तीन भारतीय कलेजसँग मिलेर अस्करले फिल्म पढाउने

0

फिल्मको स्नातक तहसम्म पढाउँदै आएको अस्कर कलेजले भारतीय फिल्म कलेजसँग पठनपाठनमा सहकार्य गर्ने भएको छ । केही दिनअघि भारतको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट र नेसनल स्कुल अफ ड्रामाका डिन तथा पदाधिकारीलाई भेट्दै औपचारिक रुपमा सम्झौता भएको हो ।

अस्करको तर्फबाट एकेडेमिक निर्देशक मनोजबाबु पन्त, एकेडेमिक को–अर्डिनेटर नवविजय श्रेष्ठ र ध्वनी विभागका आलोक तिवारीले तीनै संस्थाका पदाधिकारीलाई भेटेका थिए । पन्तले भ्रमणमा महत्वपूर्ण सम्झौता भएको जानकारी गराए ।

‘एकेडेमिक कोर्स डिजाइन गर्नेदेखि फ्याकल्टी आदान प्रदान गर्नेसम्म सम्झौता भएको छ । फिल्म पढाउने सवालमा उनीहरुको इतिहास लामो छ । त्यसैले पनि यो सम्झौताले दीर्घकालीन फाइदा हुने अपेक्षा राखेका छौं,’ उनले भने ।

पन्तका अनुसार भ्रमणमा कलेजका विद्यार्थीलाई वार्षिक प्रशिक्षणसँगै कार्यशालाका लागि उनीहरुले स्रोत व्यक्ति उपलब्ध गराउनेसँगै विद्यार्थीले बनाएका फिल्म पनि एक अर्काको देशमा देखाइने सम्झौता भएको पनि बताएका छन् ।

सह–संयोजक श्रेष्ठले निर्देशन, स्क्रिप्ट, सम्पादन, साउन्ड डिजाइन, अभिनय र छायांकन विधामा शिक्षक साटासाट गर्ने सम्झौता भएको बताए । ‘सरकारी तहमै द्धिपक्षीय सम्बन्ध विकास गर्ने कुरा भएको छ । यसले समग्र नेपाली फिल्म क्षेत्रलाई लाभान्वित पुग्न सक्छ’ श्रेष्ठले भने ।

पुनास्थित फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट र दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा सरकारी कलेज हुन् । अस्कर कलेज पनि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो ।

Share.

About Author

Leave A Reply