी, हिंसात्मक र लडाकु छन् । निकै कमले मात्र आदर्शवान नायकत्व, मजदुर, शिक्षक, बैज्ञानिक, खेलाडी र समाज सुधारक चित्रण गरे । फिल्मले जस्ता पात्र चित्रण गर्छ, निर्माता र निर्देशक बाँचेको समाजको चरित्र पनि यस्तै हुन्छ भन्ने अर्थमा यसलाई बुझ्नुपर्छ ।

किनभने यतिबेला समाजले फिल्मलाई निर्देशित गर्दैछ । समाजमा यस्ता पात्रको उपस्थिती बलशाली मात्र हैन, केन्द्रिय राजनीतिमा यो प्रवृत्तिको हालिमुहाली छ । नेपाली फिल्मले समाजभन्दा एक स्टेप अगाडि बढेर आदर्श पात्र निर्माणमा रुचि देखाएन । अहिले पनि चोर, फटाहा र पुलिस पात्र सान्दर्भिक भैरहनु बदलिएको समाजको आकांक्षासामु ठूलो प्रश्न चिन्ह हो ।

वर्ष २०७५ सम्म आइपुग्दा सफलताका दुई मानक रहे फिल्ममा । समिक्षकले रुचाएका फिल्म बक्सअफिसमा चलेनन् या दर्शकले रुचाएका फिल्म बक्सअफिसमा हिट रहे । ‘छक्का पञ्जा ३’ले बजार अर्थतन्त्रको इको–सिस्टमलाई सन्तुलनमा राख्ने प्रयत्न ग¥यो । कलाभन्दा कमोडिटिज अवधारणाले निर्माण गरिने बहुसंख्यक फिल्म असफल रहे । सबैमा ‘सिर्जनात्मक गरिबी’को साझा सेटब्याक देखियो । हामी पटकथामा चुक्यौं । समाजसँग गाँसिन सकेनौं । हाम्रा लागि फिल्म पैसा छाप्ने मेसिन बन्यो । हामी समाज र फिल्मबीच एकेडेमिक पुल बन्न सकेनौं ।

विश्व फिल्मको बाछिटाबाट नेपाल अछुतो रहने कुरै भएन । नेपाली फिल्मले वर्षमा गरेको कमाइको दुई गुणा पैसा विदेशी फिल्मले लगे । कन्टेन्टमा विविधिता मानिएका क्रेजी रिच एसियन्स, ब्ल्याक प्यान्थर, आक्वाम्यान र बोहिम्यान र्‍याप्सोडीले बक्सअफिसमा करोड कमाउनुसँग नेपालमा हलिउडको प्रभाव स्पष्ट छ । हलिउड डाइभर्सिटीका यी ठूला उत्पादनसँग टाइम म्यागजिनले लेखेजस्तै ‘विश्व फिल्मको विनिर्माण’को सन्देश जोडिएको छ । जसको अर्थ हो : अब लार्जर द्यान लाइफ हैन, कन्टेन्टमा आधारित मानवीय मूल्यका पटकथा नेपालले छान्नुपर्छ ।

नेपाली फिल्मसँग स्पष्ट वर्तमान छैन । यो संरचनागत भ्याकुममा आगामी वर्ष विदेशी फिल्म (भारत र अमेरिका)ले फाइदा उठाउन सक्नेछन् । हलिउड प्रभाव अझ बढ्न सक्छ । यसवर्ष मोफसलका १३ हलमा थ्रीडी प्रविधि जडान भयो, जसको सीधा अर्थ हो, हलिउड अब नेपाली फिल्म बजारको नयाँ खेलाडी हो । तर, बलिउड स्टारका फिल्म तासको घरजस्तै ढले काठमाडौंमा । बक्सअफिस समिकरण उल्टियो ।

डिजिटल प्रभुत्व यतिबेला विश्व फिल्मको यथार्थ हो । नेटफिल्क्स र डिज्ने प्लसजस्ता ठूला स्ट्रिमिङ साइटको प्रभाव बलशाली छ । नेपालमा नेटफिल्क्स प्रभाव वर्ष २०७५मा बढेको छ । हलमा रिलिज नहुने ठूला हलिउड फिल्म नेपालबाटै हेर्न सकिनु, आइफिल्क्स र डीस होमले सेवा विस्तार गर्नु र नेपाली वितरकले फिल्म स्ट्रिमिङका लागि भारतीय नेटफिल्क्ससँग डेलिगेसन जानु सामान्य परिघटना होइनन । विश्व फिल्मको गुरुत्वाकर्षणबाट नेपाल अछुतो छैन भन्ने यथार्थ हो । सीधै हललाई चुनौति दिने स्ट्रिमिङ सेवाको अभ्यास काठमाडौंमा सुरु भैसकेको छ ।

