हलिउडको एसियाली यात्रा, नेपालले के सिक्ने ?

0

विष्णु शर्मा
वर्ष २०१९ मा दुई माया चर्चामा छन् । माया क्यालेन्डर र माया नगरी । ती दुवै मायाले ब्रम्हाण्ड प्रलयको भ्रम त सिर्जना गरे तर, औचित्य पुष्टि गर्न भने सकेनन् । मायानगरीमा हलिउडका साइन्स फिक्सनले संसार अन्त्यका कथा बेचेर बक्सअफिसमा डलर छापे । यद्यपी, हलिउडलाई ‘सफ्ट पावर’ मान्ने अमेरिकी मान्यता आगामी दशकसम्म कायम रहन्छ वा रहँदैन भन्ने बहस भने सँगै उठेको छ । यो तर्कलाई बल दियो –आफ्नो परराष्ट्र नीतिलाई एसिया केन्द्रित गर्ने राष्ट्रपति ट्रम्प प्रशासनको रणनीति र एसियामा सरेको विश्व शक्ति सन्तुलन ।

राजनीतिक, आर्थिक र सामरिक ध्रुविय रुपान्तरणको प्रत्यक्ष गति फिल्मका पर्दामा महसुस गर्न थालिएको छ । प्राध्यापक नोम चोम्स्कीले भनेजस्तै अमेरिकी संस्कृति निर्माणको ठेक्का पाएको हलिउड ट्रम्प प्रशासनको ‘इन्डो प्यासिफिक ‘र ‘एसिया पिभोट’का लागि प्रशान्त महासागरमा निस्किएको छ । प्रशान्त क्षेत्रका बेइजिङ, दिल्ली, मुम्बई, मकाउ, सांघाइ, सियोल, बैंकक र टोकियोजस्ता कस्मोपोलिटन सहरले हलिउडका परम्परागत सहरहरू लस एन्जल्स, न्यूयोर्क, वासिङ्टन र लस–भेगासलाई पर्दाबाट विस्थापन गर्न थालेका छन् । उसको ‘सिनेम्याट्रिक ल्यांग्वेज’को शब्दकोषमा उदाउँदा एसियाली राष्ट्र र तिनका सहर, विषयवस्तु र सान्दर्भिकताले स्थान पाउन थालेका छन् ।

हलिउडको सीधा टक्कर विश्व शक्ति सन्तुलनका सामरिक आयामजस्तै त्रिपक्षीय देखिन्छ । अमेरिकी प्रभुत्वलाई चुनौति दिन गठन भएको उदाउँदा शक्ति राष्ट्रको आर्थिक संगठन ब्रिक्ससँग अमेरिकी ‘सफ्ट पावर’को यतिबेला इन-काउन्टरजस्तै देखिन्छ । हलिउडको ‘ग्लो–कोलाइजेसन’लाई चुनौति दिने कुरामा ल्याटिन अमेरिकी मुलुक ब्राजिल र अर्जेन्टिनामा निर्माण हुने फिल्म र आयोजना गरिने फेस्टिभलले आच्छु–आच्छु पारेपनि उदयीमान राष्ट्र चीन र भारत उसका लागि निर्विकल्प छन् । ब्रिक्सका राष्ट्र चीन र भारतबिना हलिउड प्रभुत्व स्थापित नहुने यथार्थ यतिबेला छ । द इकोनोमिस्टका अनुसार अहिलेकै अर्थतन्त्रको गति कायम रहे चीनले फिल्मबाहेक आफूभन्दा दुई गुणा ठूलो महाशक्ति राष्ट्रलाई सन् २०३० सम्म उछिन्नेछ । हलिउड रिपोर्टरका अनुसार अबको वर्षहरूमा चिनियाँ उदाउँदो मध्यमवर्ग हलिउडका लागि ठूलो बजार बन्नेछन् ।

