निर्देशकमाथि स्टार हावी हुँदा फिल्म बिग्रिए : दयाहाङ

0

१७ वर्ष लामो अभिनय करियरको ट्रयाकमा बुर्कुसी मार्दैछन् दयाहाङ राई । यसबीचमा समाज र राजनीति बदलियो तर सोच बदलिएन । फिल्ममा यसको प्रभाव सघन छ । दयाहाङ ‘जात्रै जात्रा’का एक गुण्डा हुन्, तपाईं पुलिस पनि भन्न सक्नुहुन्छ । जात्रै जात्रा, स्टारडम, एभेन्जर्स, समाज र राजनीतिका आयामबारे उनी प्रस्तत भए ।

‘जात्रै जात्रा’मा तपाईं पुलिस कि गुण्डा ?
यो चीजमा मैले ठ्याक्कै यही हो भनुँ भने यो एउटा सिक्वेल हो फिल्मको । सिक्वेल भएको कारणले जोडिन पुगेँ । म पुलिस कि गुण्डा भनेर कन्फ्युजन हुनु भनेको मार्केटिङको नयाँ पोलिसी पनि हुनसक्छ । अथवा फिल्मभित्र त्यही कुरालाई निरन्तरता दिएको पनि हुनसक्छ । यसकारणले यसलाई म क्लियर गर्दिन ।

तपाईंको पात्रलाई दर्शकले आफूलाई कसरी महसुस गर्न सक्छन् वा इन्जोय गर्न सक्छन् ?
यो एउटा इम्याजनरी पात्र मात्र हो । ठ्याक्कै रिलेट गर्न सक्छन् भन्ने नहुन सक्छन् । मान्छे कहिँ न कहिँ ठोक्किएका चाहिँ हुनसक्छन् । मै हुँ भन्ने चाहिँ नहुनसक्छ ।

दोस्रो सिक्वेलमा नवीनता के छ ?
सिक्वेल भन्नु वित्तिकै हाम्रो परिपाटीमा धेरैमा अपेक्षा नगर्नुभए हुन्छ । सिक्वेल बनाउने मनोविज्ञान भनेको मेकर सेक्युअर हुनलाई हो । समाजको भ्रष्ट मनोविज्ञान छ जात्रै जात्रामा । यसलाई निरन्तर भनिरहनु मेकरले चाहन्छन् होला किनभने त्यो मनोविज्ञान अहिलेसम्म टुटेको छैन । निरन्तर हामी यस किसिमको जालझेलमा फसिरहेका छौं । यसको निरन्तरता हुनुको पछाडि हामीले हामी आफैलाई व्यंग्य गरिरहेको हो । यसकारण सिक्वेलबाट हामीले धेरै ठूलो आशा नगर्दा हुन्छ । यद्यपी, हामीले विषयवस्तुलाई दर्शकसँग कनेक्ट गर्ने कोसिस गरेका छौं ।

पात्रको विविधतामा आगामी दिनमा हामीले के तपाईंलाई देख्न सक्छौं ?
ममाथि पनि धेरै कमजोरी हुन्छन् । म परिपक्व मान्छे होइन । म परिपक्व एक्टर होइन । मेरो एक्टिङमा टाइपकास्ट देखिनु भनेको म पूर्ण नभएर होला । तर, मेरो तर्फबाट कोसिस के छ भने, मैले गरेको क्यारेक्टरको आवरणलाई होइन, त्यसको मनोविज्ञानलाई बुझ्यो भने भिन्न चीजमा काम गरेको छु । त्यो पात्रको त्यो टाइमको मनोविज्ञानलाई बुझ्यो भने, हाम्रो समाजमा हुर्किएका पात्रमाथि मैले काम गरेको छु । सबै चीजलाई नियालेर हेर्ने हो भने मेरो साइडबाट विभिन्न आयामकै काम गरेको छु । दर्शकले खोजेजस्तो आयामिक क्यारेक्टर गर्न अलिकति समय लाग्ला । मैले काम गर्न थालेको सत्र वर्ष भएछ, यसबीचमा समय बदलियो । मान्छेको चेतना परिवर्तन हुँदै गए । तर, हामी कन्फ्युज पिरियडमा छौं । यही कारण मैले विकास गरेको पात्र कहिँ न कहिँ परिवर्तन भएपनि सोच चाहिँ पुरातन नै छ । यसकारण देखिने कुरामा रेगुलर होला तर मनोविज्ञानलाई हेर्ने कुरामा परिवर्तन अवश्य हुन्छ ।

घरि पूर्वका, घरि पश्चिम र मध्यपश्चिमका पात्रमाथि काम गर्दा कस्तो डर हुन्छ भने, उनीहरुमाथि मैले न्याय गर्न सक्दिन कि ? रहनसहनको हिसाबले त देखिएला तर मनोविज्ञानको हिसाबले अन्याय हुनजान्छ । त्यो मिमिक्री मात्र होला जस्तो लाग्छ । मिमिक्री गरेर देखाउनु भनेको उनीहरुमाथि अन्याय गर्नु हो । पुरै परिवर्तन गर्न अहिलेसम्म मैले समाजको अध्ययन पूर्णरुपमा पुगिसकेकोे छैन । केही नयाँ गर्न समय नै लाग्छ ।

