पाँचैजना मिस नेपालले भने : क्राउन जितेर ल्याउँछौं

0

मिस नेपालका पाँचै विजेताले यसवर्ष विभिन्न मुलुकमा हुने सौन्दर्य प्रतियोगितामा उपाधी जित्ने लक्ष्य रहेको बताएका छन् । शनिबार राजधानीमा हिडन ट्रेजरले गरेको प्रेसमिटमा उनीहरुले यसका लागि तयारी सुरु भएको बताए ।

मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले विदेशमा देशको प्रतिनिधित्व गर्ने र रोल मोडल बन्ने आफ्नो दुई योजना रहेको सुनाइन् । ‘यसका लागि अघिल्लो पटकका विजेतासँग छलफल गरेर हिडन ट्रेजरसँग तयारी थाल्छु’ उनले जानकारी दिइन् ।

मिस नेपाल सुप्रान्यासनल रोज लामा, मिस अर्थ रिया बस्नेत, मिस युनिभर्स प्रदीप्त अधिकारी र मिस इन्टरनेसनल मीरा कक्षपतिले पनि ताज जित्नका लागि शतप्रतिशत मिहेनत गरेको बताए । हिडन ट्रेजर प्रमुख गोपाल कक्षपतिले सुन्दरीहरुलाई केही दिन आराम दिएर त्यसपछि ध्यान, योगसहित कार्यशाला चलाउने बताए ।

‘मिस नेपाल हुनु भनेको राम्री हुनु होइन, असल हुनु हो’ मूभिमान्डुको प्रश्नमा अनुष्का श्रेष्ठले भनिन्, ‘बोली र बानीलाई मात्र सुधार्ने हो भने नेपालको विकास सम्भव छ ।’ उनले सुन्दरी प्रतियोगिता विजेता मात्र नभएर सबैजना फेमिनिस्ट बन्नु जरुरी रहेको बताइन् ।

मिस अर्थ रिया बस्नेतले बढ्दो तापक्रम र जलवायु परिवर्तनले नेपालको हिमालय क्षेत्रमा पारेको असरको मुद्दालाई अन्तराष्ट्रिय पेजेन्टमा लग्ने बताइन् ।

हिडन ट्रेजर प्रमुख कक्षपतिले २५ वर्षको यात्रामा आफूहरुले नेपाली समाजको सौन्दर्यको व्याख्या नै बदलिदिएको बताए । ‘सौन्दर्यको जुन विविधता छ र अहिलेका नेपाली युवतीमा मिस नेपाल बन्ने जुन लक्ष्य छ, यो आफैमा महत्वपूर्ण उपलब्धी हो’ उनले भने ।

सरकारले मिस नेपाललाई हेला गरेको आरोप उनले लगाए । ‘अरु देशमा सरकारले नीतिमै समेटर अघि बढेका छन् तर हाम्रो सहयोग त कुरै छाडौं, इमिग्रेसन कटेर विदेश जान पनि रोक्न कोसिस हुन्छ । एकचोटी झन्डै त्यस्तै भएको थियो’ उनले गुनासो गरे । पाँचैजना मिस नेपालले अभिनय आफ्नो रुचिको क्षेत्रमा नपर्ने बताएका छन् । उनीहरुले सामाजिक कार्य आफूहरुको प्राथमिकता रहेको बताए ।

Share.

About Author

Leave A Reply