‘वीर विक्रम २’ टीमसँग राउन्ड–टेबल : मुस्ताङी ल्यान्डस्केपमा मित्रताको कथा

0

मिलन चाम्स सोमबारे प्रेसमिटमा केही एग्रेसिभ सुनिए । नसुनिउन पनि किन : उनी निर्देशित फिल्म ‘वीर विक्रम २’ रिलिज डेटमा सम्भवतः तीन विदेशी फिल्म रिलिज हुँदैछन् ।

जाँचपास प्रक्रियादेखि हलसम्म विदेशी फिल्मलाई प्राथमिकता दिएकोमा उनी क्रुद्ध देखिन्थे । उनले सोही डेटमा रिलिज हुने नेपाली फिल्म ‘जात्रै जात्रा’लाई पनि शुभकामना दिए ।

यी खरा निर्देशकले भने, ‘बरु हिन्दी, अंग्रेजी चल्न दिँदैनौं । जात्रै जात्रा चल्नुपर्छ । नेपाली फिल्मलाई दबाइएको छ । नेपाली फिल्मलाई चलाउनुपर्छ ।’ उनले फिल्म वृत्तमा हुने ‘राजनीति’प्रति आक्रोश पोखे । ‘यस्तै कारण, एभेन्जर्सजस्ता फिल्मले यहाँ कमाउँछन्’ भने ।

सम्पादन टेबुलमै फिल्म हेरिसकेका मेकर्जले खुलेर ‘वीर विक्रम २’लाई प्रशंसा गरिरहँदा मिलन पुलकित देखिए । मसला, एक्सन, रोमान्स र इमोसनलाई मिश्रण गरिएको भन्दै फिल्मको प्रशंसा भएको छ । ‘नेपाली दर्शकलार्ई कथा बुझाउने स्टाइल यही हो’ मिलन सुनिए ।

बाघबहादुरको भूमिकामा फिल्म खेलेका बुद्धि तामाङले पात्रबारे बोल्दै रोचक र मनोरञ्जक भएको बताए । ‘मै लाऊँ र मै खाऊँ भन्ने पात्र छ’ तामाङले भने, ‘हेर्दा गुण्डा र हेर्दा दयालु मान्छेजस्तो पनि लाग्छ मेरो क्यारेक्टर ।’

पहिलोपटक हैट नामले चर्चित अभिनेता नेगेटिभ भूमिकामा प्रस्तुत हुँदैछन् । ट्रेलरमा उनलाई बाघबहादुर नामको मुखौटाधारी पात्रको भूमिकामा देख्न सकिन्छ । अभिनेत्री वर्षा शिवाकोटीले अब नारीप्रधान फिल्म निर्माण हुनुपर्ने आवश्यक भएको बताइन् । ‘उद्योगमा फिमेल आर्टिस्टले स्पेस पाउनु जरुरी छ’ वर्षा भन्छिन्, ‘जहाँसम्म वीर विक्रम २ मा मेरो क्यारेक्टर छ, दर्शकले मन पराउनुहुनेछ ।’

१४ महिनापछि अभिनयमा कमब्याक भएका पल शाहले वीर विक्रम २ मा दर्शकले आफूलाई मच्योर्ड एक्टर्जको रुपमा देख्ने बताए । ‘अभिनयमा परिपक्व हुन निकै एफोर्ट गरेको छु’ पल भन्छन्, ‘मेरो करियरमै यसले महत्वपूर्ण अर्थ राख्छ ।’ ‘स्क्रिप्ट, कन्टेन्ट र दृश्य सबै बुझेर मात्र फिल्म साइन्ड गरेको हुँ’ उनले अनुबन्धित हुनुपर्नाको कारण खुलाए ।

पटकथा लेखक प्रदीप भारद्धाजले वीर विक्रम र वीर विक्रम २ को डीएनए (रसायन) बीच समानता भएको बताए । ‘पात्र र भूगोल नयाँ छ तर डीएनए भने पुरानै हो जसले गर्दा पुरानै वीर विक्रमसँग सारगत सम्बन्ध छ’ भारद्धाज सुनिए ।

निर्देशक मिलन चाम्सले आफू यसपछि फिल्म ‘सोलिडोली’ छायांकन तयारीमा जुटेको बताए । उनले त्यस लगत्तै सन् २०२० मा ‘गोर्खा वारियर्स’ नामक फिल्म निर्माण गर्दैछन् ।

वीर विक्रम २ जेठ ३ गते रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply