फिल्म समिक्षा ‘वीर विक्रम २’ : ‘लभ-हेट’ यारको कथा

0

विष्णु शर्मा
रेटिङ : ३/५

न कुनै ठूलो घटना वा भव्य सेटिङ । भूपि शेरचन जिउँदै भए कुञ्जो गाउँमाथि कविता लेख्थे होला । च्याङ्ग्राको क्याराभान र टुरिस्ट लस्करले कुनैबेला गुल्जार हुने कुञ्जोमा अहिले यारको संकट छ । यही मसिनो कथामा ‘वीर विक्रम २’ बनेको हो ।

तर, ‘फ्रेममा के देखिन्छ होइन, के देखिँदैन भन्ने चाहिँ फिल्म हो’ पाका हलिउड निर्देशक मार्टिन स्कोरसिजले ‘वीर विक्रम’को दोस्रो श्रृंखला हेरेको भए भन्थे होला । भन्न खोजिएको, यस फिल्मभित्र भनिएका कथाभन्दा नभनिएका कथा प्रशस्तै छन् ।

अहिलेलाई फिल्मतिर लागौं । ‘वीर विक्रम २’को साइनो ‘वीर विक्रम’सँग छैन । बटमलाइन भिन्न छ । सँगै हुर्किएका दुई ठिटा वीर (पल) र विक्रम (नाजिर)को मित्रताको कथा । जब मित्रतामा प्रेम बाधक बन्छ अनि सुरु हुन्छ बदलाको कथा ।

कुञ्जोलाई कर्मभूमि बनाएर विकासे गफ दिने बादल (वर्षा शिवाकोटी)को कथा र तिब्बतबाट तल्लो मुस्ताङ झरेर याकमा सिन्डिकेट लादेको बाघबहादुरको भिलेन कथा ।

‘वीर विक्रम २’ चाखिसकेको स्वाद लाग्न सक्छ । तर, धेरै अर्थमा यो अलग फिल्म हो । श्रव्यदृश्य कथ्य परम्परामा बुनिएको एउटा ‘मसला’ फिल्म । तर, यसको अन्तर्यमा भिन्नै स्वाद छ द्धन्द्ध, मिठास र प्रेमको ।

पछिल्लो समय नेपाली फिल्मको पटकथामा देखिएको ‘सेटब्याक’लाई ‘वीर विक्रम २’ले टारेको छ । पात्र र आञ्चलिकताको स्थापनामा कहिँकतै बिझाउन सक्छ तर पटकथा सलल बगेको छ । ‘थ्री–एक्ट’ संरचनामा लेखक प्रदीप भारद्धाजले ट्रीटमेन्टमार्फत द्धन्द्धका तह सिर्जना गरिदिएका छन् । रिजोलुसन फिल्मको बलशाली पक्ष हो ।

कथा सुरु हुन्छ मित्रतादेखि र सकिन्छ मित्रतामै । तपाईं पात्रभन्दा ट्वीस्ट र घटनासँगै यात्रा गर्न सक्नुहुन्छ । यसअर्थमा यो फिल्मलाई पात्रले हैन, घटनाले निर्देशित गर्छन् । गतिलो पटकथामा हुनुपर्ने अवयव हुन यी ।

पटकथा, रोचक पात्र र भूतका केही कथाले दर्शकलाई इन्गेज त तुल्याउँछ नै त्यो भन्दा बढी ‘वीर विक्रम २’सँग बाघबहादुर छ । जो हिंस्रक र लाउड लाग्दैन । बाघको मुखौटा लगाएपछि सुपरहिरो शक्ति आर्जित हुने उसको स्वभाव छ । बाघबहादुर फिक्सनको एउटा रोचक पात्र लाग्छ जससँग दर्शकलाई कन्भिन्स गर्ने शक्ति छ ।

पटकथा फिल्मको मेरुदण्ड बनिदिएको छ । कहिँकतै निर्देशन र पटकथाबीच तालमेल मिलेजस्तो देखिँदैन तर, पटकथाले ग्यापलाई छायाँमा पारिदिएको छ । कतिपय ठाउँमा मेलोड्रामा पेलिएको छ जसले पल शाहजस्ता पात्रलाई अविश्वसनिय तुल्याइदिन्छ ।

तर, हामीसँग बुद्धि तामाङ, नाजिर हुसेनजस्ता एक्टर पनि छन् जो पात्रभित्रै छिरिदिन्छन् र संवेदनासँग अन्तक्रिया गर्छन् । केही सम्झनामा बस्ने पात्र छन् : गुनगुन, कागे र फिरफिरे ।

रिजोलुसन (निष्कर्ष) पक्षमा फिल्म सशक्त छ । सवा दुई घण्टाको सिंगो फिल्म अन्तिमको पाँच मिनेट हो । नेपाली फिल्ममा हेर्न नपाइने यो पक्षमाथि यसपटक गम्भिर प्रयत्न भएको छ । हाम्रा फिल्म निष्कर्षविहिन ढंगले क्लाइमेक्समा सकिने विडम्वना यसमा छैन ।

तपाईंलाई नेपाली मेनस्ट्रिम कथ्य परम्पराका फिल्ममा रुचि छ भने वीर विक्रम २ प्रिय लाग्न सक्छ । तर, दर्शक फिल्मसँग निराश हुनुपर्दैन । घटनासँग तपाईंले यात्रा गर्न सक्नुहुन्छ । पटकथामाथि लगानी गर्नुपर्छ भन्ने सोचको विकास वीर विक्रम २ ले गर्नसक्छ ।

क्लोजअप र लङ सट्ले मात्र यसका सिनेमट्रोग्राफी पुरा हुँदैन । यस्तो ठाउँमा फिल्म खिचिएको छ जसको ल्यान्डस्केप सौन्दर्यमा आफ्नै खालको सौन्दर्य र निर्ममता छ । क्षितिजसँग जोडिने मुस्ताङी पठार र चौंरीको क्याराभान अब विकासे बहस पनि बन्नसक्छ ।ट्रेकिङ हिँड्ने बाटोमा बत्तिने मोटरले मुस्ताङी सौन्दर्यमा ल्याएको विनाशलाई ‘वीर विक्रम २’ले चित्रण गरेको छ जसको बहस सरकारले चलाउनुपर्ने देखिन्छ ।

बाघबहादुरको याक सिन्डिकेट र घर नजिकै ठडाइएका विजुलीका हाइ भोल्टेज ट्रान्समिटरको चित्रण यथार्थ हुन् । अब फिल्म रुमानी कल्पना मात्र हैन, सामाजिक प्रेरक बन्नु जरुरी पनि छ ।

निर्माता, निर्देशक : मिलन चाम्स
पटकथा : प्रदीप भारद्धाज
ब्यानर : चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आइ
कास्ट : पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ, वर्षा शिवाकोटी
लम्बाइ : २ घन्टा १० मिनेट

Share.

About Author

Leave A Reply