मिडलाइफ क्राइसिसमाथि ‘न यता न उता’ : राउन्ड–टेबल

0

कमेडी ड्रामा ‘न यता न उता’ आगामी साउन १७ गते रिलिज हुँदैछ । मिडलाइफ क्राइसिसको विषयमा निर्माण भएको फिल्मलाई मिराज रोशनले निर्देशन गरेका हुन् । समिरमणी दीक्षित र ऋचा शर्मा लिड रोलमा छन् । मिराज स्वयम प्रोटागोनिस्ट हुन् । यी विविध आयाममाथि उनीहरुले मूभिमान्डुसँग कुरा गरेका छन् ।

फिल्मको कथावस्तुबारे उल्लेख गदिर्नूस न ।
मिराज रोशन : पहिलेका फिल्ममा भौतिक द्धन्द्ध बढी हुन्थे । तर, मलाई लाग्यो, पात्रलाई सबैभन्दा बढी चाहिने आन्तरिक द्धन्द्ध हो । यसले गर्दा मैले सबैभन्दा आन्तरिक द्धन्द्ध बढी हुने समय मिडलाइफ क्राइसिसलाई रोजेँ । यो समयमा इमोसन, फिजिकल्ली बढी द्धन्द्ध हुन्छ । आन्तरिक द्धन्द्ध भएको सब्जेक्ट लिने मन भएकाले ‘न यता न उता’को कन्सेप्टमा फिल्म बनाउने निधो गरेको हुँ ।

नेपाली समाजको मिडलाइफ क्राइसिस र नागरिकको सफरिङसँग फिल्मको कथावस्तुले कति अर्थ राख्छ ?
ऋचा शर्मा : समाजमा हामी एउटा बाउन्ड्रीभित्र बस्या छौं । हामी यो स्टेरियोटाइपबाट स्वतन्त्र हुन चाहन्छौं, खासगरि दक्षिण एसियाको कुरा गर्दा । मैले यहाँनेर मिडलाइफ क्राइसिस देख्छु । हुन त फिल्मलाई पुरुष पात्रले नै निर्देशित गर्छन् । मिडलाइफ क्राइसिस भएर, विदेशबाट नेपाल आएर सुरु भएको उहाँको जर्नीमा हामी सहयात्री मात्र हौं । यी दुईपात्रको नियत गलत छैन र उनीहरु ग्रसित छन् । कथावस्तु समाजसँग जोडिएको छ । निर्देशकले भोगेकै कुरालाई फिल्ममा ल्याउनुभएको छ ।

के कारणले मिडलाइफ क्राइसिस हुँदो रैछ र तपाईंको जीवनको कति नजिक छ फिल्म चाहिँ ?
समिरमणी दीक्षित : नेपालमा ४० देखि ५५ वर्षभित्रको उमेर समूहको प्रतिशत १२ देखि १५ प्रतिशत मात्र छ । त्यसमा म पनि परेँ र मिराज पनि पर्नुभयो । हामीले यो उमेर समूहको प्रतिनिधित्व गर्छौं । ३५ देखि ५५ वर्षभित्रको उमेर न त युवा न त बुढो हो । फिल्मले पनि यही चित्रण गर्छ । यो उमेर समूहभित्र जीवन, भविष्य, परिवार, कमाइ र स्थायित्वलाई लिएर एउटा द्धन्द्ध हुन्छ । यही द्धन्द्ध नै न यता न उता हो ।

आइडियाको सेटअप कसरी भयो ?
मिराज रोशन : म नेपालबाट जर्मनी गैसकेपछि, त्यहाँ मेरो काम खासै केही पनि भएन । जतिबेला नेपाल हुँदा व्यस्त हुन्थेँ । फिल्ममेकिङ पहिलेदेखि नै एउटा प्यासन थियो । नेपाल आएर मज्जाले सोच्ने टाइम पाएँ । सोच्दा लाग्यो, मभित्रका चाहनालाई अब एक्सपोज गर्नुपर्छ । यहाँनेर आएर मैले फिल्म बनाउने सोच पलायो । मिडलाइफ क्राइसिसबारे मैले आफै सोचेको थिएँ र अरुले पनि भने । पर्सनल्ली पनि मिल्ने भएकाले यसमाथि स्क्रिप्ट लेख्ने निधो गरेँ ।

