फिल्म समिक्षा : जात्रै जात्रा

0

विष्णु शर्मा
रेटिङ : ३/५

‘जात्रै जात्रा’मा तपाईंले तीन कुरा पाउनुहुनेछ : कमेडी खुराक, भ्रष्टाचारतर्फ नेपाली समाजको यात्रा र स्खलित इमान्दारिता । थोमस पिकेटीले आफुनो पुस्तक ‘क्यापिटल इन द ट्वान्टी फस्ट सेन्चुरी’मा भनेजस्तै पैसा छिटो कमाउनुपर्ने दबाबमा पेलिएको मानवीय आदर्श । यस्तो लाग्छ, ‘जात्रै जात्रा’ पिकेटीले व्याख्या गरेजस्तो यथार्थ । यी पात्र, द्धन्द्ध र दृश्य वरपर ‘जात्रै जात्रा’ हेलिएको छ ।

तीनवर्षअघि तपाईंले ‘जात्रा’ हेर्नुभएको छ भने त्यसको सिक्वेल ‘जात्रै जात्रा’मा नयाँ कुरा छैन । द्धन्द्ध, दृश्य र पात्रको भोगाइ, दौडाइ र कथ्यशिल्प पुरानै हो । बौद्धिक दर्शकका लागि सिर्जनात्मक उपस्थितीको अर्थ खोजिन सक्छ । तर, ‘जात्रै जात्रा’ उत्कृष्ट सिक्वेल चाहिँ हो । तीनवर्षमा देशले नयाँ सरकार पायो तर पात्रको समस्या उस्तै । बरु, तस्करी र भ्रष्टाचारका नयाँ शब्द र पात्र ‘क्वाइन’ भए । ‘जात्रै जात्रा’ले समाजको द्धन्द्ध र मनोविज्ञान उस्तै भएको चित्रण गर्छ ।

फिल्म सुरु हुन्छ एउटा लङसट जहाँ तीन मुख्य पात्र (फणिन्द्र) बिपिन कार्की, जोयस (रविन्द्रसिंह बानियाँ) र मुन्ना (रविन्द्र झा)को जेल रिहाइबाट । २ करोड ८० लाखको नक्कली पैसा कारोबारमा तीनवर्ष जेल सजाय काटेर निस्किएका यी तीन पात्र नयाँ सिक्वेलमा पनि उस्तै द्धन्द्धसँग लड्नुपर्छ । हराएको १० किलो सुनलाई खोज्न र लुकाउन भागदौड गर्ने र कसले प्राप्त गर्ने माथापच्ची ‘जात्रै जात्रा’को केन्द्रिय द्धन्द्ध हो । यो नेक्ससमा गुण्डा, दलाल, इमान्दार, पुलिस र नेता सबै मिसिएका छन् ।

कमेडी एवं सोसल ड्रामा जनर भएपनि निर्देशकले कथा वाचनमा परिस्थितीजन्य कमेडीको सहारा लिएका छन् । जब घटना र परिस्थिती ठिटलाग्दो बन्छ त्यो नै कमेडी फिल्मको सफलता हो । पंचलाइनमा टिकेको नेपाली कमेडी न्यारेटिभबाट ‘जात्रै जात्रा’ मुक्त छ । जसले दर्शकलाई इन्गेजमात्र गराउँदैन घटनासँग यात्रा समेत गराउँछ । फिल्मले नेपाली समाजको पछिल्लो कालखण्डमा घटित सुनकाण्ड घटनालाई फलो गरेको छ । महत्वपूर्ण पक्ष के हो भने, ‘जात्रै जात्रा’सँग समाजका सूचनाहरु छन् र फिक्सनका अवयव पनि । तथ्य र आख्यानबीच सन्तुलन मिलाउने काम भएको छ । नत्र रिपोर्ताज कथ्यको जोखिम हुनसक्थ्यो ।

फिल्ममा कमेडी मात्र छैन, संवेदनाका आयाम पनि छन् । सुरुमा वर्णन गरिएजस्तै पिकेटीको पुस्तकमा उल्लेखित मानवीय व्यवहारको अर्थशाष्त्र फिल्मसँग मिल्न जान्छ । पिकेटी भन्छन् : यतिबेला सम्बन्ध, सोच, इज्जत र इमान्दारितालाई बजार (पैसा)ले गाइड गरिरहेको छ । ‘जात्रै जात्रा’को आदर्श यही नै हो । यस्तै हुँदै गयो भने, पूँजीवाद आफ्नै कारणले समस्यामा पर्नेछ । किनभने, यतिबेला सहरको डाइनिङ टेबुलमा को दलाल, को गुण्डा र को इमान्दार भनेर निश्चित गर्न गाह्रो छ ।

पात्रको अभिनय प्राकृतिक लाग्छ । मुख्य तीन पात्रको जीवन्त अभिनय निरन्तर छ । यसपटक दयाहाङ राई थपिएका छन् । सुन गिरोह र गुण्डा नाइकेको भूमिकामा उनी तन्दुरुस्त छन् । बिपिन कार्कीको अभिनय, संवाद र शैली सशक्त लाग्छ । निर्देशकले तीन वर्षको अन्तरालमा पात्रभित्रको दिमागी सोचलाई मच्योर्ड तुल्याउन प्रयत्न गरेका छन् । एउटा पात्र भन्छ : झूठो बोल्नु पनि गरिबका लागि सबैभन्दा ठूलो आशा हो ।

फिल्ममा सबैभन्दा खट्किएको पक्ष रिजोलुसन पार्ट हो । क्लाइमेक्समै फिल्म सकिएको छ । उत्कर्ष सकिएपछि दर्शकले रिजोलुसन (निष्कर्ष) हेर्न पाउँदैनन् जुन ‘जात्रै जात्रा’को कमजोरी हो । तपाईंलाई कमेडी जनरका फिल्म हेर्न रुचि छ भने प्रदीप भट्टराई निर्देशित मनपर्न सक्छ । यसलाई एउटा उत्कृष्ट सिक्वेलको रुपमा व्याख्या गर्न सकिन्छ ।

Share.

About Author

Leave A Reply