फिल्म प्रदर्शनमा कोटा प्रणाली लागु गर्ने सरकारी संकेत

0

सरकारले फिल्म प्रदर्शनमा कोटा प्रणाली लागु गर्ने संकेत गरेको छ । चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सव समारोहमा बोल्दै संचारमन्त्री गोकुल बाँस्कोटाले वर्षको १ सय ८० दिन अनिवार्य नेपाली फिल्म चलाउनुपर्ने नियम ल्याउनेतर्फ सोचिरहेको बताए ।

बाँकी ६ महिनामात्र विदेशी फिल्म र बाँकी ६ महिना नेपाली फिल्मलाई मौका दिने गरि सकारात्मक विभेदको चर्चा उनले गरे । यसअघि नै यादव खरेल नेतृत्वको फिल्म नीति मस्यौदा कार्यदलले प्रस्ताव गरेको नीतिमा समेत कोटा प्रणालीको व्यवस्था उल्लेख छ । तर, चलचित्र संघ त्यसबेलादेखि नै विपक्षमा छ ।

मन्त्री बाँस्कोटाले हलमा ताल्चा लगाएरै भएपनि ६ महिना नेपाली फिल्म देखाइने बताए । ६ महिना पनि नेपाली फिल्म चलाउन नसकेर बन्द हुने हललाई सरकार आफैले खुलाउने समेत उनले बताए । ‘मैले बहसका लागि यो भनेको हुँ । सबैको सुझावको आशा गर्छु’ मन्त्री बाँस्कोटाले भने ।

सरकार स्वयमले हिमाल र उच्च पहाडी थलोमा सयदेखि डेढसय सिट क्षमताका हल निर्माण प्रक्रिया सुरु गरिएको बताए । ‘जहाँ टिभीको मात्र पहँुच, ती थलोमा यस्ता खाले हल बनाउन सुरु गरिन्छ’ बाँस्कोटाले भने । चीन, दक्षिण कोरिया लगायतका मुलुकले फिल्म प्रदर्शनमा कोटा प्रणाली लागु गरेका छन् । अमेरिका, भारत, बेलायत, जापानमा भने यस्तो व्यवस्था छैन ।

Share.

About Author

Leave A Reply