फिल्म समिक्षा : दाल भात तरकारी

0

विष्णु शर्मा
रेटिङ : १/५

कूल गार्हस्थ उत्पादन वृद्धिद्धर ६.८% हुने भएपछि सरकार यसमा मख्ख छ । जीडीपी बढ्नुमा दुई कारण मानिएको छ : मौसम र रेमिटेन्स । रेमिटेन्स चाहिँ नेपाली समाज र अर्थतन्त्रको ‘न्यारेटिभ’ । यस कथ्यका कारण र प्रभावमाथि प्रशस्त नेपाली साहित्य लेखिए, फिल्म खिचिए र गीत बुनिए ।

सहरमा रिलिज भएको फिल्म ‘दाल भात तरकारी’ चाहिँ अघिल्लो भन्दा केही भिन्न छ । जसले मुख्य पात्रको सपनामा डोनाल्ड ट्रम्पलाई बोलाउँछ र बामपन्थी सरकारको समृद्धिको नारालाई वर्णन गर्न लगाउँछ ।

फिल्म ‘दाल भात तरकारी’ हरिवंश आचार्य र मदनकृष्ण आचार्य मार्का अभिनयको पछिल्लो संक्षिप्त उदाहरण हो । ‘तँ त साह्रै बिग्रिस बद्री’, ‘बलिदान’, ‘शत्रुगते’ फिल्म र ‘दशैं’ सिरियलबाट निर्माण भएको महजोडी ब्रान्डलाई ‘दाल भात तरकारी’ले कार्पेटभित्र लुकाइदिएको छ । यस्तो हुनुमा भयंकर कमजोर पटकथा जिम्मेवार छ ।

अन्यौल सोचको उत्पादन अन्यौल नै हुन्छ । ‘दाल भात तरकारी’मा कथा छैन, उपकथा छ । सुदन केसी निर्देशित फिल्म अमेरिकन ड्रीम्स, धनी बन्ने सपना, रोमान्टिसिज्म, धर्मान्धता, अपराधको राजनीतिक नेक्सस जस्ता दर्जन उपकथाको प्रारुप मात्र हो । यसमा साहित्यका विशेषता उपलब्ध छैनन् । आफ्नै जोखिममा तपाईं ‘दाल भात तरकारी’ हेर्न सक्नुहुन्छ ।

जब फिल्म साहित्यबाट पर भाग्छ, त्यो पत्रकारिताको रिर्पोताज न्यारेटिभ बन्न खतरा हुन्छ । जहाँ सूचनाको थुप्रो त हुन्छ तर त्यहाँ आख्यानको सौन्दर्य गायब । ‘दाल भात तरकारी’ परम्परागत कथा वाचन शैली, मेलोड्रामा, लाउड अभिनय, गीतको यस्तो प्याकेज हो जहाँ समकालिन नेपाली समाजको पीडा मिसाइएको छ । तर, फिल्म इस्यु होइन, त्यसको प्रस्तुतिकरण हो ।

अमेरिकन ड्रीम्सधारी रामहरि (हरिवंश आचार्य) परिवारले त्यता जान दलाल (शिशिर बाङ्देल)लाई मोटो रकम बुझाउँछ । दलाल पैसा लिएर भाग्छ । राजनीति र डनगिरीको संरक्षणमा हुर्किएको दलालबाट पैसा फिर्ता लिनु सजिलो छैन । नलिउँ भने मिटर ब्याजमा घर धितो राखेर लिएको ऋण । के ऊ आफ्नो उद्देश्यमा सफल रहला ? उसले अमेरिकी सपना त्याग्छ वा निरन्तरता दिन्छ ? यी तथ्यको कलेक्सन ‘दाल भात तरकारी’ हो ।

तर, फिल्म दृश्य साहित्य हो । कारण र प्रभावको स्थापना यसको पूर्वसर्त हो । कारणको स्थापनाविनै प्रभावको व्याख्या गर्न खोज्नु निकै हतारको काम मात्र हो । ‘दाल भात तरकारी’को कारण भनेको मुख्य पात्रमा कसरी अमेरिकी सपनाको सोचको विकास हुन्छ र उसले त्यसतर्फ जान कसरी संघर्ष गर्छ भन्ने आर्क हो । केन्द्रिय द्धन्द्ध (कारण)नै स्थापना नगरिकन निर्देशक र लेखकीय नियत प्रभावको चर्चा गर्नुतर्फ अग्रसर छ जुन उल्टो हिँडाइ मात्र हो ।

अर्थात, यसमा आवरण र आत्मा दुबै छैन । यस्तो लाग्छ, दाल भात तरकारीमाथि ड्रामा हावी भएको छ र त्यो क्यामेराले खिचिएको कुनै एक नाटक मात्र हो । द्धन्द्ध, पात्र र भूगोलको मल्टि–डायमेन्सन नहुँदा फिल्म ‘ड्रामा’ मोनोलग बन्नेतर्फ उन्मुख छ । कमेडी परिस्थितीजन्य होइन, पंचलाइन र वस्तुगत बनिदिएको छ जसले गर्दा भावनाको सम्प्रेषण त कुरै छाडौं, पात्रको अवसादमा दर्शक हाँसिदिन्छन् ।

संगीतलाई नेपाली मूलधारले रुचाउन सक्छ । हरिवंश आचार्यको सदावहार अभिनय निरन्तर छ तर निरुता सिंह लाउड अभिनयमा दर्शक कन्भिन्स नहुन सक्छन् । केही पात्रहरुको उपस्थिती अनावश्यक लाग्न सक्छ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र पछिल्ला कमेडी फिल्ममा बानी परेका दर्शकका लागि भने फिल्मले इन्जोय दिलाउन सक्छ । यद्यपी, अब्बल ‘मास–इन्टरटेनर’ बन्नबाट ‘दाल भात तरकारी’ चुकेको छ । अन्तिममा कुरा त्यही आउँछ : हामी पटकथा र सिर्जनशिलतमा गरिब छौं ।

निर्देशक : सुदन केसी
निर्माता : किरण केसी
पटकथा : हरिवंश आचार्य
कास्ट : हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, शिशिर बाङ्देल, रविन तामाङ
छायांकन : दीर्घ गुरुङ
सम्पादन : मित्र डी गुरुङ
ब्यानर : महसंचार

Share.

About Author

Leave A Reply