नेपाल-भारत सीमामा उभिँदा आउने मुड हो ‘आप्पा’ : दयाहाङ राईसँग एकछिन

0

दयाहाङ राई अभिनित ‘आप्पा’ १३ असारमा नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ । मानवीय मूल्यमाथि भनिएको कथामा राईले एक गाडी ड्राइभर पात्रको भूमिका गरेका छन् । आप्पामा केन्द्रित रहेर मूभिमान्डुले दयाहाङसँग दार्जिलिङको रेल–गाडी चेतना, दुई अन्तराष्ट्रिय सीमाबीच उभिएर महसुस गरिने मुड र अब्जर्ड एक्टिङबारे संवाद गरेको छ ।

तपाईँ आप्पा पात्रलाई प्रेम गर्नुहुन्छ वा घृणा ? किन ?
प्रेम गर्छु । प्रेम किनभने त्यो पात्र एकल मान्छे हो । जसको सपना छन् । त्यसलाई उसले लुकाएर राखेको छ । लुकाउनुको पछाडि थुप्रै रहस्य होलान उसको । यसकारण उसप्रति घरिघरि प्रेम जाग्छ । घृणा गर्न पनि योग्य छ त्यो पात्र । किनभने आफ्नो चाहनालाई ऊ कहिल्यै पनि खुलेर कुरा गर्न सक्दैन । उसँग सीधा भावना मात्र छ । उसँग अरु पाटा पनि होलान, जुन तरिकाले उसले बुझ्न र बुझाउन सक्दैन ।

नेपाली साहित्य, फिल्म र संगीतमा प्रयोग हुने रेल र गाडी चेतना दार्जिलिङबाटै सुरु भएको भन्न सकिन्छ । यो चेतना र फिल्मबीच कस्तो औपन्यासिक सम्बन्ध छ ?
अवश्य पनि, त्यो चेतनाले अहिलेसम्म हामीलाई छुनु र सिनेमा बन्नु हाम्रो सपना हो जस्तो लाग्छ । एउटा मान्छेले दाल भात तरकारीका लागि गाडी चलाउनु मात्र हैन होला । यो सिनेमाले यतिमात्रै भनेको छैन । तिमी अझै महसुस गर भन्छ । हामीले अहिलेसम्म प्रयोग गरेको विम्व, सपना जति नै हो त्यो । यी कुरालाई हेर्दा लाग्छ, यो गजब मेटाफर हो । एउटा मान्छे सपना देख्दा–देख्दा आफू वस्तुको रुपमा परिणत हुँदै जाँदो रहेछ भन्ने हो ।

जहाँ फिल्म छायांकन भयो दार्जिलिङस्थित कालिम्पोङ, यो भूगोल लामो समय अंग्रेज शासनले शाषित भयो । अहिले पनि भाषिक र राष्ट्रिय पहिचानका लागि आन्दोलन चल्दैछ । तपाईंले त्यहाँको मुड कस्तो पाउनुभयो ? यो मुडलाई फिल्मसँग कसरी गाँसिएको छ ?
भर्खरै गोर्खा आन्दोलन सकिएपछि आममान्छे निराश हो वा सशंकित भएका हुन् कि भन्न मुडमा थिए । त्यो समयमै बनेको हो एउटा आप्पा । जसका लागि एउटा सुन्दर मेटाफरमाथि सन्दकपुरजस्तो ठाउँ चाहिएको थियो । त्यो ठाउँ यस्तो हो जहाँको हाइवेमा उभिँदा दाहिनेतिर नेपाल पर्छ भने देब्रेतिर भारत पर्छ । यो बीचमा गाडी कुदाइन्छ । त्यहाँका मान्छेको मुड पनि त्यही होला । कहिँ न कहिँबाट हाम्रो मन हामी नेपाली भाषी हौं भन्ने बारबार कुरा भैरहने । इन्डियामा छौं भन्दा मन दुःख्ने । सबैभन्दा गर्विलो कुरा, कालिम्पोङको एउटा यस्तो घरमा खाना खान पुगेँ जुन इमानसिंह चेम्जोङको घर थियो ।

जो किराँत लिपी मुन्धुममाथि राम्रो अध्ययन गर्नुभएको थियो । त्यहाँ लामो समयदेखि त्यो भेगमा अमर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा हुँदै अहिले बिपुल क्षेत्री हुँदै अभय सुब्बा जन्मिएका छन् । यसले पनि के संकेत गर्छ भने नेपाली संस्कृतिलाई उहाँहरुले चाहँ भारतीय नागरिक भएपनि नेपाली संस्कृतिमा हुर्कनुभएको छ । फिल्म जोड्ने कलाले हो, राजनीतिक रुपमा धेरै फरक होला । कहिँ न कहिँ त्यो मुड फिल्ममा आउँछ ।

