टेलिभिजन : हिमालय रोडिज सिजन-३ घोषणा

0

प्रतीक्षित टेलिभिजन रियालिटी सो हिमालय रोडिजको तेस्रो सिजन घोषणा भएको छ । शुक्रबार राजधानीमा आयोजित समारोहमा सिजन ३ को फिचरबारे जानकारी दिइयो ।

हिमालय टिभीबाट प्रसारण हुने सोजले दुई सिजन सम्पन्न गरिसकेको छ । निर्देशक अमनप्रताप अधिकारीले नयाँ चुनौति, संरचना, अनुहार, शैली र आश्चर्यसहित सिजन प्रस्तुत हुन लागेको बताउँछन् ।

‘सेलिब्रेटी ग्याङ लिडरको नयाँ ढाँचामा तेस्रो सिजन निर्माण गर्दैछौं’ अधिकारीले भने– ‘प्रतिस्पर्धीमात्र हैन, यसपटक सेलिब्रेटी ग्याङ लिडरहरुनै चुनौतीपूर्ण खेलमा सहभागी हुनेछन् ।’

निर्देशक अमनप्रताप अधिकारी सोजका जजका तस्विर अगाडि शुक्रबार राजधानीको सांग्रिला होटलमा पोज दिँदै ।

यसपटक चार सेलेव्रिटी जजले चार ग्याङको नेतृत्व गर्नेछन् । दिया मास्के, आशिष राना ‘लाहुरे’, पहिलो सिजनका बिजेता समन श्रेष्ठ र अभिनेता अनुपविक्रम शाहीले ग्याङ लिड गर्नेछन् । रेमनदास श्रेष्ठले होस्ट गर्नेछन् ।

यो बर्ष पनि नेपालका पाँच मुख्य सहर– धरान, चितवन, नेपालगञ्ज, पोखरा र काठमाण्डौमा अडिसन हुने छ । नेपालगञ्जमा पहिलोपटक अडिसन हुन लागेको हो ।

हरेक सहरबाट १०–१५ जना प्रतिस्पर्धीलाई छनौट गरी चारवटा ग्याङ(समूह)मा बिभाजन गरिने छ । जर्नी राउण्ड सुरु भएपछि छानिएका प्रतिस्पर्धीले बिभिन्न टास्कहरुमा सहभागी भई साहसिक कौशलता प्रर्दशन गर्नेछन् ।

भायाकम–१८ को लाइसेन्स अन्तर्गत रहेर हिमालय टेलिभिजन एचडीले यो कार्यक्रमको अन्तर्राष्ट्रिय प्रशारण अधिकार (इन्टरनेसनल फ्रेन्चाइज) लिई नेपाली दर्शकसमक्ष प्रसारण गर्दै आएको छ ।

‘एचडी प्रविधिमा अपग्रेडसहित हिमालय टेलिभिजनको रिब्राण्डिङ भए पश्चात हामीले पहिलोटक नयाँ ढाँचाको रोडिज नेपाली दर्शकलाई दिन खोजिरहेका छौं’ टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने–‘उच्चस्तरीय प्रविधि, नयाँ ढाँचा र नयाँ गन्तब्यहरुसहित आउन लागेको सिजन–३ दर्शकका लागि साँच्चिकै सरप्राइज हुने छ ।’

Share.

About Author

Leave A Reply