फिल्मले बुझायो सरकारलाई ९ बुँदे माग : फिल्म नीति संसोधनलाई ध्यानाकर्षण

0

फिल्म क्षेत्रको एक टोलीले सरकारसँग ९ बुँदे मागपत्र बुझाएको छ । दीपकराज गिरी, रविन्द्रसिंह बानियाँसहित निर्माताको डेलिगेसनले संचारमन्त्री गोकुल बाँस्कोटालाई भेटेको थियो ।

राष्ट्रिय अवार्ड विवादमा तानिएको केही दिनपछि भएको भनिएको यो भेटलाई अर्थपूर्णरुपमा लिइएको छ ।

राष्ट्रिय चलचित्र नीतिले सबैको प्रतिनिधित्व नगरेकाले सम्बन्धित सरोकारवालाको प्रतिनिधित्व गराइ एवं आवश्यकता हेरि विदेशी विशेषज्ञको परामर्श लिएर परिमार्जन गर्नुपर्ने माग छ ।

अहिले काठमाडौंमा सुरु भएको र मोफसलमा कार्यान्वयन हुन लागेको बक्सअफिस प्रणाली असफल हुन लागेकाले सावधानी अपनाउन पनि सुझाइएको छ । बक्सअफिसलाई प्रभावकारी बनाउन अन्तराष्ट्रियस्तरमा प्रयोग हुँदै आएका र प्रमाणित सफ्टवेयरको प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

वर्षमा कम्तीमा एउटा अन्तराष्ट्रिय तथा राष्ट्रिय चलचित्र महोत्सव नेपालमा गर्दा फिल्म प्रवद्र्धन हुने माग छ । अहिलेको सेन्सर बोर्ड दृश्य काँटछाँट गर्ने बढी केन्द्रित भएकाले निषेधको सट्टा विशेषज्ञ सम्मिलित समितिमार्फत कार्यान्वयन विधि बनाएर नियमन तथा वर्गीकरण गर्न माग राखिएको छ ।

विदेशी फिल्म छायांकनको सबै प्रक्रिया बोर्ड कार्यालयबाटै एकद्धार नीतिमार्फत अनुमति प्रदान गर्ने वातावरण मिलाउन भनिएको छ । नेपालको सहरोन्मुख नगरमा फिल्म हल निर्माणका लागि आवश्यक सहयोग र वातावरणको निर्माण गरि नीजि तथा सामुदायिक क्षेत्रलाई प्रोत्साहन गर्न माग राखिएको छ ।

सिनेमा निर्माणका लागि आवश्यक पर्ने प्रप्सहरु सहज उपलब्ध गराउनका लागि कार्यविधि तथा छुट लगायतका कार्य गर्न आग्रह गरिएको छ । टुके तथा इसिनेमा केडिएममा भइरहेको सेवा प्रदायक र फिल्म प्रदर्शकको मिलेमतोमा भैरहेको सबै किसिमका सिन्डिकेटको अन्त्य गर्न समेत माग गरिएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार वितरणमा निश्चित मापदण्ड र कार्यविधि बनाएर वितरण गर्दै यसको गरिमालाई उच्च र स्वीकार्य बनाउन यसमा नीतिगत परिवर्तन गर्नुपर्ने खाँचो औंल्याइएको छ ।

Share.

About Author

Leave A Reply