नेपाल उदार बनिसक्यो । नेपाली दर्शकको स्वाद लार्जर द्यान लाइफमाथि हुन थालिसक्यो । नेपाली दर्शकलाई आप्पाले कसरी रिलेट गर्ला ?
त्यो सबै बाँध्ने इमोसनले हो । मान्छेहरु फेन्टासीमा गैसके र यी चीजमा मान्छेले इन्टरटेन गर्ने नै भैहाले । यसलाई समात्न इमोसन चाहिन्छ । आप्पाभित्र एउटा भावना छ जसले मान्छेलाई रिलेट गराइरहन्छ । फेन्टासीका कुरा गरेपनि मान्छेलाई कनेक्ट गरेन भने बर्बाद भैहाल्यो । यसले कहिँ न कहिँ कनेक्ट गरिरहन्छ ।

मानवीय मूल्य बोकेका यस्ता अन्डरग फिल्मको खाँचो हामीलाई किन छ अहिले ? दीर्घकालमा यस्ता फिल्मबाट के योगदान हुने ?
हुन त फिल्म लार्जर द्यान लाइफ नै हो । तर, यतिबेला हाम्रो कथा भन्ने हो । केही चरित्र त हामीले बनायौं होला । आउने कथा भनेकै पनि ठूलो बजेट र क्यानभासका फिल्मले ल्याउँदैनन् । उनीहरुको सोच जहिले पनि त्यसले के प्रतिफल दिन्छ भन्ने हुन्छ । कथाहरु सानो स्केलबाटै आउनुपर्छ । यस्ता फिल्मले समय र सन्दर्भ भन्दिछन् होला । आप्पा चाहिँ यो समयको सम्बन्ध र चरित्रको कुरा हो । सयवर्षपछि हेर्दा हामीले त्यतिबेला समाज यस्तो रैछ भने बुझ्न सकियो नि त ।

तपाईंले पात्रात्मक विविधता बोकेका चरित्र गर्नुभएको छ । के पछिल्लो समय एक्टर्सलाई भर्सटाइल देखिनुपर्ने दबाब हो ?
दबाब त हैन । एक्टरले त्यो पात्र बुझ्नका लागि त्यो एंगलबाट काम गर्नुपर्छ । दबाबको रुपमा त म कहिल्यै पनि लिन्न । म एउटा एक्टर हो । मसँग भएका क्षमतालाई कुन आयामबाट पात्र बुझ्ने भन्ने मात्र हो । यसरी नै मैले अहिलेसम्म काम गरिरहेको छु । मलाई मनपर्ने कुरा के हो भने, एक्टरले त्यो क्यारेक्टर निर्माण गर्दाखेरी त्यसको मनोविज्ञानसँग नजिक जानुपर्छ होला । यसरी नै पात्र विकास गर्छु ।

तथ्य नजिक जाँदा त्यसको हरेक कुरालाई भिन्न आयामबाट देख्न सकिन्छ । दबाबले मात्र पुग्दैन । पात्रलाई न्याय गर्न आफूलाई माया गर्ने होइन, आफूलाई हो । पात्रको प्रकृति कस्तो देखिन्छ, त्यो अनुसार काम गर्ने हो । एक्टर होइन, क्यारेक्टर विभिन्न रुपमा देखिनुपर्छ । पात्र उस्तै छन् तर म एक्टरजस्तै देखिएँ भने त बालै भएन नि ।

पछिल्लो समय फिल्म, अभिनय र कलामा ‘एब्जडिर्टी’को खुबै चर्चा भैरहेको छ । यदि एब्जर्ड प्रवृत्ति बढ्यो भने कलाको गाम्भिर्य र त्यसको भविष्य कतातर्फ जाला ? यसबारे तपाईंको नीजि विचार के छ ?
धेरै अगाडिदेखि संसारभर नै प्रयोग हुँदै आएको एउटा जनरा हो । साहित्य, अभिनय र पेन्टिङमा वादको रुपमा आइसकेको छ । यो पनि सर्वमान्य कुरा हो । यसले ठूलो मान्यता लिएको छ कि संसारलाई हामी यस्तो छौं भने बुझाउन गरिने प्रयोग हो । पहिले मैले एब्जर्ड जन्मनुको धरातल मैले बुझ्नुपर्छ । प्रयोगकर्ताले अर्थपूर्ण ढंगबाट प्रयोग गर्नुपर्छ ।

आधार बुझियो भने त्यो आफैमा गम्भिर कुरा हो । एब्जडिर्टीमा पनि गाम्भिर्यता छ । मलाई लाग्छ, यसले समाजलाई पनि सोच्न बाध्य बनाउँछ । व्यक्ति र सर्जकले सेल्फसेन्सरसिप पनि बुझ्नुपर्छ । यसको प्रयोग हुनुपर्छ । अहिले बहस भएको छ । मैले आफ्नो कुरा भन्न पाउनुपर्छ । तर, भन्न पाउनुपर्छ भन्दैमा दोस्रो मान्छेलाई असर पर्ने काम गर्न मिल्दैन । म पनि भोलि त्यत्तिकै तुच्छ हुनसक्छु । सर्जकले निकै गम्भिर भएर यसलाई प्रयोग गर्नुपर्छ । जस्तै भोलि मैले कुनै समुदायमाथि फिल्म बनाउँदैछु भने त्यसको फिलोसोफीबारे मैले बुझ्नुपर्छ । अभिव्यक्ति स्वतन्त्रता भन्दैमा विना ज्ञान बोल्ने भन्ने कुरा हैन ।

Share.

About Author

Leave A Reply