फिल्म समिक्षा : कबड्डी कबड्डी कबड्डी

0

विष्णु शर्मा
रेटिङ : ३.५/५

समिक्षकको रुपमा ‘कबड्डी ३’ हेरेपछि मैले दुई कुरामा सन्तोष मानेँ । पहिलो : सामाजिक प्रक्रियाको चित्रण । दोस्र्रो : निर्देशकबाट स्टोरी टेलरको रुपमा माथि उठ्न प्रयत्न गर्ने रामबाबु गुरुङको हैसे ।

हालै एउटा पडकास्ट सुन्दै थिएँ, जहाँ तीनपटक अस्कर जितेका निर्देशक अलेजान्द्रो इनारितु गुनासो गर्दै थिए : विश्व फिल्मको स्टोरी टेलिङ टेलिभिजनबाट प्रभावित भयो, जसलाई यथाशक्य रोक्नु जरुरी छ ।’ कमसेकम ‘कबड्डी ३’ यो जोखिमको वृत्तबाट बाहिर छ ।

सिक्वेल बनाउँदै हुनुहुन्छ भने दुई कुराको फाइदा सुरुमै हुन्छ । पात्र र सेटिङ स्थापना गर्नुपर्दैन (अपवादबाहेक) र ब्रान्डभित्र बजार, त्यसको जोखिम र प्रतिफलमा चिन्ता गर्नुपर्दैन । सुपरहिट ‘कबड्डी’को तेस्रो सिरिजको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएको छ र यससँग नेपाली फिल्मको मास डिफाइन पनि गाँसिनेछ ।

यसपटक नौरीकोटको कथामा घान्द्रुक मिसिएको छ । जातिय विविधता, पर्यटकीय थलो र त्यसभित्रको द्धन्द्धको कारण यी दुई थलो निकै सुन्दर लाग्छन् । सौन्दर्यभित्रको निर्ममता गजब लाग्छ ।

वीरकाजी (दयाहाङ राई) यसपटक डिप्रेस्ड छन् मैंया (रिस्मा गुरुङ)को प्रेममा । उसलाई घरबाट विहे गर्न दबाब छ । द्धन्द्ध अघि बढ्दै जाँदा वीरकाजी काशी (उपासनासिंह ठकुरी)सँग नजिकिन्छ । तर, काशीसँग उसको ब्वाइफ्रेन्ड ध्वाँसे (कर्म) छ । जात नमिलेपछि यी दुई विहे गर्न सक्दैनन् । द्धन्द्ध यतिबेला उत्कर्षमा पुग्छ जतिबेला काशीकी आमा (लुनिभा तुलाधर) आफ्ना भान्जा धनकाजी (विल्सनविक्रम राई)सँग विहे गर्न दबाब दिन्छिन् ।

अन्तरजातिय र स्वजातिय प्रेमको द्धन्द्ध कबड्डी ३ को बटमलाइन हो । तेस्रो सिरिजमा तपाईँले नयाँ कुनै कुरा अपेक्षा गर्न सक्नुहुन्न । यो अघिल्ला दुई सिरिजको मनोवैज्ञानिक रिसाइकल नै हो । यद्यपी, पटकथाको लयले दर्शकलाई झन्झट हुन दिँदैन ।

कमेडी ट्रिटमेन्ट, भावनाको ट्रान्सफर, चरित्रहरुको गहिराइ, उनीहरुको दर्शन र रमाइला पंचलाइनले कबड्डी ३ लाई हेर्नयोग्य तुल्याइदिएको छ । यसपटक निर्देशक गुरुङले थकाली समुदायको वैवाहिक सामाजिक प्रक्रियाको चित्रणमा मिहेनत गरेका छन् । अघिल्ला दुई सिरिजसँगको द्धन्द्ध, इमोसन र भिजुअल मोन्टाजले दर्शकलाई नोस्टाल्जिक मात्र तुल्याउँदैन, पुरानै कबड्डीको छेउछाउ लगिदिन्छ । यसो हुनुमा उपेन्द्र सुब्बासँग निर्देशक गुरुङको टीमअप महत्वपूर्ण छ । यी दुईजना समाज र साहित्य बुझ्छन् ।