उस्तै राजनीतिक दर्शन र आर्थिक नीतिमा खडा भएको दक्षिणी छिमेकी भारत हलिउडको सर्वाधिक ठूलो बजार बन्नेछ । लगानीको सरकारी सुनिश्चितता, खुला अर्थनीति र परम्परागत अमेरिकी गठबन्धन भएकैले पनि भारत हलिउडको अनुकूलता हो । यतिबेला भारत र चीनमा हलिउडका सबै ठूला स्टुडियो र कम्पनीहरू खुलिसकेका छन् । भारतीय फिल्म निर्माणमा हलिउड कम्पनीले पनि लगानी गर्न थालेका छन् । भारतीय फिल्म र हलिउड फिल्ममा एकअर्काका आर्यन र पश्चिमा अनुहार पनि देखिन थालेका छन् । स्थानिय (लोकल) फिल्म बनाउने भएकाले भारत हलिउडजस्तो अर्कामा निर्भर हुनुपर्ने अवस्था पनि छैन । उसका लागि संसारभर छरिएका आफ्ना नागरिक र डायस्पोरा पर्याप्त छन् । लगानी र बजारमा बलिउड आत्मनिर्भर छ ।

फिल्मको विश्व शक्तिको रुपमा बलिउड मनोरञ्जनको अर्को पहिचान बनेको छ । दोस्रो विश्वयुद्ध लगत्तै एसियामा आधुनिकता भित्राएका अमेरिकी नेतृत्वको नेटो गठबन्धनका सदस्य राष्ट्र जापान र दक्षिण कोरियालाई पनि हलिउडबाट प्रतिस्थापन गर्नु बलिउडको अर्को सामथ्र्य हो । आउँदो मे ३ तारिखमा सयौं वर्षगाँठ मनाउन थालेको बलिउडले वार्षिक १२ सय फिल्म निर्माण गरेर लस–एन्जल्स फिल्म उद्योगलाई उछिनेको छ । नाफाको अंकगणितमा हलिउडको ग्राफ उच्च हुनसक्छ तर, ३ बिलियन दर्शक कमाएर बलिउडले भारतको बढ्दो सामथ्र्यलाई दर्शाएको छ ।

गतवर्ष हलिउडको कूल आम्दानी १०.८ बिलियन डलरमध्ये एसियाको योगदान दुई तिहाई छ । थ्री–इडियट्स र अवतारले एकैवर्ष पूर्वी एसियाका जापान, अष्ट्रेलिया र दक्षिण कोरियामा बजारको संकेत गरेका थिए । बलिउड अभिनेता शाहरुख खानको ‘माइ नेम इज खान’लाई चिनियाँ भाषामा डबिङ गरेर बेइजिङका मल्टिप्लेक्समा प्रदर्शन गरिएको थियो । शाहरुखको युनिभर्सल क्रेजलाई बलिउडले चिनियाँ बजारमा पनि बेच्न सक्यो । फिल्मलाई चलाउन सम्बन्धित देशको भाषामै डबिङ गरेर बलिउड उत्पादनहरू तेस्रो विश्वमा पनि रिलिज हुन थालेका छन् । यसलाई भारतको बढ्दो हैसियतसँग विश्लेषण गरिनुपर्छ ।

यी भारतीय अनुकूलतालाई हलिउडले दोस्रो ठूलो अर्थतन्त्र चीनमा पाउन सक्दैन । किनकी राजनीतिका सूत्रहरूले नै अर्थतन्त्र परिचालन हुने हो । विपरित राजनीतिक र आर्थिक प्रणाली बोकेको चिनमा हलिउड तथा अमेरिकी बजारका लागि खास प्रतिबन्ध अझै कायम छन् र खुला बजार अर्थनीति नभएकैले हलिउड कम्पनी विश्वस्त छैनन् । राष्ट्रपति सी जिङपिङले अर्थतन्त्रको आकार बढाउन उत्पादनलाई आन्तरिक खपत गर्ने नीतिमा जोड दिएकाले हलिउडको सम्भावित चिनियाँ बजारमा लगाम कसिन सक्छ । यी सीमाहरूको बाबजुद एप्पल, माइक्रोसफ्टजस्ता बहुराष्ट्रिय कम्पनीजस्तै हलिउड चिनलाई छाडेर भाग्न सक्दैन । धमाधम चिनियाँ नवधनाढ्यहरूले अमेरिकी उद्योगमा हस्तक्षेप गरिरहेका छन् र मनोरञ्जन उद्योग पनि उनीहरूको केन्द्रविन्दु बनेको छ । देङ जियाओपिङको यो अर्थ नीतिले हलिउडको खुट्टामा साङ्लो कसेको छ ।

