फिल्म समिक्षा : भारत

0

विष्णु शर्मा
रेटिङ : ४/५

मोदीको भारत र इमरान खानको पाकिस्तानबीच अहिले कुटनीतिक संकट छ । यही संकटमा रिलिज भएको बलिउडका एक ठूला खानको फिल्मले चाहिँ दुई देशबीच मित्रताको सन्देश दिन्छ ।

इदको मेसोमा रिलिज भएको सलमान खान स्टारर ‘भारत’ले भारत–पाक विभाजनको क्रममा बुवा र बहिनी हराएका एक पात्रको मानसिक र भौतिक यात्राको कथा पेश गर्छ ।

दक्षिण कोरियाली फिल्म ‘ओडी माइ फादर’को रिमेक रहेको यो फिल्मलाई भारत–पाक विभाजनको परिदृश्य तुल्याइएको छ । जसले भारतीय राष्ट्रवाद, आदर्श नायकत्व र मोदी सत्तामा आएपछि सुरु भएकोे ‘राइजिङ इन्डिया’को नारालाई वर्णन गर्छ ।

सलमान खान आफ्नो मुलधारे छविबाट हटेर पूर्णरुपमा कन्टेन्ट र चरित्रमा डुबेका छन् यसपटक । सलमानको मुम्बैया पात्रको छवि हेर्ने अपेक्षा बोकेर हलमा पुग्नेका लागि हैन भारत बरु, सलमानलाई आदर्श नायकत्व र एक पात्रको भूमिकामा हेर्न खोज्नेका लागि रुचिकर हुनसक्छ ।

भारत एक पात्रको यात्राको कथा हो । पाकिस्तानको रेल्वे स्टेसनबाट कथा सुरु हुन्छ र दिल्लीको एक किराना पसल अगाडि आएर फिल्म सकिन्छ । समाप्ती निकै सन्देशपरक छ । भारतको ओपन–इन्डिङले इन्डियामा सुरु भएको पुँजीवादी संस्कृतिलाई व्यंग्य गरेको छ ।

आमा र बहिनीसँग हिन्दुस्तान आइपुगेको भारतलाई परिवार पाल्नुछ र सबैको स्याहार गर्नुछ । यही मेसोमा ऊ मध्यपूर्व, माल्टा र अन्य ठाउँ जान्छ पैसा कमाउन । उसलाई ऋणका लागि बेच्न लागिएको किराना पसल फिर्ता गराउनुछ । भारत–पाकिस्तानको बाघा बोर्डरको दृश्य र प्लट निकै मार्मिक लाग्छ ।

भारतभित्र दुई महत्वर्ण डायलग छन् । पहिलो डायलगमा सलमान खान भन्छन् : कोठाभित्र बसेर भारत–पाकिस्तान विभाजनको सीमारेखा कोर्नेलाई निकै मजा आएको हुनुपर्छ । दोस्रो डायलगमा उनको भनाइ छ : अहिले इन्डियालाई कसैले चिनाउँछ भने त्यो बलिउड गाना हो ।’ समुन्द्री जहाज लुट्न आएका डाँकुहरुले अमिताभ बच्चनको गीत सुनेपछि लुटेको पैसा फिर्ता गरिदिएको क्षण फिल्मको अर्को सबल पक्ष हो ।

फिल्मको मुख्य पात्र सलमान हुन् र अधिकांश स्क्रिन टाइम उनकै वरपर छ । उनले झन्डै चार उमेर समूहको पात्रको भूमिकामा अभिनय गरेका छन् । कट्रिना क्याफको अभिनय प्रशंसायोग्य छ । सुनिल ग्रोवर कमेडी र गम्भिर भूमिकामा फिट छन् । तब्बुको डेब्यु सशक्त लाग्छ । विशाल शेखरको संगीत र जुलियस प्याकियामको ब्याकग्राउन्ड स्कोरले मुड सिर्जना गर्छन् । फिल्मको द्धन्द्ध र पात्रको जर्नीले दर्शकलाई फिल्मसँगै यात्रा गराउँछ ।

कतिपय थलोमा मेलोड्रामा मिसाइँदा फिल्म लम्बिन पुगेको छ र केही गीतहरु नराख्दा पनि हुनसक्ने महसुस हुन्छ । तपाईंलाई इमोसनल ड्रामा र बलिउडको मेनस्ट्रिम कथ्यमा रुचि छ भने भारत तपाईंका लागि योग्य हुनसक्छ । तर, सलमानको अघिल्ला फिल्मजस्तो सूत्र शैलीमा चाहिँ फिल्म छैन । तपाईंलाई भावुक तुल्याउन सक्छ फिल्मले ।

Share.

About Author

Leave A Reply