साम्प्रदायिक सहिष्णुता घामपानीको सन्देश : दीपेन्द्र लामा (संवाद)

0

लामो समय सिनेमा समिक्षामा सक्रिय दीपेन्द्र लामा अब निर्देशक बन्दैछन् । उनी निर्देशित ‘घामपानी’ बैशाख १ मा रिलिज हुँदैछ । अन्तरजातिय प्रेमलाई पर्दामा चित्रण गर्न लागेका उनले फिल्म समिक्षा र फिल्म निर्देशनका आयामबारे हामीसँग कुरा गरे । उनले हामीसँग ‘घामपानी’ हेर्नुपर्ने सैद्धान्तिक र वस्तुगत कारण पनि पेश गरे । यो अन्तवार्तालाई तपाईं अडियोमा समेत सुन्न सक्नुहुन्छ ।

के ‘घामपानी’ समकालिन समाजसँग सान्दर्भिक छ ? जातिय विभेदको असरलाई कसरी फिल्ममा चित्रण गर्नुभएको छ ?
मैले यसमा सान्दर्भिक कथा नै उठाएको छु । जातिय विभेद भन्दा पनि एउटा जातले अर्को जातलाई नस्वीकार्ने भन्ने खालको मनोविज्ञान विकास भैरहेको छ । पहिला पनि थियो । त्यही मनोविज्ञानमा उभिएर अन्तरजातिय प्रेम विवाहको कथा मैले यसमा प्रस्तुत गरेको छु । कथा अहिले पनि सान्दर्भिक छ । यसले सहअस्तित्वको सवाल उठाउँछ । हामी समाजमा फरक जात र समुदायसँग मिलेर बसेका छौं । फरक जातबीचको सहिष्णुतालाई बलियो बनाउनुपर्छ भन्ने मेरो आग्रह हो ।

 

 

निर्देशकको रुपमा तपाईंको नियत जातिय द्धन्द्धको चित्रण गर्नु हो वा जातिय ‘एक्टिभिजम’ गर्नु हो ?
एक्टिभिजम अलिकति छ तर जातिय एक्टिभिजम होइन । विगतमा अन्तरजातिय भन्ने वित्तिकै बाहुन र दलितको कथा हुन्थे । यसमा चाहिँ बाहुन र जनजाति पात्रको सरल किसिमको द्धन्द्ध उठाएको छु ।

घामपानी कथा परम्परागत जस्तो लाग्दैन ? फिल्ममा कस्तो जोखिम र ताजा तत्व समेटिएको छ ?
विगतमा बाहुन र दलितको अन्तरजातिय कथामा फिल्म बन्थे । मैले चाहिँ बाहुन र जनजाति पात्रलाई उठाएको छु । किनभने, जनजाति र बाहुनले एकअर्कालाई पुरै स्वीकार्दा पनि स्वीकार्दैनन्, ठूलो बबन्डर पनि मच्चाउँदैनन् । यसमा बाहुन युवती र तामाङ युवकबीचको प्रेमकथा छ । केटीको बाउले समाधानको उपाय कुटनीतिक हिसाबले खोज्न थाल्छ । यसमा कथा अगाडि बढ्छ । यसमा परिवेश, भिजुअल ल्यांग्वेज, कलाकारले कसरी अभिनय गरेको छ भन्ने हिसाबले पनि अर्थ राख्छ ।

क्राफ्टभन्दा एजेन्डाले फिल्म थिचिएजस्तो लाग्दैन ?
मेरो कथालाई मैले ठूलो एजेन्डाको रुपमा प्रचारप्रसार गरेको छैन । सामाजिक अभियान चलाउन पनि खोजेको हैन । मेरो उद्देश्य भनेको हलसम्म आउने दर्शकलाई २ घन्टा मनोरन्जन दिलाउने हो । निर्देशकको रुपमा मैले अभिव्यक्त गरेको कुरालाई दर्शकले गम्भिररुपमा सोचिदिउन भन्ने मेरो इच्छा हो ।

नेपालमा बन्ने यस्ता फिल्मको मुख्य समस्या भनेको सम्बन्धित जातिय पात्र र संस्कृतिको सामाजिक जीवनलाई राम्रोसँग चित्रण नगरिनु थियो । यो खतरबाट ‘घामपानी’ कति मुक्त छ ?
टाइम फ्रेमभित्र रहेर हामीले पात्रलाई जीवन्त बनाउने प्रयास गरेका छौं । पात्रसँग जोडिएर आउने उसको सांस्कृतिक, साम्प्रदायिक र मनोविज्ञानलाई सकेसम्म विश्वसनिय बनाउने प्रयास गरेका छौं । एउटै टोलमा बस्ने भएपनि उनीहरुको मनोविज्ञान, संस्कृति, खानपिन, घरको बनावट, इन्टेरियर, एक्सटेरियरमा मैले मिहेनत गरेको छु ।

‘घामपानी’ निर्माता, बजार वा अन्य प्रभावहरुको उत्पादन हो वा तपाईंको विशुद्ध सिर्जनात्मक योगदान र लगानी छ ?
अहिलेको परिप्रेक्ष्यमा फिल्म भनेको निर्देशकले मेरो एक्लो अभिव्यक्तिको माध्यम हो भनेर बनाउन सक्ने अवस्था छैन । अहिले नेपालमा सत्तरी असी लाख लगानी गर्नु भनेको एकदमै गाह्रो कुरा हो । पैसा जुटाउन गाह्रो हुन्छ । मैले चारवटा कम्पनीको सहकार्यमा फिल्म बनाएको हुनाले चारजनाकै चारथरी अपेक्षा हुन्छ । ती अपेक्षा पुरा गर्न विभिन्न थरीका कम्प्रमाइजहरु गर्नुपर्ने अवस्था आउन सक्छ । कलाकार छनौट, विषयवस्तु उठान, फिल्मलाई वास्तविक बनाउने कि व्यवसायिक गर्ने कि, म्युजिकल वा ह्युमरस बनाउने कि विषयमा निर्देशकको पूर्ण नियन्त्रण हुँदैन ।