फिल्मको अर्थशष्त्र र समाजशाष्त्र भन्छ –जसरी एसियामा हलिउड पसेको छ, उसैगरी अमेरिकामा एसिया छिरेको छ । शक्तिसन्तुलनको यो फ्युजनले पुराना वैश्विक चरित्र, प्रवृत्ति र मान्यता बदलिन थालेका छन् । कुनैबेला बन्दुक बेच्ने अमेरिका यतिबेला फिल्म बेच्दै छ । यो पनि सत्य हो –युनिभर्सल फिल्म बनाउने हलिउड अहिलेजस्तो कमजोर कहिल्यै भएको थिएन । लोकल फिल्मले उसको बजार खुम्चाइदिएको छ । स्टार भ्यालु बोक्ने उसका आइकन एसियाली स्टारहरू आमिर, सलमान, शाहरुख खान, ज्याकी च्याङ, आङ लीको प्रभावमा खुम्चिएका छन् ।

समृद्धिसँगै संस्कृति पनि प्रसार हुन्छ भन्ने समाज विकाससँग विश्व रजतपटको यस रुपान्तरणले तादात्म्यता राख्छ । सिंगापुर, थाइल्यान्ड, फिलिपिन्स, हङकङजस्ता साना एसियाली मुलुकको फिल्म उद्योग भने पर्यटकका कारण चलेका छन् । तर, पनि के सत्य हो भने एसियाको गुरुत्वाकर्षण जबर्जस्त छ । गतवर्ष अमेरिकाको एएमसी मल्टिप्लेक्स सिनेमालाई २.६ विलियन अमेरिकी डलरमा किनेर चीनको डालियान वान्डा ग्रुप विश्वकै सर्वाधिक ठूलो चेन सिनेमा बनेको छ । उसले चीनसँगै पूर्वी र दक्षिण एसियामा आइम्याक्स जडित हलहरू स्थापना गर्ने तयारी गरेको छ । नेपालबाट हटेपनि मुकेश अम्बानीको रिलायन्स ग्रुप अमेरिकी कम्पनी ड्रिम वक्र्सको साझेदार बनेको छ । ड्रिम वक्र्सले चीनको सांघाइमा चेन सिनेमा स्थापना गर्न ३.१४ विलियन डलर लगानी गर्ने जनाएको छ ।

अमेरिकी प्रभुत्व नीति पराजित हुने थिममा बनेको ‘अवतार’ले कूल आम्दानीको ६५ प्रतिशत रकम चीनबाटै लगानी उठाएको थियो । थ्रीडी र आइम्याक्समा रिलिज भएका ‘अवतार’ र ‘टाइटानिक’ले चिनमा अभूतपूर्व पैसा कमाए । निर्माता तथा निर्देशक जेम्स क्यामरुन प्रमुख रहेको क्यामरुन पेस ग्रुपले थ्रीडी डकुमेन्ट्री, टेलिभिजन र फिल्म उत्पादन र वितरणका लागि स्थानीय तियानजिन हाइटेक होल्डिङ ग्रुप र तियान्जिङ नर्थ फिल्म ग्रुपसँग साझेदारी गरेका छन् । बेइजिङबाटै हलिउड फिल्म निर्माणको लक्ष्य राखेर चिनियाँ कम्पनी ग्यालोपिङ हर्स र चर्चित स्पेसल इफेक्ट निर्माता कम्पनी डिजिटल डोमेनबीच गतवर्ष समझदारी पनि भएको थियो ।

