फिल्म समिक्षा : कुम्भकरण

0

विष्णु शर्मा
कुम्भकरणको केन्द्र केटी हो । अधिकांश नेपाली फिल्ममा ‘न्यारेटिभ’ केन्द्र केटी हुनेगर्छ । हुन त विश्व फिल्मकै प्रवृत्ति हो यो । ज्या लुक गोदार्डले भन्देकै थिए : टुजी अर्थात बन्दुक र केटी ।

दीपक ओलीको ‘कुम्भकरण’ गोदार्ड भनाइकै संक्षिप्त उदाहरण हो । राम्री केटी देख्ने वित्तिकै पछि लाग्ने र छिल्लिने, फ्रायडको यौन मनोविज्ञान बोकेका तीन पुरुष पात्रको कथा । यही मेसोमा केटीको ‘रहस्यमय’ मृत्यु भैदियो भने के होला ? तीन पुरुष पात्र र उनीहरुले बोक्ने त्रास, निर्दोषपनको मनोविज्ञान फिल्म हो ।

मीटु पुस्तामा रिलिज भएको ‘कुम्भकरण’ले महिलालाई निरिह र आफ्नो लागि बाँच्न असक्षम पात्रको रुपमा परिकल्पना गरेको छ । यसलाई ‘मिसोजोनिस्ट’ भन्ने वा नभन्ने तपाईंको व्यक्तिगत विचार । यो मामिलामा नेपाली समाज अहिले पनि दुई युग बाँचिरहेको छ । ‘कुम्भकरण’ त्यसको एउटा विम्व पनि हो ।

प्यूठानी भूगोल र सरकारी स्कुलका कर्मचारी पात्र छन् । विरिक्तएका पुरुष पात्र प्रधानाध्यापक (भोलाराज सापकोटा), शिक्षक (गौरव पहारी) र पिएन (अभय बराल) छन् । निशा अधिकारी अंग्रेजी शिक्षिकाको रुपमा स्कुल प्रवेश गर्छिन् । यसपछि सुरु हुन्छ भाग्ने र लुक्ने खेल । फ्रेम र आयाम साँघुरो भएपनि कुम्भकरणले दर्शकलाई ट्वीस्ट एन्ड टन्र्जले झर्को हुन चाहिँ दिएको छैन । फिल्म इन्गेजिङ चाहिँ छ ।

पटकथा कसिलो छ तर, यससँग असहमति छन् । म यसलाई क्यामेराले खिचिएको नाटक भन्न सक्छु । अर्थात, ड्रामा (अभिनय) संरचना हावी भएको कुनै एउटा प्लट । दृश्य, द्धन्द्ध, भूगोल, आयामलाई फराकिलो बनाउन नसक्नु र साँघुरो तुल्याउनु पटकथा एवं दृश्यभाषाको कमजोरी पक्ष हो । यसले स्वभाविकरुपमा दर्शकलाई साँघुरो आयामभित्र खुच्याउँछ । ‘कुम्भकरण’ द्धन्द्ध, पात्र, दृश्य र ट्रीटमेन्टको बहुआयाम (मल्टिडायमेन्सन)मा छैन । हामी कुनै नाटक घरमा फिल्म हेरिरहेका छौं वा सिनेम्याटिक प्रयत्न गरिरहेका छौं ?

निर्देशकीय नियत व्याकरणबाट फिल्म स्थापनातर्फ केन्द्रित छैन बरु, मौखिक संवाद र रिजल्ट ओरिटेन्टेड बन्नेतर्फ उन्मुख छ । अघिल्ला फिल्म रोल्पा रोग र पण्डित बाजेको लौरीको तुलनामा ‘कुम्भ करण’लाई निर्देशक ओलीको निर्देशकीय मच्योर्डको रुपमा चाहिँ लिन सकिन्छ । उनले यसपटक दर्शकलाई निराश हुन चाहिँ दिएका छैनन् । फिल्म भनेको समाज, साहित्य, राजनीति, अर्थतन्त्र, भूगोल, द्धन्द्धका तह हो भन्ने अर्थमा अझै पनि उनले बुझ्नु जरुरी छ ।

क्राइसिस र उत्कर्ष दृश्यको मिठासको रुपमा ‘कुम्भकरण’लाई लिन सकिन्छ । तर, फिल्मसँग रिजोलुसन छैन । तीन मुख्य पात्र कहाँ हराए, द्धन्द्ध समाप्तीपछि उनीहरुको जीवन कसरी अघि बढ्नेछ ? महिला र जीवनलाई हेर्ने निष्कर्ष के हो ? निर्देशकको यो एउटा भूल हो फिल्मलाई हतारमा सक्ने पूर्ण स्थापना विनै । किनभने फिल्म क्लाइमेक्समा सकिँदैन बरु, द्धन्द्धको बैठान र त्यसको निष्कर्ष अनिवार्य हुन्छ ।

सापकोटाको अभिनय जहिल्यै पावरफूल । उनी जेरिएका जेरीजस्तै लाग्छन् मीठा । अभय बराल पिएनको रुपमा अब्बल । गौरव पहारीको नेपाली अवतार साँच्चिकै हेर्नलायक छ । निशा अधिकारीको भूमिका छोटो छ तर, औषत । प्रमोद अग्रहरिलाई बलशाली भनिएको छ तर, उनको पात्र स्थापना खोइ ? के अहिले पनि एस्ट्रोलोजी नेपाल प्रहरीको अपराध अनुसन्धान शैलीभन्दा प्रभावशाली छ ? टन्नै छन् अनुत्तरित प्रश्न ।

फिल्ममा पंचलाइन र सिचुएसनल कमेडीबीच सन्तुलन छ । छायांकन, ध्वनी, सम्पादनमा मिहेनत जरुरी थियो । कम्पोजिसन अफ सट् एमोच्योर्ड लाग्छन् । सम्पादनमा अश्रृंखलता छ । सेकेन्ड हाफको ब्याकग्राउन्ड स्कोर प्रशंसनीय हो । ड्रेस डिजाइन फिट छ । सेटिङ, मल्टिडायमेन्सन र क्राफ्ट ‘कुम्भकरण’का ठूला कमजोरी हुन् । तपाईंलाई लाइट कमेडी जनरमा रुचि छ भने ‘कुम्भकरण’ हेर्नयोग्य फिल्म हुनसक्छ । हाँस्यतत्वले गर्दा तपाईं फिल्मसँग इन्गेज हुन सक्नुहुन्छ ।

ब्यानर : आकाश पल इन्टरटेनमेन्ट
निर्देशक : दीपक ओली
कास्ट : भोलाराज सापकोटा, अभय बराल, गौरव पहारी, निशा अधिकारी, आकाश पल, प्रमोद अग्रहरि

Share.

About Author

Leave A Reply