फिल्म समिक्षा : पासवर्ड

0

विष्णु शर्मा
रेटिङ : १/५

मूर्ति चोरीका हेडलाइनले वितेका वर्षमा अखबारी लेखनमा चर्चा बटुले । विदेशमा लुकाइएका यस्ता पुरातात्विक मूर्ति केही फिर्ता भए, केही छैनन् र स्वयम राज्य सम्पदा संरक्षणमा जिम्मेवार छैन । सम्राट बस्नेत निर्देशित फिल्म ‘पासवर्ड’ले चाहिँ बिक्रीका लागि बेलायतमा लगिएको पशुपतिनाथ मन्दिरको मूर्तिलाई फिर्ता ल्याउन गर्ने संघर्षको कथा भन्छ ।

लकरमा पासवर्डसहित सुरक्षित राखिएको शिव मूर्तिलाई प्राप्त गर्न यसका मुख्य पात्रले लड्ने लडाइ वरपर फिल्म घुम्छ । मूर्ति बेचेर पैसा कमाउने सपना देखेको जोजो (अनुपविक्रम शाही), मूर्ति पनि चाहने र पासवर्डका लागि केटीसँग प्रेम गाँस्न खोज्ने विक्की (विक्रम जोशी), मित्रताभन्दा पाउन्ड महत्वपूर्ण मान्ने मंगले (बुद्धि तामाङ) फिल्मका महत्वपूर्ण चरित्रहरु हुन् । फिल्मले प्रहरीसँग मूर्ति चोरीको नेक्सस पनि देखाउँछ ।

तर, फिल्म इस्यु होइन, त्यसको प्रस्तुतिकरण हो । कथावस्तु अर्थपूर्ण भएपनि पासवर्ड कथावाचन कमजोर छ । द्धन्द्ध, चरित्र, सम्बन्ध, मनोविज्ञानको फितलो स्थापना यसका कमजोर आयाम हुन् । फिल्म व्याकरण ‘पासवर्ड’मा अपेक्षित छैन । पुनः नेपाली फिल्ममा पटकथा लेखनको पक्ष कमजोर रह्यो । पासवर्डमा अभिनय (बुद्धि तामाङ बाहेक), सम्पादन, छायांकनका पक्ष पनि भयंकर फितलो छन् ।

फिल्मसँग आत्मा छैन । यसो हुनुमा निर्देशकीय नियत आवरण बेच्नेतर्फ उन्मुख छ । चित्रलाई ग्लसी तुल्याउनु र लार्जर द्यान लाइफको मनोविज्ञान सिर्जना गर्न खोज्नुतर्फ निर्देशकीय प्रयत्न केन्द्रित छ । जसले गर्दा पासवर्डले आत्मा गुमाएको छ । यसो हुनुमा निर्देशकको स्टन्ट करियोग्राफीको पृष्ठभूमि जिम्मेवार छ । निर्देशकले हरेक इभेन्टलाई एक्सन कोरियोग्राफीको एंगलबाट हेर्न चाहेका छन् । उनले मान्छे र उसको विचारलाई बिर्सिदिएका छन् ।

पछिल्लो समय नेपाली फिल्मसँग कथा छ, प्रविधि छ तर प्रविधिमार्फत पटकथालाई भन्ने बौद्धिकता छैन । यो सेन्स र सेन्सुआलिटीको विकास अहिलेको खाँचो हो । ज्ञानको निर्माणमा दृश्य माध्यमको आवश्यकता अहिले जरुरी देखिन्छ ।

लन्डनको भव्यता र सेटिङमा खिचिएको पासवर्डसँग पात्रको मुड छैन । नेपालबाट मूर्ति फिर्ता ल्याउन मिसनमा पुगेका प्रहरी पनि प्रहरीभन्दा बढी जोकर महसुस हुन्छन् । क्राइम थ्रीलर जानराको फिल्म निर्माण गर्दा सम्बन्धित देशको अध्यागमन, अपराध र नागरिक कानुनको अध्ययन गर्नु जरुरी छ जुन पासवर्ड लेखनमा सामान्य अध्ययन पनि गरिएको छैन । अपराधको सानो घेरामा पात्रहरु छन् र उनीहरु सजिलै मान्छे मार्छन् र कानुनले छुँदैन, पासवर्ड यस्तै भन्छ ।

पासवर्डमा प्रहरीको अपराध नेक्सस देखाइएको छ । नेपाल प्रहरीको अन्तराष्ट्रिय छविमा यो ठूलो चुनौति हो । किनभने राष्ट्रसंघिय नियोग युनेस्कोले विश्व सम्पदा सूचिमा नेपाललाई जोखिमयुक्त मुलुकमा राखिसकेको छ । मिसनमा खटाइएका प्रहरीका एकजना मुख्य पात्र (प्रविण खतिवडा) फोन स्वीच अफ गरेर मूर्ति लिएर फरार हुन्छन् । यसको अर्थ फिल्मको सिक्वेल निर्माण गर्नको लागि हुनसक्छ । तर, कथाभन्दा ग्लसी एक्सनकै लागि फिल्मको लागि पैसा लगानी गर्नु जरुरी छैन ।

भारतीय मूलकी क्यानडेली अभिनेत्री सन्नी लियोनीको एउटा आइटम नृत्यले दर्शकले रुचाउन सक्छन् । तर, पासवर्ड बिर्सनलायक फिल्म हो, जससँग प्रभावित हुनुपर्ने कुनै कारण छैन ।

निर्देशक : सम्राट बस्नेत
कास्ट : विक्रम जोशी, अनुपविक्रम शाही, बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा, परी राना, विक्रान्त बस्नेत, लिसा सुनार
पटकथा : महेश दवाडी, सम्राट बस्नेत
निर्माता : अमित बस्नेत, हिरल जोशी

Share.

About Author

Leave A Reply