वर्तमान विन्दुसम्म आइपुग्दा नेपाली फिल्मले आफूलाई साहित्यिक उत्पादनको रुपमा स्वीकार गरेन जुन ‘मुख्य समस्या’ हो । फिल्मलाई बौद्धिक र प्राज्ञिक उत्पादनको रुपमा नलिँदासम्म कार्ल माक्र्सले भनेअनुसार संख्याले गुण दिँदैन । तर, हामीकहाँ ‘एन्टी–थेसिस’ भैरहेको छ, संख्या टन्नै हुँदा पनि गुण छैन । बक्सअफिस सफलता प्राविधिक पक्ष हो तर, क्राफ्टमा हामी कमजोर छौं भन्ने पुष्टि यस वर्षको चित्रले गर्छ । वर्षमा हेरिएका सबै फिल्मको समस्या लेख्य साहित्यमै थियो । लेख्यपछि बल्ल दृश्य साहित्य निर्माण हुने हो । जसले गर्दा थ्रेट बजार होइन, फिल्म लिट्रेसी हो । आवरण होइन, आत्माको खोजी जरुरी हो ।

आशावादी हुनुको उपाय हामीसँग छैन । यतिबेला फिल्म मेकिङको एउटा तप्का गम्भिर हुँदै काममा लागिरहेको छ । वर्ष २०७६ मा फिल्ममा केही नयाँ काम हुनेछन् जसले सिनेम्याटिक संचारलाई सशक्त तुल्याउन सक्छन् । ती हुन् –दोख, सल्लीपिर, होल टाइमर्स, चिसो वर्षा, हिँडेर अमेरिका, गुडबाइ काठमाण्डू, रेड फल्लुज । हलिउड र बलिउड मनोविज्ञान विच्छेदतर्फको यो सुखद अवसर हो । यी फिल्मको संरचना युरोपेली मोडलबाट प्रभावित हुनेछन् । जसको अर्थ पर्दामा स्टारभन्दा पात्र सशक्त हुनु हो र दृश्य भाषाको खोजी गर्नु हो ।

आउने वर्ष रिलिज हुने फिल्मले नेपाली समाज कति डेमोक्र्याटिक छ भन्ने कुराको नाडी छाम्नेछन् । किनभने वर्तमान सरकार अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार बन्दैछ । यतिबेला सरकारी निकाय चलचित्र विकास बोर्डको मुख्य उद्देश्य फिल्म नीतिलाई लागु गर्नु र कानुन बनाउनु हो । तर, राज्यले नै यसवर्ष चैतमा आयोजना गरेको लगानी सम्मेलनमा अर्थमन्त्रीद्धारा प्रस्तुत २५ मिलियन डलर (झन्डै १ अर्ब) लागतको फिल्म सिटी दाताबाट उपेक्षाको शिकार बन्नु विडम्वना हो ।

अर्कोतर्फ, वर्ष २०७६मा जातजाति र क्षेत्रीय फिल्म निर्माण ट्रेन्ड बढ्नेछ । पोखरामा गुरुङ फिल्मको उदय बलियो हुनसक्छ । वर्ष २०७५ को अन्त्यदेखि केही गुरुङ फिल्मले नेपाली फिल्मलाई चुनौति दिँदै व्यवसायिक रिलिज थालेका छन् । डकुमेन्ट्री र इन–डिपेन्डेन्ट फिल्म निर्माणको संख्या बढ्नेछ किनभने लोकार्नो, भेनिस, बुसान लगायतका फेस्टिभलले नेपाल ओपन डोर्सको थालनी गरेका छन् । बर्लिन, टोरन्टो, सनडान्स र कान्स फेस्टिभलमा नेपालको उपस्थिती सुखद हुनसक्छ ।

तरपनि, वर्ष २०७६मा नेपाली फिल्म ‘अवसाद’ न्यारेटिभबाट मुक्त हुन्छ वा हुँदैन, हलिउड र बलिउडबाट आयातित ‘हेजेमोनी’लाई फन्को मार्छ वा तीसँग सम्बन्ध विच्छेद गर्छ, यस उत्तरभित्र भविष्य लुकेको छ ।

साभार : कान्तिपुर साप्ताहिक
स्केच : सुमित, अन्नपूर्ण फुर्सद

Share.

About Author

Leave A Reply