देश फर्किएर इमान्दारिताको दाल भात तरकारी खाऊँ : हरिवंश आचार्यसँग एकछिन

0

हरिवंश आचार्यसँग नेपाली फिल्मको इतिहास र वर्तमान गाँसिन्छ । शुक्रबार उनी अभिनित र निर्मित ‘दाल भात तरकारी’ देशभर रिलिज हुँदैछ । आर्थिक विकासतर्फ अग्रसर गणतन्त्र नेपालको मुख्य आम्दानी स्रोत कृषिपछि रेमिटेन्स नै हो । अमेरिका जान मरिहत्ते गर्ने र भिसा लागे युद्ध जितेजस्तै गर्ने तन्नेरीलाई महजोडी स्टारर फिल्मले देश फर्कन सन्देश दिन्छ । यही मेसोमा आचार्यले मूभिमान्डु सम्पादक विष्णु शर्मासँग संक्षिप्त संवाद गरेका छन् ।

नेपाली युवामा रहेको अमेरिकी सपनालाई कसरी दाल भात तरकारीले चित्रण गरेको छ ?
मैले एकदुई जना जापानी डाक्टर भेटेको थिएँ । उहाँहरुले आफ्ना छोरा छोरी अमेरिकामा रहेको बताउनुभयो । अर्का एकजनाले आफ्ना नीजि सहायक क्यानडाबाट भएको बताए । उहाँहरुलाई पनि पश्चिमा मुलुकप्रति मोह रहेछ । आर्थिक उन्नती गरेपनि जापान, कोरिया पहिला विपन्न मुलुक थिए । डीभीबाटै थाहा पाउनुहुन्छ, नेपालमा अमेरिकी क्रेज र क्यानडामा माइग्रेसन ।

यसमाथि अरु फिल्म पनि बनेका छन् र सबैको प्रस्तुतिकरण फरक हुन्छ । हाम्रो आफ्नै तरिका छ । निष्कर्ष के हो भने, अब पश्चिमा मुलुकमात्र विकासको चरम सीमामा छैनन्, अब हाम्रो देशमा पनि सम्भावनाको खोजी गरौं । दाल भात तरकारीको जोहो देशमै गरौं भन्ने पात्रको मनोदशामा फिल्म बनेको छ । इन्टरटेनमेन्ट र फिल्मी फर्मुला राखेर फिल्म बनेको छ ।

यसको अर्थ के दाल भात तरकारी ग्लोब्लाइजेसनको विपक्षमा उभिएको हो ? फिल्म के भन्छ ?
पढे लेखेकाले अमेरिकामै राम्रो काम गरेका छन् । कोही गल्फ देशमा गएर कन्टेनरमा बसेर, मेक्सिकाको पर्खाल नाघेर दुःख गरेका छन् । कतिपय दलालको फन्दामा बसेर पैसा फसाएका छन् । अहिलेको जमानामा ग्लोब्लाइजेसनलाई रोक्न सकिने हैन । चिनियाँहरु अमेरिका र अमेरिकी चीनमा आएर काम गर्दैछन् । भारतका लागि अहिले पनि रेमिटेन्स प्रमुख आयस्रोत हो । नसकी नसकीकन, धेरै दुःख पाएर नेपालमै काम गर्न सकिन्छ भन्ने सन्देश फिल्मभित्र छ ।

कमेडीमा सामाजिक कथा मिलाएर भन्ने यो ट्रेन्ड अघिल्ला फिल्मभन्दा दाल भात तरकारीमा कति भिन्न छ?
यस्तो विषयवस्तुमा सबैभन्दा पहिले तँ त साह्रै बिग्रिस बद्री फिल्म बनेको हो । उक्त फिल्म पुरै कमेडी हो । १८ वर्ष अगाडि बनेको थियो । यो बाहेक बलिदान फिल्म गरेका थियौं । हामी सहभागि भएपछि दर्शकमा हाँसो पाइन्छ कि भन्ने आशा हुन्छ । हाम्रो पहिचान पनि त्यही हो र यसैमा फिल्म बनाउन खोजेको हो ।

करियरमा तपाईंले अभिनयमा कस्ता परिवर्तन महसुस गर्नुभएको छ ?
अहिले एकसे–एक आर्टिस्ट आइराखेका छन् । थिएटर ब्याकग्राउन्डका आइराखेका छन् । विविधता छ । इन्डष्ट्रीको आकार लिएको छ फिल्मले । आकार बढ्दै जाँदा आर्टिस्ट धेरै जन्मन्छन् । पहिले पढे लेखेका मान्छेका छोरीछोरीलाई फिल्ममा नजा भन्थे, तर अहिले इज्जतको पेशा भैदियो । ठूला ठूला घरानियाँ मान्छे पनि फिल्ममा आउनुभएको छ । अभिनयको क्षेत्रमा हामी माथि उक्लँदैछौं ।

दाल भात तरकारीको व्यवसायिक मूल्य कस्तो देख्नुभएको छ ?
शत्रु गतेमा जुन हामीले व्यवसायिक मूल्य प्राप्त गरेका थियौं, त्यति हामीले पाउनुपर्ने हो । समय के हुन्छ, कस्तो हुन्छ, धेरै ठूलो आशा पनि म गर्दिन । धेरै आशा गर्दा निराशा पनि हुनुपर्ने हुन्छ । हाम्रो ठूलो आशा भनेको, हामीले राम्रो व्यापार गरोस्, लगानी सुरक्षित होस्, अलिकति नाफा होस्, फेरि अर्को फिल्म बनाउन सक्षम होऔं । हाम्रो अभिलाषा यही हो । रेकर्ड राख्ने र ब्रेक गर्ने उद्देश्य छैन । कमर्सियल सक्सेस ठीक्क भयो भने पुग्छ ।

दाल भात तरकारको कथावस्तु दुई तिहाइ बहुमतले बनेको वर्तमान सरकारलाई राजनीतिक व्यंग्य त होइन ?
फिल्ममा केही राजनीतिक व्यंग्य त छन् । समृद्ध नेपाल अहिलेको सरकारको नारा भएपनि, फिल्मले सरकारलाई फलो गरेको पनि छैन । हामीले विशुद्ध नेपाली जनताको करुणालाई फिल्ममा दर्शाउन खोजेका हौं । नेपालीहरुको सबैभन्दा ठूलो डाइट भनेको दाल भात तरकारी नै हो । नेपालीहरु अमेरिकामै गएपनि दाल भात तरकारी नै खोज्छन् एकछाक भएपनि । पिज्जा, स्यान्डवीच खाएर नेपालीलाई चित्त बुझ्दैन । बेइमानी गरेर खाइराछन् र इमान्दारीपूर्वक पनि खाइराछन् । आखिर शरिरलाई चाहिने दाल भात तरकारी थोरै हो । इमान्दारिताको दाल भात तरकारी खाऊँ भन्ने कुरा फिल्मको सन्देश हो ।

Share.

About Author

Leave A Reply