चिनियाँ फिल्म ‘द वे टु प्योर ल्यान्ड’ नेपालमा सुटिङ हुने, भ्रमण वर्ष २०२० सँग सहकार्य घोषणा

0

मेगा बजेटको चिनियाँ फिल्म ‘द वे टु प्योर ल्यान्ड’ छायांकन नेपालमा हुने भएको छ । मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माता, निर्देशक र कलाकारले यसबारे जानकारी दिए ।

फिल्म छायांकनमा नेपाल भ्रमण वर्ष २०२० ले समेत सहकार्य गर्ने भएको छ । भ्रमण वर्ष संयोजक सुरज वैद्यले चिनियाँ स्टारको फिल्म नेपालमा सुटिङ गर्दा नेपालको पर्यटन अभिवृद्धि हुने बताए ।

किम किङ र एलियन किङले निर्देशन गर्ने फिल्मको लोकेसन हन्टिङ गरेर फिल्म युनिट सोमबार काठमाण्डौं फर्किएको थियो । अध्यात्मलाई विषयवस्तु बनाउन लागिएको फिल्मले बुद्ध जन्मथलो नेपाललाई आध्यात्मिक भूमिको रुपमा चिनाउने निर्देशक किङले बताए ।

चिनियाँ ताइवानी स्टार सेलेन मुख्य अभिनेत्रीको रुपमा फाइनल भएकी छन् । प्रेसमिटमा निर्देशक, हिरोइनसहित लेखक रे चेन, निर्माता वे वङ बु र सह–निर्देशक एल्डवाइज उपस्थित थिए ।

पोखरा, चितवन, बन्दीपुर र काठमाण्डूमा फिल्म सुट हुने जानकारी दिइयो । यसअघि सन् २०१३ मा अप इन द वाइन्ड पनि नेपालमा रिलिज भएको थियो । यो फिल्म चाहिँ आगामी अक्टोबर–नोभेम्बरदेखि सुरु गर्ने तयारीमा युनिट छ ।

सरकारले वर्ष २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । नेपालमा घुम्ने आउने पर्यटक मध्ये दोस्रो स्थानमा चिनियाँ पर्यटक छन् ।

Share.

About Author

Leave A Reply