सिनेमा समिक्षा : लप्पन छप्पन

0

के हो नेपाली फिल्म ? के भए नेपाली फिल्म बन्छ ? बहसको थालनी अब सुरु हुनुपर्ने देखिन्छ । व्याकरणकै संकट सिर्जना भैरहेको बेला, यहाँ डिस्कोर्सको चर्चा गर्नु सान्दर्भिक नहोला तर, बहस जरुरी छ । क्वाइन भैरहेको अग्र्यानिक (जैविकता)को अर्थ रुपभन्दा सारमा प्रयत्न गर्नु हो । आवरण कपि नगर्नु र मौलिकता उठान गर्नु हो । मौलिकताको अर्थ आफ्नै द्धन्द्ध र कथाको उठान ।

लप्पन छप्पन रिलिज भएको छ सहरमा । एक वाक्यमा भन्दा मुकुन्द भट्ट निर्देशित फिल्म भारतीय नाट्य शाष्त्रले थिचिएको उत्पादन हो । अझ यसलाई अन्यौल सोचको अन्यौल उत्पादन मान्न सकिन्छ । कमजोर पटकथा र कमजोर निर्देशकीय नियत यसका थ्रेट हुन् । सिनेम्याटिक सिन्ट्याक्स (लेख्य संरचना) समस्या हो । जसले गर्दा दृश्य सौन्दर्य, सम्पादन, छायांकन गडबड छ ।

स्वीस बैंकमा जम्मा गरिएको कालोधन फिर्ता ल्याउनु मुख्य द्धन्द्ध हो । नेता मारेर युरोप भागेको भरत क्षेत्री अर्थात बाँका (सौगात मल्ल), उसलाई समात्न पिछा गरिरहेको प्रहरीको अनुसन्धान अधिकारी टंके (दयाहाङ राई), प्रेमिका बेबी बस्नेत (वर्षा शिवाकोटी) र स्वदेशमै बसेर हप्ता उठाइरहेको चमेरो (अर्पण थापा) वरपर फिल्म फन्को मार्छ । तर, यसभि द्धन्द्ध छैन । केन्द्रिय द्धन्द्ध कमजोर छ । क्राइसिस बलियो भएपनि दर्शकले रिजोलुसन पत्तो पाउँदैनन् । रिजोलुसन नआउँदै सबिन राई गिटार बोकेर पर्दामा आउँछन् ।

लप्पन छप्पन लुट मनोविज्ञानकै श्रृंखलाकै संक्षिप्त उदाहरण हो । द्धन्द्ध, संरचना, मनोविज्ञान, कथ्य संरचना सबै लुटकै रिसाइकल मान्न सकिन्छ । दर्शकले युरोपेली चिल्ला सडक, बुलेट गाडी, ल्यान्डस्केप, स्काइक्रापर भवन देख्छन् तर ती संरचनासँग फिल्मको अपनत्व महसुस हुँदैन । फिल्म अवधिभर यस समिक्षकले पात्र र द्धन्द्धसँग भावनात्मक महसुस गर्न सकेन । जब दर्शकले फिल्मसँग अन्तक्रिया गर्दैनन्, तब उक्त फिल्मको क्राफ्टमाथि प्रश्न उठ्छ ।

सुरुआती आठ मिनेट सशक्त लाग्छ । जब फिल्मभित्र रक गीतको प्रवेश हुन्छ, तब यसले लय गुमाएको छ । लप्पन छप्पनको सकारात्मक पक्ष यसको कास्टिङ हो । प्रायः नेपाली फिल्ममा कास्टिङलाई कास्ट एन्ड क्रिउको नाम प्रस्तुत गर्ने अर्थमा मात्र लिइने प्रवृत्ति छ । तर, लप्पन छप्पनले कास्टिङलाई यसको द्धन्द्धसँग जोडेको छ । फिल्मका केही पात्रहरु ह्याकर हुन्छन् र ह्याङकिङ भीएफएक्सको प्रयोग कास्टिङमा गरिएको छ । यसका लागि निर्देशक भट्ट धन्यवादका पात्र छन् ।

अभिनय र संगीत लप्पन छप्पनका बलिया पक्ष हुन् । नयाँ दुई कलाकारको अभिनय कमजोर महसुस हुन्छ किनभने उनीहरुमा थ्री एक्टको त कुरै छाडौं, वान एक्टमै समेत स्थापित छैनन् । दयाहाङ, सौगात र वर्षाले दर्शकलाई इन्गेज तुल्याउँछन् तर, प्रश्न फिल्म व्याकरणमा छ वा छैन भन्ने हो । प्रश्न भारतीय नाट्यशाष्त्रबाट मुक्त भएर निर्देशकले कति मौलिकता प्रस्तुत गर्न सकेका छन् भन्ने हो ।

फिल्म : लप्पन छप्पन
रेटिङ : २/५
कास्ट : दयाहाङ राई, सौगात मल्ल, वर्षा शिवाकोटी

Share.

About Author

Leave A Reply