‘छ माया छपक्कै’ ट्रेलर : जब दीपक–केकीको प्रेममा राजनीति बाधक बन्यो

0

‘छक्का पञ्जा’ सिरिजको विशेषता भनेकै कमेडीमार्फत सामाजिक मुद्दालाई भन्नु हो । तर, यसपटक दीपकराज गिरी र दीपाश्री निरौला राजनीतिभित्रको प्रेम उत्खनन गर्दैछन् ।

उनीहरुले निर्माण गरेको नयाँ फिल्म ‘छ माया छपक्कै’ले एक राजनीतिक कार्यकर्ता र एक साधारण युवतीबीचको प्रेमलाई चित्रण गर्छ । ‘हामीले छक्का पञ्जा बनाएका होइनौं र दर्शकलाई छक्का पञ्जासँगको हाम्रो अपेक्षा टुटाउनु पनि छ’ वान सिनेमाज मल्टिप्लेक्समा आयोजित ट्रेलर लन्च प्रेसमिटमा गिरीले भने ।

बरु, फिल्मका अनेक जनरका स्वाद दर्शकलाई भन्नु आफूहरुको उद्देश्य रहेको तर्क गिरीले पेश गरे । यसअघि उनीहरुले राजनीतिक कन्टेन्टमै वडा नम्बर ६ बनाएका थिए । ‘छ माया छपक्कै’को विषयवस्तुलाई दर्शकले कसरी लिन्छन् भन्ने कौतुहलता छ ।

ट्रेलरले फिल्मभित्रका ठूला प्लट खुलासा गरेको छ । जसलाई तपाईँ स्पोइलर भन्न सक्नुहुन्छ । दीपक एक कम्युनिष्ट कार्यकर्ता हुन्छन् र साधारण युवती केकीसँग उनी प्रेममा पर्छन् । राजनीति यी दुई जोडीको प्रेमलाई बाधक बन्छ । ‘यो एउटा अलग खाले लभस्टोरी पनि हो’ गिरीले प्रष्ट पारे ।

असोज २४ गते रिलिज हुने फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । आमा सरस्वती मूभिज र रोहित अधिकारी फिल्म्सको ब्यानरमा बनेको फिल्ममा जितु नेपाल, केदार घिमिरे लगायतको पनि अभिनय छ ।

Share.

About Author

Leave A Reply