‘घामड शेरे’ ट्रेलर : खोलालाई मुद्दा हाल्ने दुःखान्त कथा

0

आफन्तले झुक्काएर खोलाले पुरेको बलौटे जग्गा आफूलाई बेचेपछि शेरे नामक पात्र न्याय खोज्दै अदालत पुग्छ । जग्गाका बिचौलियालाई कार्वाही नहुने देखेपछि ऊ खोलालाई मुद्दा हाल्ने निर्णयमा पुग्छ । फिल्म ‘घामड शेरे’को कथावस्तु यही हो ।

इन्टरनेटमा रिलिज गरिएको ट्रेलरले सिनोप्सीससहित पात्र, द्धन्द्धसहित अन्य उपकथा चित्रण गरेको छ । ‘पश्चिम नेपालमा भएको वास्तविक घटनालाई आधार मानेर फिल्म बनाएका हौं र यसबारे कानुनी र सामाजिक अध्ययन पनि गरेका छौं’ निर्देशक हेमराज विसीले भने ।

शेरे नामक पात्रको भूमिकामा निश्चल बस्नेतले अभिनय गरेका छन् । विदेशबाट फर्किएको एक युवा जो गाउँमै बसेर व्यवसायिक तरकारी खेती गर्न चाहन्छ र उसलाई खोलाले पुरेको बलौटे जग्गा थमाइन्छ । ट्रेलरअनुसार स्वस्तिमा खड्कालाई निश्चलको सालीको भूमिकामा देख्न सकिन्छ ।

‘वास्तविक जीवनमा उहाँ मेरो श्रीमान भएपनि सुरुमा त भिनाजु भन्न गाह्रो भयो तर तीन चार दिनपछि बानी पारेँ’ फिल्म छायांकन अनुभवबारे स्वस्तिमा गफिइन् । पहिलोपटक निश्चल र स्वस्तिमाले जोडीको रुपमा स्क्रिन सेयर गरेका हुन् ।

कात्तिक ८ गते रिलिज हुने फिल्मलाई लिएर निर्देशक विसी आशावादी छन् । यसअघि रोमान्टिक र पल्टिकल ड्रामा निर्देशन गरेका उनी यसपटक सोसल ड्रामा लिएर फर्किएका छन् । उनकै ब्यानर विसी मोसन पिक्चर्सले फिल्म निर्माण गरेको हो ।

Share.

About Author

Leave A Reply