बिपिन कार्की स्टारर ‘सेल्फी किङ’ घोषणा : यस्तो छ लाइनअप र सिनोप्सीस

0

आइतबार निर्माण घोषणा भएको फिल्म ‘सेल्फी किङ’को बटमलाइन हो : एउटा सेलेव्रिटीले आफ्नो ख्याती र व्यक्तिगत जीवनलाई सन्तुलन मिलाउन गर्ने संघर्ष ।

उक्त सेलेव्रिटी पात्रको नाम चाहिँ गोपाल राखिएको छ जुन पर्दामा चर्चित टेलिभिजन हाँस्यकलाकार हुन्छ । यही चरित्र चित्रणमा विपिन कार्कीले अभिनय गर्दैछन् ।

‘प्रसाद’ निर्माता सुवास थापा र निर्देशकबाट निर्माता बनेका दिनेश राउतले सहकार्य गरेका छन् । ड्रामा, कमेडी र रोड मूभि जनरमा बन्ने फिल्मलाई विशाल सापकोटाले डेब्यु निर्देशन गर्दैछन् ।

आयोजित घोषणा समारोहमा सोधिएको एक जिज्ञासामा निर्माता राउतले भने, ‘विशालजी र मबीच विचारको लेभल मिल्ने भएकाले फिल्म गर्न तयार भएका हौं । अर्कोतर्फ उहाँको क्षमताले पनि आकर्षित गर्न सक्यो ।’

यसअघि आधादर्जन फिल्म निर्देशन गरिसकेका राउत यही फिल्मबाट निर्माता बन्दैछन् । निर्देशक सापकोटाले गाना–बजाना फिल्ममा नरहेको बताए । ‘यसमा नाचगान छैन र हामीले दर्शकलाई नयाँ स्वाद दिने प्रयत्न गरेका छौं’ उनले भने ।

अभिनेता कार्कीले आफू समेतका धेरैजना सेलेव्रिटीको जीवनको वास्तविकतालाई फिल्मले चित्रण गर्ने बताए ।

सिनोप्सीस यस्तो छ : एक चर्चित टिभी हाँस्यकलाकार गोपाल जो सेल्फी किङ भूमिकाको लागि प्रख्यात छ । सांस्कृतिक कार्यक्रममा भाग लिन ऊ काठमाडौंदेखि सोलुखुम्बुतर्फ लाग्छ । यात्राको क्रममा आफूले पाएको सफलता र व्यक्तिगत जीवनबीच सन्तुलन ल्याउन संघर्ष गर्छ ।

लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, राजेश विसुरालको पनि अभिनय हुनेछ । केकी अधिकारीले केमियो भूमिका गर्ने जानकारी दिइयो ।

पटकथा र निर्देशन सापकोटा, छायांकन सुसन प्रजापति, सम्पादन जीवन थापा, सुवास भुषाल संगीत लगायत हुनेछ । भदौ २४ गतेदेखि सोलुखुम्बुमा छायांकन हुने फिल्मको प्रदर्शन मिति वर्ष २०२० लाई घोषणा गरिएको छ ।

Share.

About Author

Leave A Reply