पछिल्लो समय विदेशी फिल्मको कमाइ नेपालमा राम्रो भैरहेको छ । एभेन्जर्सले सुनामी ल्यायो । यसलाई कसरी बुझ्नुहुन्छ ?
सबैभन्दा ठूलो चुनौति दिएको त हामीलाई नै हो । मेकरहरुको सोच र चेतनामाथि ठूलो प्रहार हो । दसवर्ष अगाडि हेर्दा पनि हामी धेरै नाजुक स्थितीमा पुगेका थियौं । त्यतिबेला हामीलाई के लाग्थ्यो भने, हाम्रा फिल्म बुझ्दै बुझ्दैनन् भन्ने । त्यो ठूलो भ्रम हो । अहिले पनि हामीले त्यही भ्रम पालिरहेका छौं । अहिले दर्शकले दृश्य पनि फास्ट हेर्न चाहन्छन् । किनभने दसवर्षको बीचमा राजनीति र समाज छिटो चेन्ज भैसक्यो । घटना भए र दुर्घटना पनि भए । यस चीजलाई पछ्याउन हामीले न फिल्मको आफ्नो भाषा बनाउन सक्यौं न मानक । गाउँठाउँ र सेटअप मात्र देखाएर पुग्ने कुरा हैन । आफ्नोपनको महसुस पनि गर्नसक्नुपर्छ । यसमा हामी चुकिरहेका छौं । दर्शकले त जुनबाट इन्टरटेन गर्छन्, त्यहीँ जान्छन् । पचास वर्षमा पनि फिल्म कल्चर विकास गर्न सकेका छैनौं । भोलिको पुस्ताले हेर्ने फिल्म खै त ? समस्या हुनु भनेकै हामीले हाम्रा फिल्म बनाइराखेका छैनौं ।

निकट भविष्यमा नेपाली फिल्मको ट्रेन्ड कतातर्फ जाला ?
पहिलो कुरा हाम्रा निर्माताले समाज बुझ्नु जरुरी छ । हाम्रो सोसाइटीलाई नबुझिकन हामी फिल्मको मेकिङमा लागिरहेका छौं । आयातित सोच र चिन्तन नै हो हाम्रो । आफ्नो ठाउँ, परिवेश हामीलाई थाहा छैन । मानिलिऔं, एउटा हिमाल देखिनुमात्र हाम्रो लागि मात्र सुन्दर र नेपाली शैली होइन । नेपाली कल्चर र झाँकी देखाउनुमात्र हाम्रो पहिचान हैन । त्यसको गहिराइ, कारण र प्रभाव खोतल्नुपर्छ । अहिले आएर एकले अर्काको सोचलाई निषेध गर्नु पनि मुख्य समस्या छ । तर, हामीले हामीबीचको अन्तरंगको सुन्दर पक्ष निर्माण गर्नु जरुरी छ । एकले अर्कोलाई प्रहार गरेजस्तो गरेर फिल्म बनाउने प्रवृत्ति छ । हामीले यसबीचमा कसरी अघि बढेका छौं भन्ने सौन्दर्यलाई देखेका छैनौं । मैले जहिले पनि कालोलाई कालै दखिरहने तर कालोको महत्व के त भन्ने पक्ष बुझ्नुपर्छ ।

फिल्म निर्देशकीय अभिव्यक्तिको माध्यम भएपनि निर्देशकमाथि स्टार हावी हुँदा फिल्म बिग्रिएको भन्ने तपाईंको अभिव्यक्ति आएको थियो नि, के त्यो सहि हो ?
अवश्य हो । जो चलेको मान्छे हुन्छ, उसको पछि सबै लाग्छन् । चलेको मान्छेको पछि लाग्दा मेकरले सुरक्षित ठान्छन् । ऊ के कारणले चलेको हुन्छ भने उसको अघिल्लो फिल्म चलेको हुन्छ । जसले गर्दा म अहिले चलेको छु । मेकर यसबाट प्रभावित हुन्छन् । स्टार भनेको त उसले कथाभित्र एउटा चरित्र निर्वाह गर्ने हो । उसलाई त्यहाँनेर भन्नसक्नुपर्छ कि तिमीले यहाँनेर गरेको गलत छ । भर पर्ने होइन, स्टारले नोटिस मात्र गराइदिन्छ । जस्तो एक्टरको रुपमा मैले निर्देशकमाथि होइन, उसको सिर्जनामाथि गर्ने हो । उसले अगाडि हिट फिल्म बनाएको थियो भनेर म पछाडि लाग्ने होइन । एउटा राम्रो डिरेक्टर चिनेँ भने, उसको सिर्जनालाई चिन्ने होइन । फिल्मको लागि एक्टर केही होइन, डिरेक्टर हो सबै कुरा ।

Share.

About Author

Leave A Reply