‘न यता न उता’ टाइपका यस्ता मानवीय मूल्य बोकेका अन्डरडग र इन्डिपेन्डेन्ट फिल्मको निर्माण किन जरुरी देख्नुहुन्छ तपाईँ ?
ऋचा शर्मा : धेरै अर्थमा हामीले एउटा स्टेरियोटाइप ब्रेक गर्ने फिल्म बनाएका छौं । मलाई फिल्म अफर गरिँदा दुईटा कुरा क्लिक भएको थियो । पहिलोे कुरा, एउटा मान्छे विदेशबाट फर्किएर फिल्म बनाउँदैछ । यो एउटा प्रभावशाली कुरा थियो हाम्रा लागि । हामी यहीँ बसेर संघर्ष गर्दैछौं । अर्को कुरा, चलनचल्तीबाट पछि हटेर नयाँ कन्टेन्टमा फिल्म बनाउँदै हुनुहुन्छ । यो एउटा जोखिम पनि हो । दर्शकलाई हलसम्म ल्याउने जोखिम र युवाहरुले मनपार्ने भन्दा भिन्न उमेर समूहको ।

हामी अन्डरडग र इन्डिपेन्डेन्ट फिल्म निर्माणमा एकदमै पछाडि परिसक्यौं । बजेटको कारण प्रमुख हो । सामान्य फिल्म बनाउन पनि एक करोड लाग्छ । किनभने नेपाली फिल्मले एउटा बेन्चमार्क सेट गरिसकेको छ । यतिबेला हामीले बेन्चमार्कलाई छाडेर आफ्नै कथावस्तुमा फिल्म बनाउनु जरुरी छ । सानो कथामाथि बनेको एउटा फिल्म अहिले कबड्डी ठूलो फ्रेन्चाइज बनिसक्यो । यसकारण अन्डरडग फिल्म बन्नु जरुरी छ ।

तपाईंले जुन चरित्र निर्वाह गर्नुभएको छ, उक्त पात्रलाई तपाईँ प्रेम गर्नुहुन्छ वा घृणा ?
समीरमणी दीक्षित : जुन पात्र मैले गरेको छ उसले धेरै कुरा सिकाउँछ मलाई । हाम्रो जीवनमा सेकेन्ड, थर्ड, फोर्थ मौका हुन्छ भनेर सिकाउँछ । उक्त पात्रले प्रेरणादायी कुरा सिकाउँछ । समय र परिस्थितीले उसलाई ओरालो लगाएको मात्र हो, ऊ आफैमा नराम्रो मान्छे हैन । आफैमा दिमाग भएको मान्छे हो । केही यस्ता ट्रिगर छन् जसले उसको जीवनलाई पुनः उकास्छ । ती भनेको माया र सम्बन्ध हो । यी भनेका जीवनका ट्रिगर हुन् । यसकारण यी पात्र निकै मनपर्छ । उदाहरणयोग्य पात्र छन् ।

कथावाचनमा तपाईंले किन कमेडीले छनौट गर्नुभयो ?
मिराज रोशन : सबैको लाइफमा प्रब्लम छ । सिरियस बढी छ । कम्प्लेन मात्र छ । हामीले म्यासेज दिने तरिका पनि एउटै भयो । यही कुरालाई हँसिलो तरिकाले दिन खोजिएको हो । मलाई यस्तो कुरामा विश्वास पनि लाग्छ ।

फिल्मभित्र नयाँ र ताजा तत्व के छ ?
ऋचा शर्मा : सबैभन्दा नोबल र रिस्क तत्व भनेकै फिल्मको कथावस्तु मिडलाइफ क्राइसिस छ र कलाकार सबै नयाँ अनुहारका छन् । हामी स्टारडम र सेलिव्रेटीहुडको कुरा गर्दैछौं भने, यहाँ पात्र छन् । जुन पात्र कपाल फुलाएर विदेशबाट आउँछन् र २२ वर्षे ठिटीलाई लिएर जान्छन्, यो हाम्रो समाजको यथार्थ हो । कथामा नयाँपन छ तर, केही जोखिम पनि छ । कथावस्तु स्वयम रिस्क फ्याक्टर पनि हो । जहाँ युवा दर्शकलाई तान्न नसक्ने हो कि भन्ने डर छ ।

Share.

About Author

Leave A Reply