‘छ माया छपक्कै’ निर्माण घोषणा : को-को छन् कास्ट र क्रिउ ?

0

फिल्म ‘छ माया छपक्कै’को औपचारिक निर्माण घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित प्रेसमिटमा ‘छक्का पञ्जा’ निर्माता कम्पनीले फिल्म बनाउने जनाएको हो ।

दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारीको मुख्य भूमिका हुने भएको छ । फिल्मलाई आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आइएमइले मिलेर निर्माण गर्ने भएका छन् ।

चारैजना कलाकारले ‘एक्सन–कट्’का लागि कमेडीले भरिपूर्ण छोटो अभिनय कला प्रस्तुत गरेका थिए । अनस्क्रिन रोमान्स गर्न लागेका दीपक र केकी पात्र लुक्समै देखिए । दीपक नीलो सर्ट र कालो पाइन्टमा सेतो छड्के झोला भिरेको लुक्समा देखिए भने केकी ब्लु पहिरन र पेन्सिल हिल पहिरनमा ।

दीपाश्री निरौलालाई निर्देशन सल्लाहकारको रुपमा चिनाइएको छ । प्रेसमिटमा सहभागि सबैले निर्देशक–निर्माता सम्बन्ध, बजार, कथावस्तु, सिर्जनात्मक हस्तक्षेप लगायतका प्रश्नको सामना गरे ।

निर्देशक लामाले ‘छ माया छपक्कै’लाई दीपकराज गिरीको अघिल्लो फिल्म ‘छक्का पञ्जा’को अर्को संस्करण नभएको बताए । ‘पक्कै पनि छक्का पञ्जा होइन, यसमा सामाजिक कथावस्तुसहित नयाँपन छ’ उनले भने, ‘दर्शकले नयाँ टेस्ट प्राप्त गर्नुहुनेछ ।’ निर्माता एवं अभिनेता गिरीले निर्देशक र आफूबीच फिल्मलाई हेर्ने दृष्टिकोणमा भिन्नता भएपनि संरचना र क्राफ्टमा भने मतैक्यता रहेको बताए । फिल्मले अझै बढी व्यापार गर्ने दाबी दीपकको थियो ।

निर्देशक हुँदाहुँदै निर्देशन सल्लाहकार किन जरुरी देखियो भने एक जिज्ञासामा गिरीले भने, ‘दीपेन्द्रजीलाई सेरेमोनियल निर्देशक बनाउने कुनै सोच छैन । सबै मिलेर गर्न लागेका हौं ।’

फिल्मको बजेट २ करोड र सबै लगानी रोहित अधिकारी फिल्मसको हुनेछ भने नाफाको ६० प्रतिशत दीपक–दीपाले लिनेछन् । ओभरसिज राइट समेत दीपकराज गिरीले लिएका छन् । ‘रोहितजीलाई घाटामा लगेर एकसुको पनि लिँदैनौं’ गिरीले आश्वस्त पार्ने प्रयास गरे ।

जेठ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्ममा जितु नेपाल, माग्ने बुढा लगायतका अन्य कलाकार पनि सहायक निर्माताको रुपमा छन् । आगामी दशैंमा रिलिज लक्ष्य राखिएको छ ।

Share.

About Author

Leave A Reply