सबै अभिनेताको अभिनय कन्भिन्सिङ छ । उपासनाको थकाली कास्टिङ राम्रो छ । उनलाई मंगोलाइड तुल्याइएको छ । उनले अझै पनि अभिनयको सुक्ष्मता (इन्सिटिङ्ट) र नुसेन्समा मिहेनत गर्नुपर्ने देखिन्छ । क्रेजी ब्वाइफ्रेन्डको भूमिकामा कर्म कबड्डी ३ मै दर्शनीय छन् । कर्मको पात्रले कथित अन्तरजातको पर्खाल तोड्छ र काशीलाई आफ्नो बनाउँछ । दयाहाङसहितका अन्य पात्रको अभिनय स्वभाविक र स्टेरियोटाइप नै महसुस हुन्छ ।

गीत फिलर लाग्दैन किनभने पटकथाको लयसँग टाइमिङ मिलेको छ । क्लाइमेक्सलाई अझै द्धन्द्धको उचाइमा लैजान सकिन्थ्यो । जम्प कटिङ सम्पादन अर्थपूर्ण र स्वभाविक लाग्छ । पाश्र्वध्वनी र दृश्य मनोविज्ञानबीच एकखाले सम्बन्ध छ र कतिपय दर्शकलाई मुस्ताङी ल्यान्डस्केप र ब्याकग्राउन्ड स्कोर सुन्दा हिलिङ थेरापी पनि लाग्नसक्छ । मलाई हिजोआज लाउड फिल्म र पात्र मनपर्न छाडे । म यस्तै शान्त र मिजासिला पात्रको आफ्नै द्धन्द्धभित्र मजा लिन सक्छु ।

नेपाली फिल्ममा सामाजिक–जातिय आख्यानको चित्रण कमै हुने गर्छ । कबड्डी ३ को मर्म भनेकै सोसियो–एथ्निसिटी विषय हो । तर, यसबीचमा एउटा प्रश्न उठ्छ : के जातिय चेतना र उदारवादको यति विकास हुँदा पनि जनजातिभित्र विहेलाई लिएर पुरानै चेतना एवं संस्कार विद्यमान छ ? के उनीहरु अन्तरजातिय विहेलाई लिएर नरम हुनसक्दैनन् ? विहे, मृत्यु, जन्मजस्ता संस्कारमा आएको जातिय चेतनाको परिवर्तन कबड्डीको डीएनएसँग एउटा प्रश्न बन्न सक्छ ।

थकाली र गुरुङ युवतीहरु सजिलै परिवार, बाबु र ब्वाइफ्रेन्डबाट म्यानुपुलेट कसरी हुनसक्लान् ? उनीहरुमा स्वतन्त्रपूर्वक निर्णय गर्ने क्षमताको विकास हुनसक्दैन ? काशी नामक पात्रको अन्यौल मूभमेन्ट र सजिलै म्यानुपुलेट हुने उसको चरित्र अर्को प्रश्न बन्न सक्छ । अर्कोतर्फ काशीका बाउआमा किन झगडा गर्छन् भन्ने कारणको स्थापना गरिएको छैन, यसमा केही कन्फ्युजन छ ।

कबड्डी ३ हेर्नयोग्य फिल्म हो । ब्रान्डमात्र भएर होइन, प्रदुषित फिल्मबाट वाक्कदिक्क भएका दर्शकलाई कबड्डी आँखा र मनलाई शीतल पर्ने थेरापी समेत हो । तपाईं मैंयालाई काजीले पाउँछ वा पाउँदैन भन्ने कुरा मनमा मात्र लिएर हलमा नजानूस, बरु मैंयाको फोटो पानीमा बगाइदिने काजीको अपरम्पार प्रेम र सिद्धान्त बुझ्न जानूस । छन्त्याल र बिकेको कथा हेर्न जानूस । अन्त्यमा, रिजोलुसन फिल्मको सुन्दर पक्ष हो । जसलाई कबड्डी ४ बनाउन मार्ग प्रशस्त गरिएको छ ।

निर्माता : मणिराम पोखरेल, अर्जुन कार्की, ओमचन्द रौनियार
निर्देशक : रामबाबु गुरुङ
कास्ट : दयाहाङ राई, रिस्मा गुरुङ, उपासनासिंह ठकुरी, कर्म, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, लुनिभा तुलाधर

Share.

About Author

Leave A Reply