‘घामपानी’ कबड्डी सिरिज र पुरानो डुंगाकै अर्को संस्करण हो वा संरचना वा मनोविज्ञानका हिसाबले ती दुईटा भन्दा कुन अर्थमा भिन्न छ ?
‘कबड्डी’ र ‘पुरानो डुंगा’मा स्टोरी टेलिङ जुन यथार्थ छ, ‘घामपानी’मा पनि रियालिस्टिक नै छ । यसमा हामीले फेन्टासीहरु देखाएका छैनौं । एउटा हिरोले १० वा १५ जना गुन्डालाई कुट्ने खालको दृश्य पनि छैन । हिरो-हिरोइनले गीत गाएर रुख वरपर नाच्ने, बगैंचामा नाच्ने गीतहरु पनि छैन । ‘कबड्डी’ र ‘पुरानो डुंगा’सँग जोडेर हेर्नुको कारण यसका कार्यकारी निर्माता रामबाबु गुरुङ हुनुहुन्छ । आफू तामाङ भएको हुनाले मैले तामाङ गाउँको कथा उठाएको छु । कतिपय कथाहरु उस्तै हो कि भन्ने खालको पर्न पनि सक्छ । तर, दुईटा फिल्मभन्दा फरक छ भन्ने ग्यारेन्टी चाहिँ दिन्छु ।

राम्रा कथावस्तुमा बनेका सानो बजेटका ‘घामपानी’जस्ता फिल्महरुको चुनौति के हो ? यस्ता फिल्मले बजारको दबाबमा आफ्नो अस्तित्व कसरी निर्माण गर्छन् ?
‘घामपानी’ महंगै बजेटको हो । दयाहाङ र केकी अधिकारीको बजेट पनि महंगै हो । शैलेन्द्र डी कार्की नेपालकै महंगा क्यामेराम्यान हुन् । निर्देशक र लेखकको रुपमा मैले पनि राम्रै पारिश्रमिक लिएको छु यसमा । यसकारण कलाकार, प्राविधिक सबैको पारिश्रमिक जोड्ने हो भने सस्तो बजेटको होइन । विगतमा फिल्म समिक्षा गर्थेँ । तर, उक्त परिचयले फिल्म कमर्सियल्ली सफल हुन प्रशस्त छैन किनभने विगतमा मैले फिल्म बनाएको छैन । मेरो नामले दर्शक फिल्म हेर्न आउँछन् भन्ने भ्रम चाहिँ ममा छैन । ट्रेलर हेरेर जति दर्शक प्रभावित हुन्छन्, उनीहरुले फिल्म हेर्ने हो ।

फिल्म समिक्षाले फिल्म निर्देशन गर्न कसरी सहयोग पु¥याउँछ ? फिल्म क्रिटिक्स बन्नु र निर्देशक बन्नु भनेका कस्ता कुरा हुन् ?
गम्भिरतापूर्वक फिल्म निर्देशन गर्ने हो भने देशी विदेशी फिल्म हेर्नुपर्छ । भारत, चीन, फ्रान्स, इरान, अमेरिका, ल्याटिन अमेरिकाका शाष्त्रिय फिल्म हेर्नुपर्छ । ती फिल्महरु के कारणले गर्दा संसारमा गणनायोग्य भए भन्ने विश्लेषण गर्नुपर्छ । यसो गर्दा फिल्मको सैद्धान्तिक पक्षको धेरै ज्ञान हुन्छ । मैले पनि थोरबहुत नलेज हासिल गरेँ । त्यो नलेजले मलाई फाइदा चाहिँ पुगेको छ । फिल्म समिक्षा गर्नु र फिल्म निर्देशन गर्नु अलग कुरा हो । कुुखुराले फुल पार्नु र त्यो फुलबाट अमलेट बनाउनु भनेको अलग कुरा हो । सम्बन्धको नाताले मैले फिल्म बनाउन पाएँ । नत्र फिल्म बनाउन क्रिटिकले सजिलै बनाउन सक्दैन बाहिर चाहिँ ।

तपाईंसँग कस्ता सैद्धान्तिक आधार छन् जसले गर्दा दर्शकले ‘घामपानी’ हेर्नुपर्छ ?
मैले जतिसुकै सिद्धान्तको कुरा गरेपनि त्यसमा दर्शकको रुचि नहुनसक्छ । दर्शकले मलाई सुरुमा दीपेन्द्र लामा भनेर समिक्षकको रुपमा स्वीकारे । मैले फिल्म समिक्षा गर्दा पाठकबाट उत्साही हुने खालका प्रतिक्रिया प्राप्त हुन्थ्यो । दीपेन्द्र लामाले निर्देशकको रुपमा कस्तो काम गरेको छ भनेर जान्न मन लागे फिल्म हेर्दा राम्रै हुन्छ । यो एउटा प्रोसेस पनि हो । क्रिटिक कसरी फिल्म निर्देशनमा आए भनेर प्रोसेसको अध्ययन गर्न चाहनेलाई पनि घामपानी फिल्म हेर्न जरुरी छ । दीपेन्द्रले सुरुमा राम्रो समिक्षा लेख्थ्यो र घामपानी पनि राम्रै बनाएको छ भन्ने ग्यारेन्टी चाहिँ म दिन्न । त्यो दर्शकले नै समिक्षा गर्ने कुरा हो ।

Share.

About Author

Leave A Reply