‘छ माया छपक्कै’ समिक्षा : सब्जेक्टिभ कमेडी

0

विष्णु शर्मा
रेटिङ : ३.५/५

दीपकराज गिरीलाई लाग्थ्यो आरोप : उनी ‘चुटकिला अतिवाद’का एउटा रुप हुन् । दीपेन्द्र लामालाई लाग्थ्यो आरोप : उनी हरेक फिल्मलाई आर्ट हाउसको नजरले हेर्छन् । ‘छ माया छपक्कै’को सबैभन्दा ठूलो सिन्थेसिस भनेको यी दुई ‘वाद’को एउटा मीठो सन्तुलन हो ।

सातवर्षअघि संघिय विज्ञको रुपमा काठमाण्डु आउँदा वर्तमान अफगानी राष्ट्रपति असरफ घानी भन्थे : प्राकृतिक स्रोतको बाँडफाँट नेपाली संघियताको लागि चुनौति हुनेछ । छ माया छपक्कैको बटमलाइन भनेको पनि पानी हो । घानीको तत्कालिन मन्त्र यतिबेला फिल्मको मुख्य द्धन्द्धको रुपमा चित्रण छ । संघियतामा अघि बढ्दै गरेको नेपालको कलिलो लोकतन्त्रलाई यो एउटा सन्देश हुनेछ ।

पानीका लागि गाउँमा हुने दलिय राजनीति र सामाजिक प्रभाव ‘छ माया छपक्कै’ हो । प्रेम, निष्ठा, परिवार उपकथा हुन् । लोकतान्त्रिक विचार राख्ने गाउँमा पानीको मुहान छ । बामपन्थी विचार राख्ने गाउँ काकाकुल छ । वर्षौसम्म दलिय घोषणापत्रले गाउँमा पानी ल्याउन नसकेपछि बामपन्थी विचार राख्ने गाउँ पानी खसाउन जुर्मुराउँछ । यही मेसोमा बीपी (दीपकराज गिरी) र भिन्न बिचार बोक्ने गाउँको नेताकी छोरी जल (केकी अधिकारी)बीच प्रेम हुन्छ ।

राजनीतिले नेपाली ग्रामिण समाजमा ल्याएको दुःखान्त विभाजन फिल्ममा मार्मिक ढंगले चित्रण छ । पानी नहुने गाउँमा छोरी नदिने यथार्थसँगै अघि बढेको द्धन्द्धले विद्रोहको रुप लिन्छ र नेताहरु मेलमिलापका लागि बाध्य हुन्छन् । ‘छ माया छपक्कै’लाई फिल्ममात्र नभनौं, नेपाली ग्रामिण समाजको यो एउटा ‘कलेक्टिभ भ्वाइस’ हो । दशैं बिदामा मैले हेरेको एउटा हलिउड फिल्म ‘जोकर’को एउटा डायलग छ : कमेडी जहिल्यै सब्जेक्टिभ (विषयगत) हुन्छ ।’ छ माया छपक्कै सब्जेक्टिभ छ ।

निर्देशन मच्योर्ड छ । अघिल्ला फिल्मभन्दा ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाको करियरकै उत्कृष्ट फिल्म हो । कथामा एजेन्डा हावी हुने र टेलिभिजन स्टोरी टेलिङ प्रवृत्तिको न्यारेसन गल्ती सच्चिएको छ । छक्का पञ्जा सिरिजभन्दा ‘छ माया छपक्कै’ मच्योर्ड क्राफ्ट हो ।

यसपटक दीपक–दीपा ड्रामेडी जनरमा डेब्यु गरेका छन् जुन सकारात्मक पक्ष हो । कमेडी सब्जेक्टिभ हुन्छ भने विश्व क्रिटिक्सहरुको अवधारणालाई ‘छ माया छपक्कै’ले आत्मसात गर्ने प्रयत्न गरेको छ ।

तर, केही पक्षमा सुधार गर्न सकिन्थ्यो । उपकथामा आवश्यक द्धन्द्धको मात्रा नपुग्दा केन्द्रिय द्धन्द्ध उचाइमा पुग्न सकेको छैन । पात्र स्थापना पर्याप्त हुन सकेको छैन जसले गर्दा ती चरित्रसँग दर्शकीय अन्तक्रिया कमजोर बन्नु स्वभाविक हो । निर्देशकीय नियत मौखिक स्टोरी टेलिङतर्फ उन्मुख देखिन्छ जसले गर्दा भिजुअल मनोविज्ञान अझै अपूर्ण लाग्छ । पात्रको भीडलाई छोटो टाइम एन्ड स्पेसमा प्रस्तुत गरेर दर्शकलाई इन्गेज गराउन सक्नु प्रशंसनीय छ । ‘छ माया छपक्कै’लाई पात्र होइन, कन्टेन्टले जो गाइड गरेको छ ।

छ माया छपक्कैको सशक्तता भनेको फिल्म समाजसँग गाँसिनु हो । समाज र मनोरञ्जनको सिन्थेसिस हो यो फिल्म । तरपनि फिल्म इस्यु होइन, प्रस्तुतिकरणको अप्रोच हो । यस मामिलामा खासगरि ग्रामिण जीवनको पृष्ठभूमि भएका दर्शकलाई ‘छ माया छपक्कै’ रुचिकर हुनसक्छ ।

निर्माता : आमा सरस्वती मूभिज र रोहित अधिकारी फिल्मस
निर्देशक : दीपेन्द्र लामा
कास्ट : दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, प्रकाश घिमिरे, केदारप्रसाद घिमिरे, अनुराग कुवँर, शिशिर बाङ्देल

Share.

About Author

Leave A Reply