गतवर्ष चिनको बक्सअफिसको आकार १.६ विलियन डलर थियो । चिनियाँ अपहरण र लडाकु मनोविज्ञान तथा संस्कृति समेटिएको ‘कुङ फु पान्डा २’ले स्वदेशमा मात्र नभई हलिउडमा समेत चर्चा र पैसा कमाएको थियो । ओस्कर मनोनित ‘लाइफ अफ पाई’लाई चिनियाँ मूलका ताइवानी निर्देशक आङ लीले बनाएका थिए । फिल्मले बंगाली बाघ र भारतीय केटाको कथा भन्छ । अब पनि डिज्ने ‘कुङफु पान्डा २’को नयाँ सिक्वेल बेइजिङकै स्टुडियोबाट बनाउन चाहेको छ ।

केहीअघि ‘ज्याक रिचर’ सार्वजनिक गरेका हलिउड स्टार टम क्रुज आगामी एनिमेसन फिल्मको स्क्रिप्टका लागि यतिबेला जापानमा छन् । सिक्वेल ‘मिसन इम्पोसिवल : घोस्ट प्रोटोकल’का लागि उनी भारत पुगेका थिए । मुम्बईमा खिचिएको उक्त फिल्ममा बलिउड अभिनेता अनिल कपुरलाई केमियो रोल दिइएको थियो । भारतको कथामा बनेको ‘स्लमडग मिलेनियर’बाट संगीतकार एआर रहमानले ओस्कर जितेका थिए । ‘अनस्टपेबल’का लागि हलिउड स्टार आर्नोल्ड स्वार्जनेगर नेपाल सीमावर्ती चिनियाँ थलोमा सुटिङका लागि आएका थिए ।

मान्छे मार्ने लाइसेन्स पाएको जेम्स बन्ड श्रृङ्खलाको पछिल्लो फिल्म ‘स्काइफल’ हलिउड कन्टेन्ट संरचनाको एसियाली रुप हो । पर्दामा मात्र देख्न पाइने बेलायती साम्राज्य र राजनीतिक नियतले पनि एजेन्डा उठाउने हलिउड नेपालका दुई ठूला छिमेकीमा कसरी आक्रामक ढंगले छिरेको छ भन्ने कुरा बुझ्न विश्व शक्ति सन्तुलनको गति बुझ्नुपर्छ । शीतयुद्धकलिन दुस्मन तत्कालिन सोभियत संघबाट अलग्गिएर यतिबेला अमेरिकी फिल्म उद्योग नयाँँ अमेरिका खोज्न निस्किएको आधुनिक कोलम्बसजस्तै हो । सौन्दर्य शाष्त्र र हिरोइज्मको परिभाषामा नपारिने मंगोल र आर्यन अनुहारलाई सँगै लिएर अघि बढ्नु हलिउडका लागि यतिबेला बाध्यता बनिरहेको छ ।

उदाउँदा दुई ठूला छिमेकी र हलिउडको त्रिपक्षीय भीडन्तमा ‘स्यान्डवीच’ बनेको नेपालले आफ्नै मानक खडा गर्नुपर्छ । अर्थशाष्त्रको ‘ट्रिकल डाउन थ्योरी’ले भन्ने गरेकोजस्तो धनीबाट चुहिएको थापेर धनी बन्ने होइन कि आफ्नै पहिचान र मौलिकतालाई नेपाली फिल्मले खोज्नुपर्छ । घरेलु फिल्मको चम्किलो भविष्यका पूर्वसर्त हुन् –शान्ति र राजनीतिक स्थिरता अनि समृद्धि । यी आवरणको जगमा बन्ने नेपाली फिल्मले हाइव्रिड होइन कि आफ्नै अभ्यासमा ‘दृश्य भाषा’ बनाउन सक्छ । फिल्मलाई गम्भिर विधाको रुपमा लिने शिक्षाको थालनी हुन सक्छ ।

Share.

About Author

Leave A Reply