सृष्टिलाई सिफारिस गरेको छैन, हामीमाथि मानहानी भयो : सौगात मल्ल

0

सौगात मल्ल अहिले मिडियामा आउने एउटा न्यूजले तनावमा छन् । प्रेमिका सृष्टि श्रेष्ठलाई आफूले फिल्ममा सिफारिस गर्ने भन्ने न्यूज आउँदाको हैरानी उनले आइतबार आयोजित आफू अभिनित फिल्म ‘पोइ पर्‍यो काले’ फिल्म प्रेसमिटमा पोखे ।

उनले हैरानी पोखिरहँदा छेउमा थिइन सृष्टि । उनको अनुहारमा पनि हैरानीका धर्सा प्रष्ट देखिन्थे । ‘यो सरासर गलत हो । मैले कहिँकतै सिफारिस गरेको छैन । यसलाई हामीले मानहानी मानेका छौं । सृष्टि आफैमा सक्षम कलाकार हो’ सौगात सुनिए ।

सृष्टिले पनि सौगातको भनाइमा स्वर मिलाइन् । ‘मलाई समेत नरमाइलो लागेको छ’ उनले भनिन् । आफूहरु लामो समय रिलेसनसिपमा भएकाले मिडियाले त्यसो भनेको हुनसक्ने अड्कल काट्दै उनले सिफारिसको कुरा चाहिँ गलत भएको तर्क पेश गरिन् ।

एक प्रश्नमा चाडै र उपयुक्त समय आउने वित्तिकै विहे गर्ने कुरा पनि उनीहरुले गरे । सौगातमा लायकको पतिमा हुनुपर्ने गुण रहेको भन्दै सृष्टिले प्रशंसा समेत गरिन् ।

‘पोइ पर्‍यो काले’ वर्णविभेदविरुद्ध
सृष्टिले यो फिल्म रङको आधारमा हुने विभेदविरुद्धको प्रस्तुतिकरण रहेको बताइन् । ‘पति कालो रङको पर्दा त्यसलाई हेयको दृष्टिकोणले हेर्न चलन छ, रङको आधारमा हुने यस्तो विभेद चाहिँ गलत हो’ उनले भनिन् ।

फिल्ममा मिसिगोनिस्ट (स्त्रीलाई घृणाको व्यवहार गर्ने) कथावस्तु समेत रहेको सृष्टिले जनाइन् । फिल्ममा उनी आकाश खड्काको जोडीको भूमिकामा छिन् भने सौगात चाहिँ पूजा शर्माको अपोजिटमा । नेपाली परिवारको कथावस्तु फिल्ममा चित्रण भएको सौगात कथन छ ।

‘चपली हाइट’ र ‘रामराम’ छाडेँ
सौगातले अहिले आएर बल्ल आधिकारिक रुपमा ‘चपली हाइट ३’ र ‘रामराम’ फिल्म छाडेको भन्दै मुख खोलेका छन् । निर्माता टीमसँग व्यवसायिक सहकार्य गर्न कठिन भएकाले आफूले फिल्म छाड्नुपरेको जानकारी मल्लले प्रेसमिटमा दिए ।

‘चपली हाइट ३’मा सौगात र सृष्टि दुबै फाइनल थिए । तर, पारिश्रमिक र स्क्रिप्टको कुरा नमिलेपछि उनले छाडे । तर, सौगातले ‘लप्पन छप्पन २’को छायांकन समयले गर्दा आफूले यी दुबै फिल्म गुमाउनु परेको नयाँ तर्क पनि अघि सारे ।

‘पोइ पर्‍यो काले’ कात्तिक ८ गते रिलिज हुँदैछ । लक्ष्मीपूजाको दिनमा निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर ‘घामड शेरे’ र अर्को एक फिल्म ‘लक्ष्मीरानी’ समेत रिलिज हुँदैछन् ।

Share.

About Author

Leave A Reply